काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) अर्बौं घाटामा छ । वाइडबडी र न्यारोबडी जहाज किन्न एनएसीले कर्मचारी संचय कोषसँग दुई पटक गरी २२ अर्ब रुपैयाँ लिएको थियो ।
एनएसीले न्यारोबडी जहाज किन्नका लागि १० अर्ब र वाइडबडी जहाज किन्न १२ अर्ब ऋण लिएको थियो । तर, एनएसीले सम्झौताअनुसार किस्ता रकम र्तिन सकेको छैन ।
कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धितालले पटकपटक ताकेता गर्दा पनि एनएसीको व्यवस्थापनले ऋण तिर्न नसकेको बताए । एनएसीले ऋण तिर्न नसकेपछि संचय कोष जहाज लिलाम गर्नुपर्ने निष्कर्षमा पुगेको छ । जहाज लिलाम गर्ने भन्दा अर्को विकल्प नभएको कोषले जनाएको छ ।
एनएसी ऋण लिएर २०७४ मा २ वटा वाइडबडी किनेयता निरन्तर घाटामा छ । वाइड बडी जहाज किनेको वर्ष ९३ करोड रुपैयाँ नोक्सानी बेहोरेको एनएसीले त्यसयताका हरेक आर्थिक वर्ष डेढ अर्ब भन्दा नोक्सानी बेहोर्दै आएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ४ अर्ब ४० करोड घाटा बेहोरेको तथ्यांक छ ।
निरन्तर घाटामा रहेकाले एनएसीले सञ्चय कोष र नागरिक लगानी कोष दुवैलाई सम्झौता अनुसार किस्ता रकम तिर्न सकेको छैन । हरेक तीन महिनामा सञ्चय कोषलाई डेढ अर्ब र नागरिक लगानी कोषलाई ६३ करोड किस्ता तिर्नुपर्नेमा एनएसीले दुई संस्थालाई जम्मा ५३ करोड रुपैयाँका दरले बुझाउँदै आएको छ ।
कमाउन नसकेकाले किस्ता तिर्न नसक्दा जहाज किन्न लिएको ३४ अर्ब ऋणको भार करिब ५० अर्ब रुपैयाँ पुगिसकेको छ ।