Logo
Logo

एकता भाँड्न सल्लाहकार सक्रिय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ४ चैत । प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा प्यूठानका सूर्य थापाको बालुवाटार प्रवेश नै रहस्यमय बनेको छ । कुन्दन अर्यालको ठाउँमा थापा प्रेस सल्लाहकार नियुक्ति भएदेखि नै उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मानमर्दन गर्दै आएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने सामग्री र विषयवस्तु केलाउने हो भने, उनी एकताविरोधी कित्तामा उभिएको अनुमान जो कोहीले पनि लगाउन सक्छ । थापाका ‘पोष्ट’हरु व्यक्तिगत हुन सक्दैन, पदीय हिसाबले पनि उनले गर्ने पोष्टलाई प्रधानमन्त्रीको विचार भनेर बुझ्नुपर्ने हुन्छ । थापालाई प्रयोग गरेर बालुवाटारबाट कुन गिरोहले एकता भाँड्न प्रचण्डको तेजोबध गरिरहेका छन् भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै बुझ्न सकेनन् भने नेकपाको एकता महाधिवेशन अगाडि नै ठूलो दुर्घटना निम्तन सक्छ । एकमुठ्ठी खरानीका लागि घरै जलाउने गिरोहको बालुवाटारमा कमी छैन । त्यो गिरोहबाट प्रधानमन्त्री ओली समयमै जोगिएर एकता प्रक्रियामा भएको सहमतिअनुसार चल्नु नै बुद्धिमानी हुनेछ ।

गत शनिबार नेपाल टेलिभिजनको समाचारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रतिक्रिया यस्तो थियो– ‘प्रधानमन्त्री ओली अहिले पूर्णरुपमा स्वस्थ्य हुनुहुन्छ । सिंगो नेपाली जनताले उहाँको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । तर, त्यही बेला एकथरिले राजनीतिक रोटी सेक्ने पनि काम गरे, त्यो बेठिक हो ।’ उनको यो बेमौसमको बाजा पनि ‘प्रचण्ड’, वामदेव गौतम, माधव नेपाल, झलनाथ खनालप्रति लक्षित थियो । किनभने, नेकपा सचिवालयका यी शीर्ष नेताहरुले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान पार्टीले गरेको निर्णय कार्यान्वयनको विकल्प छैन भनेर मिडियामा प्रतिक्रिया दिएका थिए ।

थापा, वामदेव गौतमसँग कति रुष्ट छन् भन्ने कुरा उनले केही समय अगाडि आफ्नो फेसबुकमा लेखेको प्रतिक्रियाले स्पष्ट पार्छ । उनले वामदेवलाई लक्षित गर्दै भनेका छन्– ‘सचिवालयबाट प्रधानमन्त्रीलाई घेराबन्दीमा पारिँदैछ । वामदेवजी तेल दिँदा नखाने, अहिले कोल चाट्ने ? पक्कै पनि थापाजस्तो फुच्चेको दिमागले मात्रै वामदेवजस्तो शीर्षनेतालाई गाली गर्ने आँट गरेन होला । उनलाई यो शब्द प्रयोग गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले नै अह्राएको हुनुपर्छ । किनभने, यस्तो छुच्चो शब्द प्रयोग गर्नेमा रिमाल माहिर मानिन्छन् । रिमालले केही महिना अगाडि प्रयोग गरेको ‘छौडा’ शब्द अहिले पनि धेरैको मन, मस्तिष्कमा गढेको छ ।

गंगा बिसीले कान्तिपुरमा लेखेको एउटा लेखलाई थापाले ‘कपी’ गरेर ‘पोष्ट’ गर्दा उनी विवादमा परे । त्यो पोष्टले पार्टी अध्यक्ष ‘प्रचण्ड’को चित्त दुख्यो । तर, गुनासो गर्ने ठाउँ थिएन । त्यो पोष्ट यस्तो थियो– ‘यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीको रुपमा खुम्चिएको हुन्थ्यो । दश वर्षे जनयुद्ध हाँकेका ‘प्रचण्ड’ सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्वविद्रोही नेता ।’ नेकपा एमाले र एमाओवादी एकता भइसकेपछि, एकता नभए प्रचण्डको हालत के हुन्थ्यो भनेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले कोट्याइरहनु पदीय मर्यादाको हिसाबले पनि ठिक होइन । किनभने, पार्टी एकता नभएको भए प्रचण्डलाई विद्रोही नेता भनेर सम्बोधन हुन्थ्यो, भनेझै केपी ओलीलाई पनि पूर्वप्रधानमन्त्री भनेर सम्बोधन हुन्थ्यो भन्ने कुराको हेक्का ‘पोष्ट’ गर्नेले राखेको देखिएन ।

‘झुम्रोको जुम्रो टाउकोमा’ पुगेझैँ थापाले उनको यो पोष्टको आलोचना गर्ने प्रचण्डनिकट एक व्यक्तिलाई ट्वीटमा गाली गर्दै यस्तो लेखेका छन्– ‘खुमलटारको दानापानी र संरक्षणमा ? पहिला लाजिम्पाटबाट आफ्नै हर्कतका कारण निष्काशित भएको दिन सम्झे ।’ त्यसो त थापा प्रधानमन्त्रीकै ‘ट्वीट’ विवादमा पनि परेका छन् । प्रधानमन्त्रीको ‘ट्वीट’बाट उनले सोनिया गान्धिको सन्देशलाई ‘रिट्वीट’ गर्दा विवादमा परेका हुन् । यति मात्र होइन, प्रेस सेन्टरको कार्यक्रममा रुकुम पुग्दा उनले ‘जनयुद्ध’को विरोध गरे । जनार्दन शर्मा ‘प्रभाकर’ प्रमुख अतिथि रहेको कार्यक्रममा उनले ‘जनयुद्ध’को विरोध गरेपछि प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’को हातबाट झण्डै थप्पड खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्