Logo
Logo

पाँचखालमा भेटियो मञ्जुश्रीको मूर्ति


- दृष्टि न्युज/संवाददाता

0
Shares

काभ्रेपलाञ्चोक, २ चैत । पाँचखाल नगरपालिका–१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्नेक्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति भेटिएको छ ।
शनिबार फेलापरेको उक्त मूर्ति दुई फिट अग्लो छ । उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानांकसमेत अंकित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।
मूर्ति भेटिएको उक्त स्थानमा थप उत्खनन गर्न नदिन र पाँचखाल क्षेत्रको सम्पदा संरक्षण गर्न नगरपालिका, स्थानीय प्रशासन तथा पुरातत्व विभागसँग माग गरिएको छ । पाँचखाल पुरातत्व सम्पदा बचाउ अभियानकर्मी श्रीकृष्ण धिमालले मूर्ति भेटिएको उक्त स्थानमा थप उत्खनन गर्न नदिन तथा सम्पदा संरक्षण गर्न पुरातत्व विभागलाई जानकारी गराइएको छ ।
पाँचखाल नगर क्षेत्रमा विगत एक वर्षदेखि खोज अनुसन्धानका क्रममा सम्पदाको सम्भावना देखिइँदै आएको छ । उक्त क्षेत्रमा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्नेसमेत जनाएको छ ।
पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताए ।
पाँचखाल नगरको निजी तथा सार्वजनिक क्षेत्रमा सम्पदा भेटिएकाले हाल जियोफिजिकल सर्वे उपयुक्त देखिएको विभागले निष्कर्ष निकालेको हो । गौतमका अनुसार जियोफिजिकल सर्वे मेशिनले क्षेत्र तथा जमीनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमीनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वे गर्न लागिएको हो ।
पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका पुरातत्वविद्द्वारा प्रतिवेदनसमेत तयार पारिएको छ । पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको प्रतिवेदनमा उल्लेख गर्दै सम्पदा क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नु आवश्यक रहेको जनाइएको छ । नगरवासीले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्