काठमाडौं, २७ फागुन । राष्ट्रियसभाको सदस्यमा पुनः मनोनित नभएपनि गत बुधबार आगामी छ महिनाको लागि पुनः अर्थ तथा सञ्चारमन्त्री पदमा नियुक्त भएपछि अर्थमन्त्रालयमा पदभार गर्नेक्रममा युवराज खतिवडाले सबैलाई चेतावनीको शैैलीमा भने ‘म योद्धा हुँ, कमाण्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु, युद्ध मैदान छाड्दिनँ ।’ उनले अझ हौसिँदै भने ‘योद्धा लडाईँमा त त्यो बेलासम्म लडिरहन्छ, जुन बेलासम्म कमान्डरले फिर्ता बोलाउँदैन वा युद्ध जितिँदैन, मेरो चाहना पनि त्यही हो ।’ उनले पञ्चायतकालीन राजाको भाषणलाई बिर्साउने गरी थपे ‘अझ जबसम्म युद्ध जितिँदैन मुलुकको गरिबी, अभाव, रोग, भोक, शोक र अन्यायको बिरुद्धमा लडिरहने भएकाले यसको कुनै समयसीमा नै छैन ।’
दुई वर्षअघि तत्कालीन एमाले महासचिव ईश्वर पोखरेललाई छिर्के लगाएरै भएपनि अर्थमन्त्री बनेका खतिवडाले अहिलेसम्म सक्रिय राजनीतिको सन्दर्भमा आवधिक निर्वाचनमा मतदान गर्ने बाहेक अरु केही योगदान गरेको छैन । उनको जीवन राष्ट्र बैंकको जागिरमै बित्यो । आफूलाई चर्को वामपन्थी देखाउन खोज्ने खतिवडा बरु चार दशकअघि मेची क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गर्ने क्रममा भएको विद्यार्थी युनियनको निर्वाचनमा तत्कालीन राष्ट्रवादी विद्यार्थी मण्डलको प्यानलमा आबद्ध थिए । त्यहि फेरो समात्दै राष्ट्र बैंकमा अस्थायी जागिर खान शुरु गरेपछि दरबारको प्रभावशाली मान्छे भनेर चिनिएका हाकिम गणेशबहादुर थापासँग एकाएक निकट सम्बन्ध गाँसे । त्यसपछि उनै थापा गभर्नर भएपछि खतिवडालाई नयाँदिल्लीमा पीएचडी गर्न पठाइदिए ।
२०४६ सालको परिवर्तनपछि बैंक कर्मचारीमा देखिएको वामपन्थी लहरमा समकालीन अर्थशास्त्रीहरू भन्दा फरक ढंगले खतिवडा प्रस्तुत हुन्थे । बैंकमा डा. तिलक रावल गभर्नर बनेपछि उनी रावलकै चाकडीमा व्यस्त भए र सञ्चालक समितिका सदस्य डा. शंकर शर्मासहितको निगाहमा वरिष्ठ साथीहरूलाई पछि पार्दै विशिष्ट श्रेणीको कर्मचारीको हैसियत बनाए । त्यसअघि नै आपूmभन्दा वरिष्ठ र पार्टीमा ठूलो योगदान गरेका बैंकका एक दर्जन समकालीन साथीहरूलाई लत्याउँदै कनिष्ठै भए पनि गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको आडमा उनी अनुसन्धान विभागको कायममुकायम प्रमुख बनिसकेका थिए । त्यसपछि राजाको प्रत्यक्ष शासनकालमा डा. बद्रीप्रसाद श्रेष्ठको सामिप्यमा रहेर योजना आयोगको सदस्य नै पड्काए । आफ्नो त्यहि विगतलाई छोप्न खतिवडाले यतिखेर प्रधानमन्त्रीले आफूलाई अन्धभक्त ढंगले काँध हालेको थाहा पाएपछि पार्टीका वरिष्ठ नेताहरूभन्दा एक कदमअघि बढेर ‘योद्धाको राग’ अलापेका छन् । यसको अर्थ उनले आफू विगतदेखि नै अरु भन्दा एक कदमले अगाडिको ‘लाल कमरेड’ रहेको बताउन खोजेका हुन् ।
पछिल्लो दुई वर्षमा खतिवडाले अर्थमन्त्रीको कुर्सीमा बसेर प्रधानमन्त्री र पश्चिमा दातामुलुक तथा दातृ निकायबाहेक अरु कसैलाई पनि खुशी बनाउन सकेका छैनन् । मुलुकको अर्थतन्त्रमा पनि तात्विक सुधार ल्याउन सकेनन् । उनले यसबीचमा यथार्थभन्दा बाहिरका ठूला कुरा मात्र गरेका छन् । प्रारम्भमै तीव्र आर्थिक विकास गर्ने घोषणा गरेका खतिवडाले अघिल्लो कार्यकाल सकिनु अघिसम्म आफ्नै घोषित लक्ष्यलाई संशोधन गरेर घुमाउरो भाषामा सोचेको लक्ष्य पूरा नभएको बताएका थिए । अहिले पुनः मन्त्री बनेपछि पनि कोरोना भाइरसको कारण देखाएर आफूले राखेको लक्ष्य पूरा हुन नसकेको भन्दै उम्किने सजिलो दाउ खोजेको छनक दिइसकेका छन् । गत बुधबार मन्त्रालयमा आयोजित बजेट समीक्षामा उनले चालु आर्थिक वर्षको अघिल्लो छ महिनामा लक्ष्यअनुसारको राजश्व संकलन नभएको बताइसकेका छन् । हाम्रो अर्थतन्त्र आयातमूखी भएको र राजश्वको प्रमुख स्रोत पनि आयातसँगै सम्बन्धित भएकाले उक्त अवस्था देखापरेको पनि उनले बताएका छन् । यो अवधिमा राष्ट्रिय गौरबको आयोजनाको प्रगति २० प्रतिशत मात्र भएको बताउनुले उनको भनाई र व्यवहारमा आकाश जमिनको अन्तर देखिएको छ । उनले घोषणा गरेको पहिलो बजेटदेखि नै राजश्व र असुलीमा देखिएको अन्तर, न्यून पुँजीगत खर्च तथा उच्च आर्थिक वृद्धिदरको लक्ष्यमा देखिएको सुस्तताले मन्त्री खतिवडाको स्वःघोषित विद्धतामाथि नै गम्भीर प्रश्न चिन्ह तेर्सिएको हो । आगामी निर्वाचनमा नेकपालाई जरैदेखि उखेल्न जुनसुकै विषय र वस्तुमा कर लगाउने विषयमा उनी सबैभन्दा आतुर देखिन्छन् । आफ्नो अघिल्लो कार्यकाल सकिनुअघि सर्वसाधारणलाई निकै भार पर्नेगरी पेट्रोलियम पदार्थमा कर लगाउनु र चालु बजेटमा मध्यमवर्गलाई बढी भार पर्नेगरी व्यक्तिगत आयकरको स्ल्याब निर्धारण गर्नु उनको सबैभन्दा घातक निर्णय हो । यस निर्णयले नेकपालाई दुईतिहाइको मत दिएर सरकारमा पु¥याउने मध्यमवर्गीय नेकपाका मतदाता कार्यकर्ता पुर्पुरोमा हात राखेर बसेका छन् ।