काठमाडौँ उपत्यका वरपर आवाद भएर पनि ठूलो सङ्ख्यामा रहेका तामाङहरुले आजसम्म किन पछौटेपनको पीडा भोगिरहेका छन् ? राज्य सञ्चालनको तहमा पुग्ने त कता हो कता, किन उनीहरुले औसत जीवन यापनका लागि पनि ठूलो सङ्घर्ष गरिरहनु परेको छ ?
यी प्रश्नहरुको यथोचित जवाफ खोज्न उनीहरुको वर्तमान अवस्था हेरेर मात्र विश्लेषण गर्नु न्यायोचित हुँदैन । यसको लागि ऐतिहासिक तथ्यहरु निफन नाफन गर्नै पर्छ ।
पिपा गोश्वारामा भर्ती गरेर तामाङहरुलाई राज्यले लामो कालखण्डसम्म भारी बोकाएको इतिहास जगजाहेर छ । इतिहासशिरोमणि बाबुराम आचार्यले ‘प्राचीनकालको नेपाल’ (२०६०ः३५)मा उल्लेख गरेअनुसार तामाङहरुलाई लिच्छवि तथा मल्लहरुले पनि सैनिक सेवाबाट वञ्चित गरेका थिए । तर सेनहरुको समयमा तिमालका तामाङहरुले सैन्य सेवा गरेका थिए भन्ने झल्को आउने ऐतिहासिक प्रमाण भने भेटिन्छ ।
इतिहासकार मोहनप्रसाद खनालले ‘पृथ्वीपत्र सङ्ग्रह भाग १’ (२०२८ः१०–११)मा प्रकाशित गरेको पृथ्वीनारायण शाहले वि.सं. १८१९ भदौ सुदी १ रोज ६ मा लछिमन थापालाई लेखेको पत्रमा ‘विर्या धामिको नेल काट्न लाईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई चमक्या छ अरु कौनै तेरो विराउ छैन धर्म भागि पिछा पर्छस् त हाम्रा काजि साथै कविला पठा.तेरो जतिहो तति वकसुला. उप्रान्त तिमालको काज पु¥याऊ छु भनि विन्ती पारि पठाइछस् भलो हो. सकन्या भया आट. भदउका दिन नसकि जैसिले साइत दियानन् ततिन्जेलसंम भोट्यालाई संझाईबुझाई थामन्या कामगर’ भन्ने परेको छ ।
यस पत्रमा ‘पारीका भोट्या उठाई चमक्या छ’ लेखिएकोले त्यसबेला तामाङहरु युद्धमा सहभागी हुन तयार रहेका थिए भन्ने बुझ्न सकिन्छ । त्यसबेला मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले तिमालका शासक रिन्छिन दोर्जेलाई ताम्रपत्र दिएका थिए । तिमालका तामाङहरु सेन राज्य मकवानपुरप्रति बफादार थिए ।
पछिल्लो समय उनीहरुलाई युद्धको बेला पहाडका बाटाघाटा असजिला हुनाले भरियाको बन्दोबस्त मिलाउनका लागि राजा पृथ्वीनारायण शाहले पाखाबाली हुने जग्गा किपट दिई युद्धको काममा रसद, हतियार आदि बोक्ने काम ठेकिदिएका थिए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’–२०६१ः४१८) ।
तामाङहरुले झारा र पीपाका रुपमा राज्यको भारी बोक्ने काममा युगौँयुग त बिताए । तामाङ बस्तीलाई दरबारमा सुसारे आपूर्ति गरिने स्रोत सुसारे बनाइयो ।
तामाङहरुमाथि भएको ऐतिहासिक अन्यायको चर्चा गर्दा वि.सं. १८५० मा नुवाकोटको लच्याङ र यस वरपर भएको तामाङहरुको सामुहिक हत्याको इतिहास उल्लेख गर्नैपर्ने हुन्छ । उनीहरुले त्यसबेला आफूहरुमा ‘बौद्ध अवतार भयो’ भन्ने घोषणा गरेका थिए । उनीहरुको यो विद्रोह दवाउने क्रममा एक हजार जनालाई मारिएको थियो ।
इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ६४ (चैत २०४१ः१–३)मा राजा रणबहादुर शाहले नुवाकोट काजमा जाँदै गरेका कालु पाँडेलाई लेखेको पत्रमा उक्त विद्रोहका बारेमा उल्लेख छ ।
पत्रको ब्यहोरो यस्तो छः
‘उप्रांत लाग्दै जेठमा १।२ मुर्मि प्रजाले औतारि हौं भनि नालदुम पश्चीम वेत्रावति पूर्वका प्रजा वटुलि भारनागल्यामा भेला भएछन्. इन्सँग नमिलन्या सांगाचोकका लामालाई मार्या भन्या षवर आयो र २ कंपनि पठाउंदा केहि काटिया. केहि भाग्याका थिया. फेरि साउनका १० जादा सिकव्र्यासी तांवेसतार नर्जा कविलास भोंट्या भेला भै घर पोलि लुट गर्यो भन्या खबर आयो. र फौज पठाई हजार मुर्मि साफ भया. गाउंल्याका कविला आफ्ना आफ्ना घरबारि राषि मिजार गौरुंका कवीला मासिया. देसको साहास पाईकन गर्याको रहेनछ. ई प्रजाका जाना मिलो छ्यागियाका रह्याछन्. सोहिमाफिक तंवि गरिउं…।’
नेपालको इतिहासमा कालु पाँडे नामका तीन जना भारदार देखिन्छन् । कीर्तिपुरमा मारिएका काजी कालु पाँडे, पृथ्वीनारायण शाहकालिन ज्योतिष कालु पाँडे र रणबहादुर शाहकालीन कप्तान कालु पाँडे रहेका छन् । तामाङहरुको विद्रोहबारे उल्लेख भएको पत्र चाहिँ कप्तान कालु पाँडे हुन् ।
तामाङहरु राजधानी वरपरका मूलबासी भए पनि उनीहरुमा पछौटेपन हुनुका पछाडि यस्ता ऐतिहासिक अन्याय र दमनको ठूलो भूमिका रहेको छ ।
अझ जङ्गबहादुरको समयमा बनेको मूलुकी ऐनले त तामाङहरुलाई ‘मासिन्या मतुवालि जाति’ लेखेर अर्को वैधानिक अत्याचार गरियो । यसै ऐतिहासिक सेरोफेरोमा यो लेख तयार पारिएको छ ।
मूलुकी ऐनअघिको अवस्था
चौधौँ शताब्दिका राजा जयस्थिति मल्लकै समयदेखि एकै प्रकृतिको अपराधमा जातअनुसार फरक फरक दण्ड सजायको ब्यवस्था हुँदै आएको थियो । लिखित संहितावद्ध ऐनका रुपमा नेपालमा वि.सं. १९१० मा मूलुकी ऐन ल्याइएपछि जातअनुसार फरकफरक दण्ड सजायको ब्यवस्थालाई वैधानिकता दिइयो । त्यहीँ घानमा तामाङहरु पनि परे । उनीहरुलाई ‘मासिन्या मतुवाली’ जातिमा करार गरियो भने कतिपय ‘नमासिन्या मतुवाली’ जातिलाई दण्ड सजाय दिदा ‘जात पतित गरी भोट्या’ बनाइदिने ब्यवस्था पनि गरियो । यो तामाङहरुमाथिको अपमान र अन्यायको पराकाष्ठा हो ।
मूलुकी ऐन आउनुअघि पनि तामाङ र अन्य (खस आर्य वा नमासिने मतुवाली) जातिको तुलनामा एउटै अपराधमा ठूलो सजायको ब्यवस्था गरिएको घटना पाइन्छ ।
उदाहरणका लागि राजा राजेन्द्रविक्रम शाहले वि.सं. १८९३ साल मिति असार सुदी ७ रोज ४ मा जारी गरेको ‘भाउजु विराउ’ अर्थात् विधवा भाउजुसँग करणी वा विवाह गरेको अपराधमा कस्तो दण्ड सजाय हुने भन्ने स्थिति बाँध्न जारी गरेको रुक्का हेर्दा पनि यसबारे स्पष्ट हुन सकिन्छ ।
