काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा लागु औषध नियन्त्रणका लागि अभियान चलाउन निर्देशन दिएका छन् ।
बिहीबार महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले लागु औषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न मातहत निकायलाई निर्देशन दिएका हुन् ।
महोत्तरी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ सुनेपछि गृहमन्त्रीले सो निर्देशन दिएका हुन् ।
त्यसक्रममा गृहमन्त्री श्रेष्ठले संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको बताए । गृहमन्त्री श्रेष्ठले धार्मिक विषयमा सहिष्णु हुन, तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न निर्देशन दिए ।