Logo
Logo

चीनमा हाइड्रोजनबाट चल्ने विमानको उडान सफलतापूर्वक सम्पन्न


1.3k
Shares

एजेन्सी । चीनमा हाइड्रोजन इन्धनबाट चल्ने विश्वकै पहिलो चार सिटे विमानले सफलतापूर्वक उडान सम्पन्न गरेको छ ।

विमानले उत्तरपूर्वी चीनको लियोनिङ प्रान्तको शेनयाङमा पहिलो उडान सम्पन्न गरेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

यो विमान चीनले आफैँ बनाएको हो । चीनले हरितगृह ग्यास उत्सर्जनलाई घटाउने आफ्नो योजनामा हाइड्रोजन विमानको उडान सफल हुनुलाई महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएको जनाएको छ ।

उडानमा पर्याप्त शक्ति, उत्कृष्ट गति र निकै कम कम्पन तथा आवाज आएको पाइलटले उल्लेख गरेका खबरमा उल्लेख छ ।

यो विमानले अरू विमानजस्तै उडान गर्ने र सामान्य विमानस्थल नै उडान अवतरणका लागि पर्याप्त हुने पनि जनाइएको छ । हाइड्रोजन ग्यास चुहावट र यसबाट हुने सम्भावित विस्फोटहरू रोक्न सबै खालका सुरक्षा उपकरण राखिएको छ ।

हाइड्रोजन इन्धनबाट चल्ने विमानले अरू विमानको तुलनामा ४० प्रतिशत कम कम्पन उत्पन्न गर्ने र यसले पाइलटलाई धेरै नै सजिलो हुने विमान निर्माणमा संलग्न इन्जिनियरहरूले बताएका छन् ।

हाइड्रोजन सबै प्रकारका ऊर्जाभन्दा स्वच्छ र मूल्यवान् छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानको कार्बन उत्सर्जन लगभग शून्य नै रहने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्