Logo
Logo

कामनपामा समन्वयको अभाव


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण काम गर्न समस्या आउने गरेको बताएका छन् ।
प्रमुख शाक्यले आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षक प्रतिवेदनको मस्यौदामाथि महालेखाका प्रतिनिधिसँग शुक्रबार छलफल गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘समन्वयको अभावमा संघीय र प्रदेशसभा सदस्य र स्थानीय सरकारले राख्ने बजेट एकै ठाउँमा पर्ने गरेकाले पनि समस्या हुने गरेको छ ।’
प्रमुख शाक्यले महानगरपालिकाले काम गर्न खोजे पनि कतिपय अवस्थामा काममा अवरोध हुने गरेको बताए । ‘हामीले हरिभवन रहेको स्थानमा महानगरपालिकाको आफ्नै भवन बनाउन चाहेका थियौँैँँ, वसन्तपुरमा दमकल भवन बनाउन चाहेका छौँ । यस्ता धेरै कामका लागि बजेट पनि विनियोजन गरेका थियौँ’ उनले भने, ‘तर, एउटा समूह हामीले काम गर्न थालेपछि उजुरी बोकेर अख्तियार, पुरातत्व र अदालत धाउन थाल्छ । त्यहाँ उजुरी परेपछि काम रोकिन्छ । समस्या यसले पनि भएको छ ।’
छलफलमा उपमहालेखा परीक्षक रामप्रसाद डोटेलले खरिद र खर्चलाई स्वच्छ, मितव्ययी र पारदर्शी ढंगले गर्न सुझाव दिए । डोटेलले बजेट व्यवस्थापन र राजश्व प्रशासनलाई चुस्त बनाउँदै बजेटको सिन्द्धान्तभित्र बसेर खरिद प्रक्रियालाई पनि पारदर्शी ढंगले अघि बढाउने बित्तिकै धेरै समस्या समाधान भएर जाने बताए ।
प्रमुख शाक्यले जनप्रतिनिधिलाई पारिश्रमिक वा सेवा–सुविधा नदिने भन्ने कुरा सान्दर्भिक नभएको गुनासो गरे । उनले भने, ‘श्रमिकले उसको श्रमअनुसारको पारिश्रमिक पाउनुपर्छ भनेर हामी लड्दै आएका व्यक्ति हौँ ।’ उनले जनप्रतिनिधिले पनि बिहानदेखि बेलुकासम्म जनताको घरदैलोमा पुगेर काम गरिरहेका बताए ।

प्रतिक्रिया दिनुहोस्