काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र भन्सार कानुन सुधार सङ्घर्ष समितिले भ्रष्टाचार विरुद्ध २० माघमा काठमाडौंमा मोटरसाइकल र्याली निकाल्ने भएको छ ।
‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै समिति चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
भन्सार कानुन सुधार सङ्घर्ष समितिका संयोजक रन्जुकुमारी साहले भ्रष्टाचार विरुद्ध २० माघमा हुने मोटरसाइकल र्यालीमा सहभागी हुन अपिल गरेका छन् ।
आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने बताउँदै उनले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
‘भन्सार नियमावलीबाट पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने, राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरूपता ल्याउने र भन्सारको नाममा निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने’ लगायतका माग अघि सारेको छ ।
‘देशको समृद्धि र आम जनजीवनसँग जोडिएको यस महत्त्वपूर्ण आन्दोलनमा बढ्दो जनसमर्थन र जनताको ध्रुवीकरणले प्रतिक्रियावादी भ्रष्ट सरकार आतङ्कित भई बल प्रयोगमा उत्रेको कुरा जगजाहेर नै छ । यसरी भ्रष्टहरू एकताबद्ध भई लुट्ने र जनतालाई तर्साउने खेलमा लागि रहेकाले भन्सार लुट विरुद्धको हाम्रो जारी आन्दोलनलाई अझ सशक्त बनाउन भ्रष्टाचारलाई जनकारबाही जरुरी छ’ साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भ्रष्टाचारीलाई निरुत्साहित नगरी आफूहरूको माग सम्बोधन सहज नहुने निष्कर्ष सहित पूर्वघोषित तेस्रो चरणको सम्पूर्ण सङ्घर्षका कार्यक्रम स्थगित गरी भ्रष्टाचारीलाई खबरदारी गर्न यही २० माघमा काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गरिएको हो ।
भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारको विरुद्ध विभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ भएको थियो । कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग थियो ।