प्रायः हरेक बिहान घरबाट सँगै निस्कन्थ्यौँ हामी बुढाबुढी, म आफ्नो काममा जान्थे । सरोज अस्पताल । बाटोभरी उनका बिरामीकै बारेमा बढी कुरा हुन्थ्यो । मैले पटक्कै नचिनेका ती बिरामीका दुःख सुन्दासुन्दा मेरो पनि सहानुभूति बढ्दै जान्थ्यो ।
‘मसँग पनि एउटा जादूको छडी भैदिए हुने, मसँग पनि मेडिकल ज्ञान भैदिए हुने’ भनेजस्तो लाग्थ्यो । तर, सहानुभूति र प्रार्थनाबाहेक अरु केही थिएन मसँग ।
बिहान घरबाट निस्कने बेला सधैं हतार हुन्थ्यो । कुनै अप्ठेरो अपरेशन गर्नुछ भने त झन् बुढालाई ‘ब्रेकफास्ट’ गराउनसमेत गाह्रो हुन्थ्यो । कहिले त बच्चालाई खुवाएजस्तो गरेर मुखैसम्म लगेर खुवाइदिनु पनि पथ्र्यो ।
उनी भने पुस्तक पल्टाएर वा कम्प्युटर खोलेर बिरामीको स्थितिसँग सम्बन्धित केही खोजिरहेका हुन्थे एकसुरमा । कहिले खानै बिर्सन्थे, कहिले भने खाएकै पनि बिर्सन्थे ।
डाक्टर हुन औपचारिक परीक्षाहरू पास गरेर मात्र पुग्दैन रहेछ । अझ सर्जनलाई त झनै गाह्रो । अपरेशन गर्नेबेला हातमा चक्कु लिइसकेपछि अप्ठ्यारो भए कोसँग सोध्ने ? गुरु कहाँ खोज्ने ? सकेसम्म तयारी गरेरै जानु पथ्र्यो ।
कति अमूल्य छ मानव जीवन ! तर, अनित्य अनि अनिश्चित छ । निष्काम कर्म गर्दै, सत्यलाई बुझ्ने बाटोमा लागेमात्र जीवनप्रति कृतज्ञ हुन सकिन्छ । जो जीवनप्रति कृतज्ञ छ, उसका निम्ति मृत्यु पनि भयावह शत्रु हैन, अभिन्न मित्र भएर आउँछ … ।
एकदिन दिउँसै म अस्पताल पुगेँ । मलाई भेट्नेबित्तिकै रमाउँदै उनले भने– ‘आज त ऊ हाँसी नि !’
‘ऊ भनेको को ?’ मैले कुरा नबुझेर सोधें ।
‘उही के त ! एउटी १९ वर्षकी तामाङ केटीको कुरा गरेको थिएँ नि ! …’
मैले सम्झेँ । बिरामीलाई नदेखे पनि मैले बुझेँ– एउटी १९ वर्षकी भर्खरकी केटीलाई अन्यत्र कुनै अस्पतालमा अर्कै रोग होला भनेर अपरेशन गर्न खोजिएको तर, खोलिसकेपछि क्यान्सर जस्तो देखेर फेरि बन्द गरिएको कुरा सुनाएका थिए ।
एउटी खाउँखाउँ लाउँलाउँ बेलाकी गाउँले किशोरी, विपन्न परिवारकी, अनेक ठाउँमा लगेर त्यहाँ ल्याइपुर्याएका जीवनको आशा मारिसकेका… सुन्दै नरमाइलो लागेको थियो, उनको कथा । उनको यो कथा पनि देशको एउटा प्रतिनिधि कथा जस्तै त थियो !
