Logo
Logo

चप्पल कारखानामा आगलागी हुँदा एक घाइते, लाखौँको क्षति


- दृष्टि न्युज/संवाददाता

0
Shares

साँझा, २८ फागुन । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट सुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् ।
शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागी बुधबार बिहान ८ बजेमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । बाँके र बर्दियाका छ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको निरन्तरताको प्रयासले आठ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको उक्त उद्योगमा चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेका कारण आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन नसकेको उनको भनाइ छ । आगलागीबाट ८÷१० करोड रुपैयाँ मूल्य बराबरका मालसामान जलेर नष्ट भएको सञ्चालक सिंहले दाबी छ । प्रहरीले क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्