काठमाडौं । हुन्डी, क्रिप्टो तथा सुन तस्करीमा सहयोग गरेको आरोमा पक्राउ परेका हुण्डी कारोबारी तथा कपडा व्यवसायी नरेश अग्रवाललाई राजश्व अनुसन्धान विभागले सामान्य धरौटीमा छाड्ने तयारी गरेको छ । पक्राउ परेको एक महिनापछि विभागले राम्रोसँग अनुसन्धान नगरी छाड्ने तयारी गरेको हो । अनुसन्धान अधिकृत विदुर कार्कीले अनुसन्धान गरिरहेको बेला विभागमा महानिर्देशक नवराज ढुंगानाले अग्रवाललाई माथिबाटै दबाब आएकाले अनुसन्धान रोकेर छाड्ने तयारी गरेको स्रोतको दाबी छ ।
सुन तस्करीको रकम हुण्डीमार्फत पठाउन तयारी गरेको अवस्थामा सशस्त्र प्रहरीको इन्टेलीजेन्स व्यूरोले बरामद गरी राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो । तर, विभागले उनको मोबाइलमा भएको आवश्यक प्रमाणलाई समेत ध्यान नदिई अनुसन्धान टुग्याएर अर्धन्यायिक हिरासतबाटै छुटाउने तयारी गरेको हो । ‘संभवत अग्रवाललाई एक दुई दिनकै सुनुवाईबाट हिरासतमुक्त गरिनेछ’, विभाग स्रोतले भन्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट नै अग्रवाल भएको तथ्यहरु बरामद भएको थियो । सुन जोख्ने मेसिन र ‘कल डिटेल’का आधारमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको थियो । उनी माघ ३ गते राती क्षेत्रपाटीबाट पक्राउ परेका थिए ।
त्यसक्रममा उनको घरबाट सुन जोख्ने मेसिन बरामद गरिएको थियो । उक्त मेसिन र कारोबारका क्रममा भएको ‘कल डिटेल’मा राजस्व अनुसन्धान विभागले गठन गरेको अनुसन्धान समितिले अनुसन्धान गर्दा सुन तस्करीका दुवै प्रकरणमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको थियो ।
पक्राउ पर्दा त्यतिबेला उनको घरबाट २ करोड नेपाली रुपैयाँसहित २ हजार अमेरिकी डलर र अन्य देशका मुद्रा पनि बरामद गरेको थियो। त्यसक्रममै उनको घरबाट सुन जोख्ने मेसिन पनि बरामद भएको थियो । ढुंगाना नै राजश्व अनुसन्धान विभागमा गएपछि विमानस्थलबाट बाहिरिएको करिब ६१ किलो सुन बरामद भएको थियो । त्यतिबेला नै अग्रवालको नाम मुछिएको थियो ।
नेपालमा प्रतिबन्ध रहेको यूएसडीटीमार्फत कारोबार गरिरहेकोबारे अनुसन्धानको गहिराइमा नपुगी मोबाइल हराएको र अर्को मोबाइल फर्म्याट भएको भन्दै प्रमाण नष्ट गराइएको स्रोतको दाबी छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अग्रवालले एक दिनमै करोडौं रुपैयाँ कारोबार गरेको पाइएको छ ।
स्रोतका अनुसार रकम पठाउन उनले क्रिप्टो करेन्सीमार्फत कारोबार गरेका छन् । उनले चिनियाँ नागरिक ली हानसोङ लुईसँग कारोबार गरेको पाइएको छ । अघिल्लो वर्षको पुसमा विमानस्थलबाट हराएको ९ किलो सुन तथा विभागले नै बरामद गरेको करिब ६१ किलो सुनको करोबारमा उनीहरू दुवै जना जोडिएका छन् ।
अग्रवालले कहाँबाट कति सुन आएको भन्ने जानकारी पनि राख्ने गरेका थिए । सुनको रकम भुक्तानी सुरक्षित रूपमा हुन्डीमार्फत नै हुने भएकाले अग्रवालले नेपालको प्रशासनिक र सुरक्षा निकायमा समेत राम्रो प्रभाव राखेको देखिन्छ । सुन तस्करले उनीमार्फत कारोबार गरेको पाइयो,’ विभाग स्रोतले भन्यो । विमानस्थलबाहिबाट बरामद सुनको रकम भुक्तानी अग्रवाल र उनको समूहबाटै भएको विभागमा जानकारी आएको पनि स्रोतको दावी थियो ।
६१ किलो सुन तस्करीमा तीन जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको थियो। ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ र ‘अली’ भनेर चिनिने ली वेन सुङ र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका छन् । अग्रवालको सम्पर्क र कारोबार पनि उनीहरूसँग देखिएको छ ।