महेश सी. रेग्मीले ‘रेग्मी रिसर्च सेरिज’–वर्ष ३ अङ्क १ (सन् १९७१ डिसेम्बरः१–२)मा प्रकाशित गरेको एक रुक्कामा लिम्बू, किराती (खम्बु राई), जुम्ली र लेप्चाबाहेक जानी जानी भाउजु विराउ (करणी वा विहे) गरेको अपराधमा दिइने दण्ड सजायबारेमा उल्लेख छ । दण्ड सजायको प्रकृति पनि जातअनुसार बेग्लाबेग्लै किसिमको छ । यसअनुसार मगर, गुरुङ, नेवारलाई भाउजुसँग करणी वा विहे गरे उनीहरुको लिङ्ग काटिन्थ्यो । तर वलामी, माझी, दनुवार, सुनुवार, मुर्मी, भोटे, चेपाङ, पहरि, वाराही, कुम्हाल, वरामुलाई भने यस्तो अपराधमा ज्यान सजाय हुन्थ्यो ।
मूलुकी ऐन १९१० आउनुअघि पनि तामाङहरुलाई मासिने जातिका रुपमै ब्यवहार गर्ने गरिएको थियो भन्ने यसबाट स्पष्ट हुन आउँछ ।
वि.सं. १८९३ मा जारी भएको यस किसिमको आदेशमा केही सुधार र परिमार्जन गरी राजा राजेन्द्रले वि.सं. १९०३ जेठ बदी ११ रोज ६ मा अर्को रुक्का जारी गरे । वि.सं. १८९३ मा सुनुवारलाई ज्यान सजाय ब्यवस्था गरिएकोमा पछिल्लो रुक्कामा भने भाउजु विराउ गरे लिङ्ग काट्ने र नेवारलाई सर्वश्व लिई जात बाहेक मात्र गर्ने सजाय तोकियो (भगिराज इङ्नाम, ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’–२०७७ः२०४–५) ।
पछिल्लो ब्यवस्थाअनुसार कोइच (सुनुवार)हरुले मासिने जातिबाट मुक्ति पाएको देखिन्छ ।
‘मासिन्या मतुवाली जाति’
जङ्गबहादुर राणाको सक्रियतामा मूलुकी ऐन आउनुअघि भाउजु विराउ गर्दा जुन जातिलाई ज्यानको सजाय दिइन्थ्यो, उनीहरुलाई नै मूलुकी ऐनमा ‘मासिन्या मतुवाली जाति’को महलमा राखियो ।
मूलुकी ऐन १९१० को ‘मासिन्या ज्यू अमालिले लिन्याको’ महलमा ‘भोट्या चेपाङ माझी दनुवार हायु दरै कुमाल पहरि गैह्र मासिन्या जात’ भन्ने उल्लेख भएकोले यी जातिलाई मासिने जातिमा राखिएको स्पष्ट हुन्छ । त्यसबेला तामाङहरुलाई सरकारी सम्वोधनमा ‘भोट्या’ लेखिने गरिन्थ्यो । यीमध्ये सबै जसो अति सिमान्तकृत जातिका रुपमा रहेका छन् ।
मगर, गुरुङ, राई, लिम्बू, सुनुवार, लेप्चा आदि आदिवासीहरु चाहिँ ‘नमासिन्या मतुवाली जाति’ का रुपमा राखियो ।
मूलुकी ऐन घोषणा गरिदा आफ्ना बाबु राजेन्द्रविक्रम शाह र छोरा त्रैलोक्यविक्रम शाहका साथ राजा सुरेन्द्रविक्रम शाहले अघिसरा देखिए पनि यसको सबै बन्दोवस्त गर्ने काम चाहिँ तत्कालीन प्रधानमन्त्री तथा कमाण्डर इन् चिफ जङ्गबहादुर राणा नै थिए ।
मूलुकी ऐन घोषणा गरिदा ‘…आजसम्म मरमामिला गर्दा एकै विहोरामा कसैलाई कमि कसैलाइ बढता सजाय हुन जान्या हुदा तसर्थ अब उप्रान्त छोटा वडा प्रजा प्राणि सबैलाई षत जात माफिक एकै सजाय हवस् घटी बढी नपरोस् भन्ना निमित्त तपसिल बमाजिमका भारादारसमेत राषि कौसल गरि कौसल मा ठहर्या बमोजिम्का अैन् तयार गर्नु भनि श्री ३ महाराज जङ्ग बहादुर राणाजि सिवि प्राइम्मिनिष्टर याण्ड कम्याण्डर इनचिफलाइ हुकुम बक्सी बन्याको अैन हामि तिन् पुस्ताबाट पनि मंजुर गरि सम्वत् १९१० साल् मिति पौष सुदि ७ रोज ५ का दिन् लेषियाका…’ भन्ने उल्लेख छ ।
