काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतदेखि बालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयसम्म सेटिङ मिलाएर राजस्वका तरमारा कर्मचारीले आकर्षक कार्यालयमा सरुवा मिलाउँदैआएका छन् । त्यस्तै खातमाथि खात अवसर पाउने राजस्वका उपसचिव हुन् ध्रुव पोखरेल । उनले आन्तरिक राजस्व कार्यालय बुटवलबाट राजस्व अनुसन्धान विभाग ललितपुरमा सरुवा मिलाएका छन् ।
प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागमा जान उनले प्रधानमन्त्रीको सचिवालयका रमेश मल्ललाई प्रभावमा पारेको चर्चा अर्थमन्त्रालयमा हुने गरेको छ । प्रधानमन्त्री कार्यालयमा उपसचिवको दरबन्दी एक महिनासम्म रिक्त राखी मोलतोल मिलेपछि राजस्व समूहका पोखरेललाई ल्याएर विभागमा खटाइएको छ ।
पोखरेल राजस्व समूहमा सबैभन्दा बढी अवसर पाउने र कमाउनेमा पर्दछन् । उनी यसअघि नै राजस्व अनुसन्धान विभागमा बसेर अकूत पैसा कमाएर निस्किएका थिए । त्यहाँबाट केही समय मन्त्रालय बसी ठूला करदाता कार्यालय,, फेरि आन्तरिक राजस्व कार्यालय बुटवल सरुवा भएका थिए । फेरि अहिले राजस्व अनुसन्धान विभागमै पुगेका छन् । उनले भ्रष्टाचार गरेरै कमाएको सम्पत्तिले राष्ट्रपति कार्यालय शितलनिवास अगाडि ८ करोड रुपैयाँमा १ रोपनी जग्गा किनेका छन् ।
त्यसैगरी उपसचिवको दरबन्दी भएको आन्तरिक राजस्व कार्यालय धरान, बागलुङ लगायतका कार्यालयमा शाखा अधिकृतलाई कामु कार्यालय प्रमुखका रुपमा पठाइएको छ । उपसचिव पर्याप्त हुँदाहुँदै शाखा अधिकृतलाई कार्यालय प्रमुखमा पठाउनुको कारण मन्त्री महतको स्वार्थले काम गरेको छ । बढुवा हुन लागेका आफ्ना निकट उपसचिवलाई पठाउन मन्त्री डा. महत र सचिव कृष्णहरि पुस्कर कर्णले शाखा अधिकृतलाई पठाएको स्रोतले बताएको छ ।
निजामती सेवा ऐनमा दरबन्दीकै कर्मचारी पठाउनुपर्ने ब्यवस्था भए पनि मन्त्री र सचिवले नयाँ बढुवा हुने उपसचिवसँग असुली गर्नका लागि शाखा अधिकृतलाई कामु कार्यालय प्रमुखमा पठाएका हुन् ।
जबकि, बढुवा हुनासाथ उपसचिवलाई प्रदेशमा पठाउनुपर्ने ऐनको ब्यवस्था छ । तर मन्त्री डा. महतले उपसचिव रामबहादुर केसीलाई ठूला करदाता कार्यालयमा पदस्थापन गरिसकिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा ७ जना प्रमुख भन्सार अधिकृत( उपसचिव)को दरबन्दी छ । तर ३ जना मात्र उपसचिव कार्यरत छन् । त्यहाँ उपसचिव खटाउन समेत मन्त्री महत र सचिव कर्णले सकेका छैनन् । एयरपोर्ट भन्सारमा कुनै पनि उपसचिव जान चाहँदैनन् । मन्त्री र सचिवलाई बुझाउन नसक्नेहरुलाई थन्क्याउने ठाउँ भएको छ विमानस्थल भन्सार ।
यसअघि मन्त्री महतले उपसचिव रामप्रसाद मैनालीलाई सुख्खा बन्दरगाह बीरगंजको प्रमुख बनाएका छन् । उनी आन्तरिक राजस्व कार्यालय न्यूरोडमा २ बर्ष बसे । त्यसपछि कार्यसम्पादन नम्बर लिन सुर्खेत आन्तरिक राजस्व कार्यालयमा सरुवा भए । १० महिनामात्र सुर्खेतमा बसेर उनी रसुवा भन्सारको प्रमुखमा सरुवा मिलाउन सफल भए । रसुवा भन्सार कार्यालयबाट फर्किएपछि विभागमा केही महिना बसे । महत मन्त्री हुनासाथ उनी पुनः सबैभन्दा आकर्षक मानिने सुख्खा बन्दरगाह बीरगंजको प्रमुखमा सरुवा मिलाएका छन् ।
विदेशी पीआर लिने ब्यक्ति नेपालमा सरकारी सेवा गर्न अयोग्य हुने ब्यवस्था छ । तर ८ बर्षअघि लागू भएको उक्त ब्यवस्थालाई चुनौती दिंदै मैनाली बेलायतकै पीआर होल्डर भएको स्रोत बताउँछ । उनले बेलायतमै अध्ययन गरेका, बेलायतमै छोरीको विवाह पनि गरेका उनी बर्षमा २ देखि ३ पटकसम्म उता जाने गरेका छन् ।
मैनाली सुख्खा बन्दरगाहको प्रमुख भइसकेपछि सुपारीदेखि पोस्तादाना लगायत तेस्रो मुलुकबाट ल्याएर नेपालकै उत्पादनका रुपमा भारत तस्करी गराउने समूह सक्रिय भएको छ । जसको उदाहरण २ महिनाअघि सुख्खा बन्दरगाहमा बरामद भएको ३ कन्टेनर सुपारीलाई लिन सकिन्छ ।
जुन सुपारी तस्करहरुले प्रमुख मैनालीसँग सेटिङ गरी पास गराउनै लागेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा सुख्खा बन्दरगाहमा छापा हानिएको थियो ।
राजस्व समूहमा भ्रष्ट कर्मचारीमै पर्दछन् शान्तिराम निरौला । उनी उपसचिव भएदेखि मन्त्रालय, विभागमा बस्नुपरेको छैन । नेपालगंज भन्सार कार्यालयबाट आन्तरिक राजस्व कार्यालय इटहरीको प्रमुखमा सरुवा भए । इटहरीबाट झन् आकर्षक आन्तरिक राजस्व कार्यालय भैरहवा सरुवा भएका थिए ।
त्यस्तै, उपसचिव धु्र्रवराज विश्वकर्मा पनि राजस्वमा तर मार्नेमा अग्रपंक्तिमा पर्दछन् । उनी पनि कहिल्यै मन्त्रालय वा विभागमा बस्नुपरेको छैन । भन्सार कार्यालयको प्रमुख बाहेक उनी कतै बसेका छैनन् । उनी कृष्णनगर भन्सार, मेची भन्सार, मेचीबाट महेन्द्रनगर भन्सार र पछिल्लो पटक नेपालगंज भन्सारमा पुगेका छन् ।
त्यस्तै, उपसचिव हरि बस्याल पनि राजस्व समूहमा पटक पटक अवसर पाउनेमा पर्दछन् । उनी आन्तरिक राजस्व कार्यालय बुटवलबाट चावहिल, त्यहाँबाट आन्तरिक राजस्व विभागमा बसी पुनः मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर अधिकृतमा पुगेका छन् ।