एजेन्सी । माल्दिभ्सको संसदमा झडप भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनमा उपस्थित सत्ता पक्ष र विपक्षी सांसदबीच झडप भएको हो । झडपमा परी एक जना सांसद घाइते भएका छन् ।
चीनसँग निकट राष्ट्रपति मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।
प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो । कुटपिटबाट घाइते भएका एक सांसदलाई उपचारका लागि अस्पताल लगिएको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।