काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेल क्षेत्रका ९ जना र खेल पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । सिंहदरबारमा बुधबार आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले ६ खेलाडी, एक प्रशिक्षक, एक निर्णायक र एक फिजियोथेरापिष्ट गरी ९ जनालाई राष्ट्रिय खेलकुद सम्मान प्रदान गरेका हुन् ।
सम्मानित हुने खेलाडीमा कवड्डीकी मेनुका कुमारी राजवंशी, टेवल टेनिशकी नविता श्रेष्ठ, टेवल टेनिशकै शिवसुन्दर गोथे, कराँतेकी एरिका गुरुङ, टेवल टेनिशकी शुभश्री श्रेष्ठ र पारा तेक्वाण्डोकी पलेशा गोर्वधन रहेका छन् ।
त्यस्तै कवड्डीका प्रशिक्षक पार्वती राई, टेवल टेनिशका निर्णायक तेजेन्द्र सिंह महरा र फुटबलका फिजियोथेरापिष्ट आविस्कार पुडासैनिलाई पनि राष्ट्रिय खेलकुद सम्मान गरिएको छ । सम्मानित सबैले प्रशंसा पत्रसहित जनही एक लाख रुपैया प्राप्त गरे ।
त्यस्तै खेलकुद पत्रकारिकता प्रोत्साहन पुरस्कार हरि प्रसाद कोइराला, तिवारी यादव, गोविन्द राज नेपाल, गोहितराज पराजुली, रिखिराम जिसि, नन्दराम जैशी, नवराज पनेरु र रजनी कुमारी योगीले पाएका छन् भने खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान गोविन्द रेग्मीलाई प्रदान गरिएको छ ।
पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुद मन्त्री लिम्बुले स्वरोजगार कोषका माध्यमबाट खेलाडीहरुलाई व्यवसाय गर्न प्रोत्साहन गरिने बताए । खेल क्षेत्रको बिकासको इतिहासमा अहिले धेरै राम्रा प्रस्तावहरु अघि सारिएको उनले बताए ।
खेलकुदको क्षेत्रमा उल्लेख्यनीय योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र खेल प्रायोजक संस्थालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले मन्त्रालयले हरेक वर्ष खेलकुदका राष्ट्रिय प्रतिभाहरु तथा खेल पत्रकारहरुलाई पुरस्कार र सम्मान वितरण गर्दै आएको छ ।