त्यसबेला यो ऐनमा साक्षीका रुपमा जङ्गबहादुरलगायत तत्कालीन जनरलहरु, सैन्य अफिसर, राजगुरु, धर्माधिकार, निजामति आदि २०९ लाई राजी गराई साक्षी राखिएको थियो ।
मूलुकी ऐनले अन्य अति सिमान्तकृत आदिवासीहरुसँगै तामाङहरुलाई ‘मासिन्या मतुवाली जाति’ को स्थानमा राख्यो नै, त्यसमा पनि उनीहरुलाई अतिरिक्त वैधानिक अत्याचार गर्ने काम पनि गरेको छ । त्यो के हो भने अन्य नमासिने जातिले अपराध गर्दा उनीहरुलाई जात पतित गरिदा तामाङ बनाइदिनु ।
अरु जाति वा समुदायका ब्यक्तिले विराए वा दण्डित भए त्यसको तामाङहरुले त्यसको भार उठाइदिनुपर्ने गरी मूलुकी ऐन १९१० मा ब्यवस्था गरियो । यस प्रकारको पाँच प्रकृतिको अपराधमा दण्डित हुने ब्यक्तिलाई तामाङ समुदायमा मिलाइदिने ब्यवस्था गरिएको छ ।
‘आफ्ना हाड नातामा करणि गन्या नमासिन्या मतुवाली जात गैह्रको तपसिलमा’ यस्तो ब्यवस्था गरिएको छ ।
उदाहरणका लागि ‘…आफ्ना हाडमा ४ पुस्तासम्मका जन्माउन्या आमा आफ्ना एका बाबुबाट जन्म्याका दिदिवैन्हि आफुले जन्मायाका छोरि र भाउज्यू बाहेक् अैनले जान हान्न हुन्यासम्मका अरु सौतिन्या आमा वज्यू भाइ वुहारि छोरा वुहारी नातिन्या वुहारि दिदि वैन्हि छोरि नातिनी फुपु नाता पन्र्या सधवा भया पनि विधवा भया पनि कंन्या भया पनि एस्ताको करणि गन्र्या नमासिन्या मतुवाली जात गैह्रको अैन वमोजिम्को अंस सर्वस्व गरि मुडि कुकुरको मासु षुवाई जात पतित गरि सहर गौडा घुमाइ भात वाहेक गरि पुर्वको भया पश्चिम् र पश्चिम्को भया पुर्वतर्फ नदि कटाइ धपाइ दिनु एस्ताको हातको भात चल्दैन पतिया नदिनु एस्ता मासिन्या भोट्या जात हुंछन् पानि चल्छ पानिको मात्र पतिया दिनु…’ भन्ने उल्लेख छ ।
यस्तै अर्को ब्यवस्थामा ‘…आफ्ना हाडका ४ पुस्तादेषि माथि आफुदेषि ७ पुस्तासम्मका ११ वर्ष नाघ्याका कंन्या विधवा स्वास्निको करणी गन्र्या नमासिन्या मतुवालि जात गैह्र को अैन वमोजिम्को अंस सर्वस्व गरि जात पतित गरि भोट्या जातमा मिलाइ दिनु एस्ताको पानि चल्छ पानिको मात्र पतिया दिनु…’ भन्ने उल्लेख छ ।
यसरी राज्यले बनाएको ऐनले नै जाति तोकेर मासिने र नमासिने भन्ने ब्यवस्था गरेपछि मूलुक जातीय रुपमा असमान हुनु स्वभाविक हो । त्यसबेला जसरी मासिने जाति भनेर राज्यले जसरी सिमान्तमा पार्दै लग्यो, यसैको आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक असरले पछौटेपनको शिकार हुनुपरिरहेको आदिवासीहरुमध्ये एक हुन्, तामाङ जाति । उनीहरुले युगौँदेखि राज्यबाट भोग्दै आएको अत्याचारको क्षतिपूर्ति कसरी होला ?