Logo
Logo

पैसालाई कसरी कीटाणुनाशक बनाउने ?


अशोक घिमिरे

0
Shares

  • अशोक घिमिरे

काठमाडौं, १ चैत । पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ती पैसा नष्ट गरेको हो ।


यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् ।
पैसामा तीन हजार भन्दाबढी प्रकारका कीटाणुजस्तै भाइरस, व्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका व्याक्टेरिया देखिएका थिए । अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।
विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ ।
हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक व्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवा भन्दा पैसा बढी फोहोर भएको परीक्षणका क्रमममा पाइएको थियो ।
कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।

पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ?
विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इन्जिनियर राम बाडे बताउँछन् । पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी व्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ । उनले भने, ‘दैनिक रुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो । जति बढी पैसाको प्रयोग आउँछ, उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ ।’
दैनिक रुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषण स्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ ।

कसरी कीटाणुनाशक बनाउने ?
पैसामा भएको व्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट सहज रुपमा कीटाणुनाशक बनाउन सकिन्छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’बाट पैसालाई कीटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनी बताउँछन् ।
संयुक्त राज्य अमेरिका, कोरिया, सिंगापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक व्याक्टेरिया तथा भाइरसको कीटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन् ।
नेपाली पैसामा के कस्ता प्राणघातक रोगको सुक्ष्म जीव छन् भनी अध्ययन अनुसन्धान गर्नु अपरिहार्य भइसकेको उनको भनाइ छ । ‘यस्तो प्राणघातक रोगबाट बच्ने के कस्तो उपाय छन् सोसम्बन्धी कीटाणुनाशक उपकरण लगाउने र जनचेतना जगाउने खालका कार्यक्रम ल्याउन जरुरी भइसकेको छ’ उनले भने । पैसालाई कीटाणुनाशक बनाउन उपकरण प्रयोग गर्ने र पैसा प्रयोग गरिसकेपछि साबुन पानीले राम्रोसंग हात धुने गर्नुपर्छ । रासस

प्रतिक्रिया दिनुहोस्