काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ ।
कोशी प्रदेशको सभामुखलाई लिएर राप्रपाभित्रको आन्तरिक राजनीतिक समीकरण नै खतरामा पर्ने र अन्ततः पार्टी फुटको सँघारमा पुग्ने खतरा बढेको छ । राप्रपाले कोशी प्रदेशमा सभामुख पद लिएपछि राप्रपाभित्रको आन्तरिक विवाद चर्किएको हो ।
राप्रपाभित्रको आन्तरिक विवाद चर्किनुमा केन्द्रीय निर्देशन समितिको निर्देशन नै मुख्य कारण बनिरहेको छ । वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीसहितका नेताहरूले कोशी प्रदेशमा सभामुख पद लिने विषय पार्टीको निर्णयविपरित रहेको बताउँदै आएका छन् ।
कोशीमा राप्रपाका अम्बरबहादुर विष्ट सर्वसम्मत ढंगले सभामुख चयन भइसकेका छन् । सर्वसम्मतिले सभामुख बनेका विष्टलाई फिर्ता गराउन भन्दै नेताहरू लोहनी, रवीन्द्र मिश्र, धवलशमशेर जबरा लगायतका नेताहरू जुटेका छन् । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने निर्देशन समितिको निर्देशनमाथि नै प्रश्न उठाउँदै लोहनी मिश्रहरुले निर्णय सच्याउनुपर्ने बताउन थालेका छन् ।
अध्यक्ष लिङ्देनले भने कोशीमा सभामुख लिने नलिने विषय भन्दा पनि उनीहरूले चालेको कदमलाई नै अवैधानिक र राप्रपालाई उनीहरूले बुझ्न नसकेको भनिरहेका छन् ।
त्यसो त यसअघि यही व्यवस्थाको सरकारमा सहभागी हुँदा र बाग्मतीमा सभामुख लिँदादेखि नै राप्रपामा मतभेद सुरु भएको थियो । २०८९ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा राप्रपा पनि सहभागी भएको थियो ।
नेकपा एमाले सहितका सात दलीय गठबन्धनको सरकार बन्दा राप्रपाले तीन मन्त्रालय पाएको थियो । उपप्रधानसहित अध्यक्ष लिङ्देन ऊर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्री बनेका थिए ।
तर, राष्ट्रपतिको निर्वाचनसँगै माओवादी केन्द्र पुरानै गठबन्धनमा फर्कियो । त्यसपछि राप्रपा सरकार छोड्न बाध्य थियो । सरकारमा सहभागी भएको दुई महिना नबित्दै राप्रपा गत फागुन १३ गते सरकारबाट बाहिरियो ।
त्यसै २०७९ पुस २९ गते बागमती प्रदेशमा पनि राप्रपाका भुवन पाठक सभामुख बेनका थिए । यस्तोमा राप्रपाभित्र कोशीमा सर्वसम्मतिले पाएको सभामुख पदमा किन किचलो देखियो भन्ने प्रश्न उठेको छ ।
तर, कोशीमा राप्रपाका विष्टले सर्वसम्मतिले सभामुख पद लिएपछि पार्टीभित्र भाँडभैलो मच्चिएको हो । राजेन्द्र लिङ्देनले रवीन्द्र मिश्रलाई पार्टी नै बुझ्न बाँकी रहेको नेताको रूपमा सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन् ।
टेलिभिजन अन्तरवार्ता कार्यक्रममै रवीन्द्र मिश्रले राप्रपा नबुझेको भन्दै कडा प्रहार गरेपछि कट्टर राजावादी कहलिएका मिश्रले पनि जवाफ फर्काएका छन् । उनले आफूले राप्रपा नबुझेको र बुझेर अगाडि बढ्न चाहेको बताएका छन् ।
लिङदेनले केही दिनअघि एक टिभी अन्तर्वार्ता भनेका थिए, ‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको ? उहाँ हिजोअस्ती आउनुभएको । उहाँले राप्रपा के बुझ्नु भएको छ ?’ उहाँले राप्रपा बुझ्नै बाँकी छ । भर्खर आउनुभएको छ । एक, डेढ वर्ष हुँदैछ । उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठिक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो ।’
अध्यक्ष लिङ्देनले दिएको उक्त भनाइलाई स्वीकार्दै मिश्रले आफूले राप्रपा नबुझेको बताएका हुन् । ‘अनुभवले दिने परिपक्कता भनेको अनुभवले नै दिन्छ, सैद्धान्तिक ज्ञानले मात्र दिँदैन’ काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले भने, ‘राप्रपामा ३० वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले म १५ महिना राप्रपामा जोडिएको मान्छेलाई उहाँ नयाँ हुनुहुन्छ, उहाँलाई राप्रपा राम्रोसँग थाहा छैन भन्नु त्यो अत्यन्त स्वाभाविक हो ।’
राप्रपामा जोडिएको छोटो अवधिमै आफूले देशैभरि भ्रमण गरेको र राप्रपाका कार्यकर्ताहरूसँग कुरा गरेको उनको भनाइ छ । उनले भने, ‘मैले व्यापक रूपमा देशैभरि भ्रमण गरेको छु । राप्रपाका सामान्य सदस्य, स्थानीय नेताहरू र वरिष्ठ नेताहरूले मलाई राप्रपा चिनाउने, राप्रपा बुझाउने कुरामा प्रशस्त सहयोग गरिराख्नु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य वरिष्ठ नेताहरू, जिल्ला–जिल्लाका नेता र कार्यकर्ताले सहयोग गर्नुभएको छ । त्यसो हुनाले हो त मैले बुझेको छैन ।’
अध्यक्ष लिङ्देनको जुहारी मिश्रसँग मात्रै छैन । पार्टीका केन्द्रीय सदस्य तथा अभिनेत्री रेखा थापासँग पनि चलिरहेको छ । राजेन्द्र र रेखाबीच आरोप–प्रत्यारोप चर्किएको छ ।
पार्टीनिकट प्राज्ञिक परिषद्को कार्यक्रममा शनिबार लिङ्देनले पार्टी नेतृ समेत रहेकी रेखालाई लक्षित गर्दै कटाक्ष गरेका थिए । उनले भनेका थिए, ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’
लिङ्देनले रेखाको नाम नलिएर यो कटाक्ष गरेका थिए । पार्टी नेता समेत रहेका अभिनेत्री रेखा अहिले बेबी प्लानको योजनासहित अमेरिकामा छिन् । लिङ्देनको उक्त अभिव्यक्ति सार्वजनिक हुने बित्तिकै रेखाले पनि अमेरिकाबाटै आक्रोसित प्रतिक्रिया दिएका छन् ।
उनले ट्वीटरमार्फत लिङ्देनलाई जवाफ फर्काएका छन् । उनी लेख्छन्, ‘देशको माया हुनेहरूले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो !! अमेरिकामा किन राखेको ?’
अर्को ट्विट छ, ‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि बिरालाहरु खाबो कोतर्दै छन रे त ! आफ्नो छोरा मिसनरी स्कुल पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नि ?’
रेखाले पनि लिङ्देनको नामै नलिइकन यस्तो कटाक्ष गरेका हुन् । लिङ्देनले पनि छोरीलाई पढ्न अमेरिकामा पठाएको उल्लेख गर्दै रेखाले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् ।