Logo
Logo

यस्तो पनि : कोरोना नहोस् भन्ने कामना गर्दै ‘ट्हो त्हें पूजा !


- दृष्टि न्युज/संवाददाता

0
Shares

पोखरा, १ चैत । करिब एक हजार वर्षअघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’को धार्मिक अनुष्ठान गरिएछ । महामारी अन्त्य भएछ । यी ऐतिहासिक कुरा तमु समुदायका बूढापाका बताउँछन् । उक्त अनुष्ठान सो समूदायमा अहिले पनि प्रचलनमा छ ।
तमु सम्बद्ध संघ संस्थाले अहिले पनि समाजमा सुख, शान्ति र समृद्धिको कामनासहित सामूहिकरुपमा सो पूजा गर्दै आएका छन् । तमु प्ये ल्हु संघका केन्द्रीय महसचिव हर्क गुरुङका अनुसार ट्हो त्हें पूजा भन्नाले गाउँले पूजा भन्ने बुझाउँछ । गाउँघरमा अहिले यो पूजाआजा गरेपछि रोगव्याधिबाट मुक्त हुने, लगाएको अन्नबाली जोगाउने एवं सम्पूर्ण प्राणीजगत रक्षा हुने विश्वास कायमै रहेको उनले बताए ।
ट्हो त्हेँ गुरुङ समुदायको मौलिक संस्कृति भएको बताउँदै उहाँले समग्र प्राणि जगत्को हितका लागि गरिने यो संस्कृतिको ठूलो महत्व रहेको उल्लेख गरे । उनले भने, ‘हजार वर्षभन्दा अघि तमुको राज्य क्होलासोथरमा भएको महामारी रोक्नका लागि ट्हो त्हेँ गरिएका कारण पनि तमुले यो पूजा अत्यन्त श्रद्धापूर्वक गर्ने गर्दछन् । कोरोना भाइरसको संक्र्रमणसँगै विश्वव्यापी त्रास बढिरहेको वर्तमान अवस्थामा यस प्रतिको विश्वास र आस्था झनझन बढिरहेको छ ।’
कोरोना महामारीले विश्व नै त्रसित बनेको अवस्थामा यसबाट मुक्ति मिलोस् भन्ने उद्देश्यका साथ तमु प्ये ल्हु संघ केन्द्रीय समितिले पोखरामा यही चैत ४ गते ट्हो त्हेँ पूजा गर्ने भएको तमु प्ये ल्हु संघ कास्कीका प्रथम उपाध्यक्ष निम गुरुङले जानकारी दिए ।
तमु समूदायमा पच्यु, क्ल्हेप्री र बोन्पो लम गरी तीन किसिमका खेगी(धर्म गुरु) रहन्छन् । जन्मदेखि मृत्यु संस्कारका साथै विभिन्न चाडपर्व तथा संस्कृतिमा तीनै प्रकारका धर्मगुरुको आआफ्नै महत्व रहने तमु संस्कृतिका जानकार बताउँछन् ।
उपाध्यक्ष गुरुङका अनुसार संघले प्रत्येक वर्ष चैतको पहिलो मंगलबार तीनवटै खेगी राखेर पोखरामा ट्हो त्हें पूजा गरिँदै आइएको छ । यस वर्षको ट्हो त्हें पूजामा करिब ५० तमु धर्म गुरुले विधिवत पूजाआजा गर्ने उनले जानकारी दिए । यस वर्ष ट्हो त्हेँ शुरु गर्न गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट अक्षता तथा पानी ल्याई यज्ञमा राखिने आयोजकले जनाएको छ । ट्हो त्हेँमा प्रत्येक घरबाट सत्बीज ल्याई पूजा गरिने चलन रहेकाले सद्बीज ल्याई विश्वव्यापी फैलिएको कोरोना संक्रमणको रोकथामसहित आफन्तजनको जीउ, धन रक्षाको लागि पूजामा सहभागी हुन संघले आग्रह गरेको छ ।
क्होलासोंथरबाट हजारौ वर्ष अघि शुरु भएका संस्कार तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि यस किसिमका कार्यक्रमलाई संघले प्राथमिकतामा राखेको महासचिव गुरुङ बताउँछन् ।
तमु समुदायका प्राचीन इतिहास एवं संस्कृतिलाई जगेर्ना गर्ने लक्ष्यका साथ क्होलासोंथरमा विभिन्न अध्ययन अनुसन्धान बढाइएको छ । २०५८ सालमा क्याम्ब्रिज युनिभर्सिटी, प्ये ल्हु संघ र पुरातत्व विभागको संयुक्त प्रयासमा गरिएको उत्खननबाट त्यहाँ एक हजार २०० वर्षभन्दा अघिदेखि बस्ती विकास भएको पाइएको थियो ।
अध्ययन अनुसन्धानको क्रम जारी रहेको बताउँदै महसचिव गुरुङले गण्डकी प्रदेश सरकार, क्याम्ब्रिज युनिभर्सिटी र प्ये ल्हु संघले त्यसको थप अध्ययन गर्ने तयारी गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्