बिरामीका बालाई सबै कुरा बुझाएर सरोजले अपरेशन गर्ने नै आँट गरेछन् । यस्ता धेरै बिरामीको उपचारमा उनी आफ्नो फी लिँदैन थिए ।
निकै अप्ठ्यारो भएको थियो रे अपरेशन । तर, अपरेशन गरेको दिन बेलुका खुसी भएर फर्केका थिए– विजेता झैँ । त्यसपछि भने हरेक दिन उनको चिन्ता थपिँदै गएजस्तो भएको थियो ।
तिनै केटीको स्थितिमा योबेला सुधार आएको रहेछ । तिनी हाँसिछन् । एकछिनको अलमल पछि बल्ल मैले कुन बिरामीको कुरा भन्ने बुझेँ । ‘आज त ऊ हाँसी नि !’ भन्दै आफै बच्चाजस्तो भएर उनी रमाएको देख्दा मलाई पनि खुसी लाग्यो । मेरो आँखा आँसुले भरियो । बिरामी निको भएकोमा खुसीको आँसु थियो कि सरोजको त्यो स्वच्छ बालसुलभता र करुणाका कारण मनमा प्रस्फुटित प्रेमको आँसु थियो, भन्न सक्दिनँ ।
उनी अझै भन्दै थिए– ‘बुझ्यौ ? ऊ हाँस्दा मलाई संसारको सबभन्दा सुन्दर अनुहार हाँसेजस्तो लाग्यो, उसको मुस्कान नै जीवनको ठूलो उपहार जस्तो लाग्यो…।’ यो सुन्दा उनको अनुहारमा देखेको उज्यालो चमकले एकछिन म पनि चम्किएँ ।
बिचरी ! मलाई पनि अत्यन्तै माया लाग्यो ती बिरामीको । उनलाई म बिलकूलै चिन्दिनँ, नाम पनि थाहा छैन ।
यति मात्र थाहा थियो– एक किसिमले मृत्युदण्ड पाएजस्तो भएका र केही गर्न नसकिने भनेर पठाइएका एउटा क्यान्सर रोगीको अपरेशन भएको थियो । गाउँबाट आएका एक अबोध किशोरी, घरबाट टाढा, पैसा छैन, ज्ञान छैन । अस्पताल नजिक छैन । अपरेशन नगरे उनी छिट्टै मर्ने सम्भावना छ ।
खाउँखाउँ लाउँलाउँ भन्ने बेलाको उमेरकी केटीलाई धन्न काठमाडौंसम्म त उपचारको निम्ति बाबुले ल्याउन सके । विभिन्न अस्पताल घुम्दाघुम्दै बेहाल भएर मोडेल अस्पताल पुगेकी ती किशोरीको भाग्यमा अलिकति भएपनि उज्यालो त रहेछ ।
सरोजले विभिन्न किसिमको रिस्क मोलेर नै त्यो अपरेशन गरेका थिए । बिरामीलाई अस्पतालमा तिर्नुपर्ने पैसाको पनि आफैले जिम्मा लिएका थिए । घर किनेको ऋणमा थियौं हामी । बुढाको दानी स्वभावले कहिले म पनि दिक्कै हुन्थें । तर, यसपालि भने बुढासँगसँगै म पनि खुसी हुन सकें ।
अनावश्यक दुःख व्यथा कसैलाई नहोस् भन्ने हेतु पनि जोडिएको थियो, हामी उहिले राजनीतिमा होमिनुमा । ती कठिन भूमिगत दिनहरू बिताउनुमा, अनेक अप्ठ्याराहरुलाई साथी बनाएर जिउनुमा ।
केही दिनपछि उनी बेलुका घर फर्किने बित्तिकै फेरि खुसी भएर भने– ‘अब ऊ केही समय त बाँच्छे नै । पुरै ठीक पनि हुन सक्छ । प्याथोलोजीको रिपोर्ट आयो । यस्तो किसिमको लिम्फोमा पुरै निको पनि हुन सक्छ…।’
डाक्टरको घरमा दिनहुँजस्तै भइ नै रहने कुरा हुन् यी । तर, यो एउटा घटनाले मलाई अलि बढी नै छोएको थियो । पछिसम्म छोइरह्यो । अहिले डाक्टरले सर्जरीबाट विश्राम लिइसकेपछि पनि त्यो बेला डायरीमा टिपेका यो घटनामा बेलाबेला आँखा पर्छ ।
त्यसरी बचाइएका केटी कहाँ गइन्, के भयो, थाह भएन मलाइ । सरोजले पनि विस्तारै बिर्सँदै गए होलान् ।
करिब १५ वर्षपछि एकदिन अस्पतालबाट घर फर्केपछि उनले फेरि ती बिरामीको कुरा गरे । त्यो बेला डिस्चार्ज गर्ने बेलामा उनको बाबुसँग केही ठट्टा गरे झैँ उनले भनेका थिए रे – ‘यसको बिहे गर्ने बेला मलाई बोलाउनु है ! म पनि तपाईँसँगै छ्याङ खाएर नाच्छु ।’
बाबु चाहिँ दंग परेर हाँसेका थिए रे डाक्टरको कुरा सुनेर । त्यतिका वर्षपछि बिरामी अर्कै रोगका कारण फेरि त्यहाँ आउँदा पुरानो हिस्ट्री हेरेपछि मात्र सरोजले सबै कुरा सम्झे । सोधे– ‘बिहे भयो ?’
‘छैन’
‘कहिले गर्छौँ त ? … तिम्रो बुवाले त छोरीको बिहेमा बोलाउँछु भन्नुभएको थियो । बुवा आउनु भएको छैन ?’
‘बाबा त मोरिसक्यो !’
‘… …’
घर फर्केपछि उनले यो कुरा सुनाउँदा उनको अनुहारमा अचम्मको भाव थियो । खुसीसँगै अरु केही मिस्सिएको थियो । के थियो त्यो ? उनी त मानव जीवनप्रति कृतज्ञताको भावमा डुबेका रहेछन् ।
गम्भीर भएर उनी भन्न थाले– ‘कति अमूल्य छ मानव जीवन ! तर, अनित्य अनि अनिश्चित छ ।
निष्काम कर्म गर्दै, सत्यलाई बुझ्ने बाटोमा लागेमात्र जीवनप्रति कृतज्ञ हुन सकिन्छ । जो जीवनप्रति कृतज्ञ छ, उसका निम्ति मृत्यु पनि भयावह शत्रु हैन, अभिन्न मित्र भएर आउँछ … …।’