काठमाडौं । राष्ट्रिय महिला उद्यमी सम्मेलन लुम्बिनी प्रदेशको भैरहवामा हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन भैरहवामा गर्ने जानकारी दिएको हो ।
सम्मेलन आगामी शुक्रबार र शनिबार हुने संघले जनाएको छ । सम्मेलन महिला उद्यमी समितिको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासङ्ग लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय र सहकार्यमा हुन लागेको हो ।
अर्थतन्त्रमा महिलाहरूको योगदान अनौपचारिक माध्यमबाट बढी रहेको र महिला उद्यमीहरूलाई ग्रामीण तथा औपचारिक अर्थतन्त्रमा आउन प्रोत्साहन गर्ने संघले जनाएको छ । यस सम्मेलनले महिलाहरूको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
सम्मेलनमा महिला उद्यमीहरूको विकास, विस्तार एवं प्रवर्द्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुग्ने संघले जनाएको छ । सम्मेलनले महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनमा सम्भावना र चुनौतीका विषयमा विज्ञहरूसँग छुट्टाछुट्टै छलफल हुने छ ।
श्रम शक्तिमा महिला सहभागिता एक प्रतिशतले मात्र बढे पनि नेपालको कूल ग्रहर्स्थ उत्पादन शून्य दशमलव तीन प्रतिशतले वृद्धि हुने संघको निष्कर्ष छ ।