Logo
Logo

माफियाको चंगुलमा सञ्चारमन्त्री


945
Shares

काठमाडौं । टेलिकम माफियाहरुको चंगुलमा परेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आफ्नै विज्ञ सल्लाहकार भूपेन्द्र भण्डारीलाई दूरसंचार प्राधिकरणको अध्यक्ष बनाउन लागेकी छन् । उनले भण्डारीलाई अध्यक्ष बनाउन ७ दिनको छोटो समयमात्र दिएर आवेदन माग गर्न लगाएकी छिन् ।

सामान्यतया १५ देखि २१ दिनको म्याद दिएर आवेदन माग गरिन्छ । तर मन्त्री शर्माले भण्डारीको पृष्ठभूमि राम्रो नभएकाले सुटुक्क नियुक्ति गर्नका लागि ७ दिनमात्र सूचना दिएर आवेदन माग गरेकी छिन् ।

प्राधिकरणको अध्यक्षका लागि सम्बन्धित क्षेत्रमा १० बर्ष काम गरेको अनुभव भएकाले मात्र आवेदन दिन पाउँछन् । तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेकाले मात्र प्राधिकरणको अध्यक्षमा आवेदन दिन पाउने क्राइटेरिया राखिएको छ । संचार मन्त्रालयका अधिकारीहरु यो क्राइटेरिया भण्डारीलाई नै नियुक्ति गर्नका लागि राखिएको बताउँछन् ।

भण्डारीलाई प्राधिकरणको अध्यक्ष बनाउनका लागि एनसेलका मालिक सतिशलाल आचार्य नै लागेका छन् । भण्डारी यसअघि बुरुन्डीको स्मार्ट मोवाइल कम्पनीका सीईओ थिए । जुन कम्पनी सतिशलालकै हो ।

सतिशलालले डिजाइन अन्तर्गत नै भण्डारीलाई मन्त्री शर्माको विज्ञ सल्लाहकार बनाएका थिए । भण्डारीक योजनामा मन्त्री शर्माले सतिशलालको योजनाअनुसार एनसेललाई २०८५ मा नेपाल सरकारको मातहत आउन नदिने गरी स्मार्ट सेल गाभ्ने गरी दूरसंचार ऐन संशोधन गर्न खोजेका थिए । तर त्यसको ब्यापक बिरोध भएपछि सतिशलालले अजियाटाबाट अपारदर्शी रुपमा एनसेल खरिद गरेका छन् ।

आठ वर्षअघि १ खर्ब ४४ अर्बमा किनबेच भएको कम्पनी ६ अर्बमा किनिएको विज्ञप्ति जारी गरी अरबौंको करछली भएको छ । अजियटासँग एनसेल खरिद गर्दा सतिशलालले दूरसंचार प्राधिकरणबाट अनुमति लिएका छैनन् । अब प्राधिकरणको अध्यक्षमा आफ्नै कर्मचारी भण्डारीलाई नियुक्त गरेर सतिशलाल आफू अनुकूलका निर्णय गराउनेगरी लागेका छन् । जसलाई मन्त्री रेखा शर्माले साथ दिएकी छन् । र, उनलाई नियुक्त गराउन सहज हुनेगरी सूचना निकालेकी छन् ।

भण्डारीले यसअघि जुन देशमा काम गरे, त्यहाँको टेलिकम डुबाएर फरार भएको आरोप छ । यस्ता विवादित र सतिशलालका कर्मचारीलाई मन्त्री शर्माले सल्लाहकार हुँदै प्राधिकरणकै अध्यक्ष बनाउन लागेकी छन् ।

प्रतिक्रिया दिनुहोस्