Logo
Logo

‘कोभिड-१९’को प्रभाव : रौनकता हराएको होली


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

 

फाइल फोटो

काठमाडौं, २६ फागुन ।आज फागु अर्थात् होली पर्व । हिमाली एवं पहाडी जिल्लामा आज सोमबार र तराईमा भोली मंगलबार हर्सोल्लाषका साथ होली मनाइँदै छ। तर, यस वर्षको होली विगतका वर्षमा भन्दा फरक देखिएको छ अर्थात ‘कोरोना भाइरस’को संक्रमणको डरले होलीको रौनकता सुस्ताएको छ । सडक प्राय सुनसान बनेको छ । सडक र गल्लीहरुमा पानी छ्याप्ने र लोला हान्नेहरु खाशै देखिएको छैन ।
हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व एक धार्मिक तथा सांस्कृति पर्व हो । कुनै समय होली उत्ताउलो बन्दै गएको थियो । तर, केही वर्षयता भने पर्व प्रहरीको सक्रियताले सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । तर, यस वर्ष धेरैलाई कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण होली पर्व आएको समेत पत्तै भएन । सडकमा न लोला हानिए, न त पानी नै छ्यापिए । एक किसिमले शान्त र सुनसान बनेको छ यस वर्षको होली ।
यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले यसअघि आह्वान गरिसकेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिएपनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । तर, यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरूपमा हिँडडुल गर्न सकेको देखिएको छ । यसरी होलीमा समूह बनाएर लोला हान्न र रंग खेल्न सरकारले प्रतिबन्ध लगाएपछि कतिपय खुसी भएका छन् भने कतिपयलाई बेखुसी । तन्नेरी वर्गका लागि यो होली पक्कै खल्लो भएको छ ।
यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टु“डिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताकासाथ सि“गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँपनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ“ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वस“ग जोडिएको छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गा“जा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागिरी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।
यो पर्वमा थकाली रंगीबिरंगी पोशाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रंगीचंगी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यो पर्व श्रीलंका, इन्डोनेशिया, म्यान्मार र थाइल्यान्डमा समेत बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्