सन्दिग्ध सोमालियाली समुद्री डाकुहरूले हिन्द महासागरमा डुङ्गामा सवार चालक दलका छ सदस्यसहित डुङ्गालाई अपहरण गरेको कोलम्बोको नौसेनाले आइतबार जनाएको छ ।
श्रीलङ्काली नौसेनाका प्रवक्ता गायन विक्रमासूरियाले लोरेन्जो पुथा–४ लाई सोमालियाली राजधानी मोगादिसुबाट करिब ८४० नटिकल माइल दक्षिणपूर्वमा शनिबार नियन्त्रणमा लिइएको जानकारी दिए ।
यमनको इरान समर्थित हुथी विद्रोहीसमूहले प्यालेस्टाइनी लडाकू समूह हमासविरुद्ध इजरायलले गरेको युद्धको प्रतिक्रियास्वरूप रेड सी र एडेनको खाडीमा इजरायलसम्बद्ध जहाजहरूलाई लक्षित गरी सयौं आक्रमणहरू गरेका छन् ।
सन् २०१७ को डिसेम्बरमा सोमाली समुद्री डकैतीको पहिलो सफल घटना रेकर्ड भएपछि अन्तर्राष्ट्रिय नौसैनिक बललाई एडेनको खाडीबाट उत्तरतर्फ रेड सीमा डाइभर्ट गरिएको छ ।
‘श्रीलङ्काले संयुक्त समुद्री सेनालाई सचेत गराएको छ,’ विक्रमासूरियाले अन्तर्राष्ट्रिय समुद्री डकैती विरोधी गठबन्धनलाई सङ्केत गर्दै एएफपीलाई बताए ।
उनका अनुसार छिमेकी मुलुक भारतको नौसेनाले अनुसन्धानका लागि युद्धपोत पठाइसकेको छ भने श्रीलङ्काको नौसेनाले पनि उक्त क्षेत्रमा तैनाथ गर्नका लागि युद्धक जहाज तयार गरिरहेको छ ।
सन् २०११ मा सोमालियाली तटमा समुद्री डाकूहरूको आक्रमण चरम बिन्दुमा पुगेको थियो र बन्दुकधारीहरूले हिन्द महासागरको सोमाली तटबाट तीन हजार ६५५ किलोमिटर (दुई हजार २७० माइल) टाढासम्म आक्रमण गरेका थिए ।