काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा सदस्य निर्वाचन उपयोग गरेर गठबन्धनमा उलटफेर ल्याउने एमालेको प्रयास असफल भएको बताएका छन् ।
पार्टीको केन्द्रीय परिषद् बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई सिध्याउने उद्देश्यले गठबन्धन दलमा एमालेले सहकार्यको लागि प्रस्ताव गरेको बताए ।
‘गठबन्धनका भोट क्रस भएर कोशीमा एमालेको उम्मेदवारले जित्न सफल भएको छ । एमाले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ’ अध्यक्ष नेपालले भने, ‘राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन दलसँग छलफल गरेपनि त्यो सबै हाम्रो पार्टीप्रति लक्षित थियो । तर, त्यो सहमति सफल हुन सकेन ।’ गठबन्धन दल एकजुट भएपछि कमजोर बनाउने एमालेको प्रयत्व असफल भएको उनले दावी गरे ।
अध्यक्ष नेपालले भने, ‘गठबन्धन दलसँग कुरा नमिलेपछि एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो, त्यसैले यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ । यो परिणामले गठबन्धनमा उलटफेर नभएपछि भोट क्रसको बिषय सबै दलमा छलफलको बिषय बन्न पुगेको छ ।’
आइतबार सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठक भोलि सोमबारसम्म चल्ने छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुँदैन ।