प्रेम के हो ? यसैको अर्थ खोज्न निस्किए, एक सन्न्यासी । गाउँ–सहर सबैतिर पुगे । प्रेमको अर्थ खोज्न प्रेमलाई भेटे । धोकालाई भेटे । खुसीलाई भेटे । पीडालाई भेटे । पर्खाइलाई भेटे । मिलनलाई भेटे । जीवनलाई भेटे । मृत्युलाई भेटे । सबै सबैलाई भेटे । सबैका तर्क बेग्लाबेग्लै ।
मिलनले प्रेम गर भने, धोकाले नगर । प्रेमले प्रेम सब थोक भने, धोकाले घृणा । प्रेमलाई कसैले भ्रम ठाने । कसैले अन्धो । कसैले पागल । हिटलरकै उदाहरण दिए– प्रेममा न बाँच्न सकिन्छ, न मर्न नै ।
चौतारीमा भेटिएका बुढा बा, उनलाई सोधे । उनले सुनाए– ‘भगवान्ले मान्छे बनाउँदा चारवटा खुट्टा, चारवटा हात र दुईटा टाउको भएको बनाएको थियो रे ! त्यतिबेला मान्छे शक्तिशाली थिए । भगवान्लाई नै धम्काउन थाले । उसको उद्दण्डताले भगवान् रिसायो । र, मान्छेलाई दुई टुक्रा पारिदिए । त्यो दिन पछि हरेक मानिसले आफ्नो अर्को भाग खोज्दै छ । त्यहीँ भाग हो प्रेम !’
अर्को दिन हातमा निमन्त्रणा कार्ड बोकेर हिँडिरहेको तन्नेरीलाई भेटे । सोधे– केको कार्ड हो बाबु ? उत्तर आयो– बिहेको । सन्न्यासी फेरि सोधे– कसको बिहेको ? जवाफ आयो– प्रेमिकाको ।
उसलाई केटो भाग्यमानी लाग्यो । प्रेमिकासँगै बिहे हुँदै छ भन्ने लाग्यो । बधाई दियो– ‘बधाई छ । भाग्यमानी रैछौँ, आफूले माया गरेकै मान्छेसँग बिहे हुने भएछ ।’
आक्रोशयुक्त जवाफ आयो– ‘मसँग होइन, अरुसँगै हो । सहरबाट माग्न आएको रैछ, त्यही केटासँग बिहे गरिदिने रे ।’
‘अनि तिम्रो माया ?’ सन्न्यासी फेरि प्रश्न गरे ।
फिस्स हाँस्दै युवकले भने– ‘माया पाउनु मात्रै होइन, गुमाउनु पनि हो । साइनो जोडिएपछि नाता तोडिन्छ । तर, माया मर्दैन । त्याग पनि त हो प्रेम । प्रेम प्राप्त गर्नुमा मात्र छैन । आफूले प्रेम गरेको मान्छे गुमाउन तयार हुनुमा पनि छ । प्रेम, गुमाउनु र पाउनु दुवै हो । मुटु टुटाउने प्रेम, मुटु जोड्ने पनि प्रेम ।’
बिहेकै कार्डजस्तो अनुहार बनाएर हिँडे ।
बाटोमा गुलाफलाई भेटे । उसलाई पनि सोधे– कस्तो हुन्छ, प्रेम ?
जवाफ आयो– रिस, माया र पीडा मिल्ने साथी थिए । उनीहरू प्रायः सधैँ सँगै हुन्थे । सँगै खेल्थे । घुम्थे । एकदिन लुकामारी खेलेछन् । माया र पीडा लुक्न गएछन् । उनीहरूलाई रिसले देख्नुपर्ने थियो । पीडा पर्खालभित्र लुके, माया गुलाफको बोटमुनि । पीडालाई रिसले सजिलै देखिहाल्यो । तर, मायालाई देखेन । सबैतिर खोजे, घण्टौँ बित्यो तर देखेन । पीडाले भने माया लुकेको देखिरहेको थियो । रिसले मायालाई नदेखेपछि पीडालाई रिस उठ्यो । गुलाफको बोटमुनिबाट तानेर निकाल्यो । गुलाफको काँडाले घोचेर मायाको दुवै आँखा फुट्यो । मायाकाे आँखा अन्धो भयो । त्यसपछि पीडालाई भगवानले एउटा सजाय दियो– अब मायालाई जहिल्यै डो¥याउनु । त्यसैले जहाँ माया, त्यहाँ पीडा पनि हुन्छ । र, मायाको प्रतीकको रूपमा गुलाफलाई लिइन्छ ।’ प्रेमको अर्को परिभाषा पाए ।
दोबाटोमा भेटिए पर्खाइ । साँझ परेको थियो । पखाइलाई पनि प्रेमको अर्थ सोधे । वल्लो डाँडा जुन र पल्लो डाँडा घाम देखाउँदै प्रेम यही हो भन्यो ।
पुनः प्रश्न गरे– कसरी ?
उदाउँदै गरेको जुन र अस्ताउँदै गरेको घामलाई देखाउँदै पर्खाइले भन्यो– प्रेम यो घामजुनजस्तै हो । कहिल्यै भेट नहुने । साथ चाहिँ सँधै । यो जुनको आफ्नै प्रकाश छैन तर धर्ती नै उज्यालो बनाउँछ । किन कि घामको साथ छ । ताराहरूको छायामा हुँदा घामले देखेन । त्यसपछि घामले जुनलाई प्रकाश दियो । ताराहरूभन्दा सयौँ गुणा उज्यालो भयो । र, धर्तीलाई समेत खुसी दियो ।’
उनलाई लाग्यो– प्रेम त समर्थन हो, सँगै नहुनुको अर्थ प्रेम नै नहुनु होइन । प्रेमले त एकअर्कालाई सहयोग गर्नु हो । सफल बन्न प्रेरित गर्नु हो । कमजोर बनाउने होइन । असफल बनाउने होइन ।
प्रेमको अर्थ खोज्दै खोज्दै बजार पुगे । एउटी युवतीले तरकारी बेचिरहेकी थिइन् । उनले सबैलाई तौली तौली दिइरहेकी थिइन् । सोही समय एक युवा तरकारी लिन आए । तरकारी नजोखी नै दिइन् ।
ती युवकलाई किन नजोखी दिएको भन्ने खुलदुली भयो । अर्को पसलेलाई सोधे । आफूले देखेको सब कुरा सुनाए । ती पसलेले त्यो युवासँग युवतीले प्रेम गर्ने जवाफ दिए ।
सोचमग्न भएर सन्न्यासी प्रश्न गरे– तर, तरकारी चाहिँ किन नजोखेको ? जवाफ आयो– ‘जहाँ प्रेम हुन्छ, त्यहाँ हिसाब–किताब हुँदैन । र, जहाँ हिसाब–किताब हुन्छ, त्यहाँ प्रेम हुँदैन, व्यापार हुन्छ ।’ प्रेमको अर्को परिषाभा थाहा पाए ।
आफैले आफैलाई प्रश्न सोधे– प्रेमको खास अर्थ के हो ? प्रेमको खास परिभाषा नै भेटेनन् । परिभाषा नहुनु सबैभन्दा ठूलो परिभाषा पनि त हो ।
के प्रेम कहिल्यै मर्दैन ? सम्झिए– ताजमहल । उसलाई लाग्यो प्रेम कहिल्यै मर्दैन । अनन्त, अजर छ । प्रेम गर्नेहरूको अर्को कुनै खोज छैन– प्रेमका अलावा । प्रेम गर्नेहरू केवल प्रेम गर्न जान्छन् । प्रेममै जिउँछन् ।
तर, यहाँ धोका पनि छ । शारीरमा मात्रै चोट लाग्दैन । भावनामाथिको चोट अझ ठूलो हुन्छ । त्यसैले प्रेममा धोका खाएपछि गलेकाहरूले मर्नुलाई नै समाधान मानेको देखिन्छ । प्रेमको शाश्वततालाई मृत्युले पुष्टि गर्छ कि जीवनले ? प्रेम आदिसत्य हो कि अन्तिम सत्य ?
भक्तराज आचार्यको स्वरको गीत सम्झिए–
कोही नगरोस् प्रेम अमर प्रेमको मूल्य कहाँ छ ?
मिल्दो रहेछ व्यथा हजार सुखको किनार कहाँ छ ?
सम्झिए– प्रेम कहानीहरू । जस्तो कि लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन आदि । यी सबै वियोगपछि संयोगमा टुङ्गिएका छन् । ताजमहल प्रेमको तीर्थस्थल बनेर उभिरहेकै छ ।
प्रेम प्राणीहरूलाई संसारमा अलमल्याउने एउटा भ्रम मात्र हो त ? गन्थन जति गरे पनि घुम्दैफिर्दै फेरि उनी प्रारम्भमै पुगे । आखिर प्रेम के हो ? प्रश्नहरूको ‘कुचक्र’ले घुमाइरह्यो ।
उसलाई लाग्यो– संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द सायद ‘प्रेम’ नै होला ।
उसले सम्झिए– म त घरपरिवार, मायामोह सबै त्यागेको मान्छे हुँ । प्रेमको परिभाष खोज्नु उत्कृष्टताको खोजी होइन । यसको खोजी गर्नु ‘मूखर्ता’ मात्र हो ।
लागे आफ्नै सांसारतिर ।