नेपालमा कम्युनिष्ट पार्टीको औपचारिक शुरुआत १५ सेप्टेम्बर १९४९ मा भएको हो । कम गाह्रो थिएन, त्यतिखेर कम्युनिष्ट पार्टीको गठन गर्न, सञ्चालन गर्न र सो पार्टीमा कार्यकर्ता जन्माउनु, हुर्काउन । समाज अति पिछडिएको थियो । डरलाग्दो रुढीवाद व्याप्त थियो ।
मान्छेलाई नागरिक स्वतन्त्रता के हो ? थाहा थिएन । प्रेस स्वतन्त्रता र मानव अधिकार नबुझिने शब्दहरु थिए । राणाको विरोध गर्नु भनेको साँच्चिकै डरलाग्दो र कल्पना बाहिरको कुरा थियो । त्यस्तो बेलामा कम्युनिष्ट पार्टीको गठन भएको हो । आजको आँखाले होइन, त्यतिखेरको आँखाले हेर्ने हो भने, नेपाली समाजको विकासक्रम चानचुने थिएन ।
त्यो ताका मान्छेहरु अत्यन्त गरिब थिए । सीमित परिवारबाहेक सम्पूर्ण जनतालाई खाने र लाउने कुराकै ठूलो समस्या थियो । आम मान्छेका लागि पढ्ने कुरा त बिलासितामा गनिन्थ्यो । त्यस्तो बेलामा मुलुकको साधन स्रोतमा सामूहिक स्वामित्वको नारा लगाउनु कम्ती जोखिमको कुरा थिएन । तर कम्युनिष्टहरुले यो नारा नेपाली समाजको राजनीतिमा प्रवेश गराए । खानु, बस्नु, पढ्नु र बाँच्नु मान्छेको नैसर्गिक अधिकार हो भनेर आवाज उठाउँदा शासकहरु तर्सिनेमात्र होइन, स्वयं आममान्छेहरु समेत अचम्मित हुन्थे । तर कम्युनिष्टहरु आफ्नो अभियानमा रोकिएनन् ।
कम्युनिष्ट आन्दोलनको चरित्र र प्रवृत्तिले समाजवादी आन्दोलनको दिशातर्फ अगाडि बढन सकिँदैन । हिजोका ती कम्युनिष्टहरुले सुम्पेर गएका युगीन दायित्वहरुलाई आजका यी कम्युनिष्टहरुले पुरा गर्न सक्लान ? शंकाको घेरामा छौँ ।
परिवारभित्र महिलाको स्थान दोस्रो दर्जाको थियो । बहुविवाह आमरुपमा र सामान्य मानिन्थ्यो । उनीहरु पुरुषका सम्पत्ति थिए । त्यस्तो समाजमा कम्युनिष्टहरुले मातृसत्ता र महिला अधिकारको कुरा उठाए । धनीका घरमा घरेलु कामदार सानको विषय हुन्थ्यो । त्यस्ता घरेलु कामदारहरु अधिकांश केटाकेटीहरु हुन्थे र ती केटाकेटीहरु गरिबकै छोराछोरी थिए । त्यस्तो बेलामा कम्युनिष्टहरुले बालशोषणको कुरा उठाए । यो कुरा आजको चेतनाले सही अनुभव नगर्न सक्छ । तथापि, यो जोखिम कम्युनिष्टहरुले उठाएकै हुन् ।
नेपालमा आज पनि छुवाछूतको अन्त्य भएको छैन । अलिकति कल्पना गरौँ त, राणाकालमा यो समस्या कति भयावह थियो होला ? त्यस्तो बेलामा कम्युनिष्टहरुले नेपाली समाजमा छुवाछूतविरोधी मान्यतालाई अगाडि सारे । त्यतिबेलाको त्यो जड र धर्मभिरु समाजले कम्युनिष्टहरुलाई कति गाली गर्यो होला ? त्यो जोखिमका साथ त्यतिखेरका कम्युनिष्टहरुले सामाजिक र सांस्कृतिक परिवर्तनका लागि काम गरेका थिए ।
त्यतिमात्र होइन, किसान आन्दोलन, मजदुर आन्दोलन, विद्यार्थी आन्दोलन, राणाविरोधी आन्दोलन, साम्राज्यवाद विरोधी आन्दोलन, जमिन्दार विरोधी आन्दोलन, सुकुम्बासी आन्दोलन, पन्चायत विरोधी आन्दोलन र गणतन्त्र प्राप्त गर्ने आन्दोलनहरुमा नेपाली कम्यृनिष्टहरुको अद्धितिय योगदान छ ।
त्यतिखेर कम्युनिष्ट पार्टीमा संगठित भएका मान्छेहरु साँच्चै नै क्रान्तिकारी थिए । उनीहरुलाई थाहा थियो, २००७ सालको परिवर्तनले एउटा जहानियाँ शासनलाई पराश्त गरेर अर्को जहानिया शासन स्थापना गर्दै छ । त्यसवाहेक दोश्रो शक्तिमा पँुजीवादीहरु स्थापित हँुदै थिए ।
पश्चिमा र अमेरिकीहरु नेपालमा कम्युनिष्ट पार्टीको उदयलाई रोक्ने कुरा निश्चित थियो । तथापि, उनीहरु नेपाली क्रान्तिप्रति प्रतिवद्ध थिए । पाउनु केही थिएन, फेरि पनि उनीहरुले रातो झण्डा उठाइनै रहे । किनकि, उनीहरुमा प्राप्तिको लोभ थिएन । त्याग वलिदान र समर्पणको जगमा उनीहरु उभिएका थिए ।
त्यसपछि पनि पंञ्चायतकालसम्म संगठित भएका कम्युनिष्टहरुमा यो चरित्र कायम नै रह्यो । कम्युनिष्ट हुनु भनेको हिरासतमा यातना खप्न तयार हुनु थियो । जेलजीवन र आर्थिक अभावसँग जुध्न मन्जुर गर्नु थियो । निजी जीवन दाउमा नराखिकन एउटा मान्छे कम्युनिष्ट बन्न नै सक्दैन थियो । उनीहरु अध्ययन गर्दथे । संसारका क्रान्तिहरु बुझ्दथे ।
संसारभरका मेहनतकश जनताले गरेका आन्दोलनहरु उनीहरुको प्रेरणाको स्रोत थियो । त्यही प्रेरणाले नै उनीहरुलाई क्रान्तिप्रति विश्वास जगाउँथ्यो । त्यही विश्वासले उनीहरु अविचलित हुन्थे ।
आज नेपाली समाजले हासिल गरेको भौतिक विकाश र आम चेतनाको विकाशमा कम्युनिष्टहरुको योगदान मात्र होइन, लोकतन्त्र, संविधान, कानुनी शासन, सामाजिक, आर्थिक र राजनीतिक प्रवन्धहरुको विकाशमा कम्युनिष्टहरुको बलिदानीपुर्ण र नेतृत्वदायी भूमिका छ । एउटा नयाँ र प्रगतिशील संस्कृति निर्माणमा उनीहरुले जग हालेका छन ।
तथापि, कम्युनिष्टहरुले देखेको समतामुलक समाजवादी समाज निर्माण गर्न गर्नुपर्ने कामहरु थुप्रै छन । त्यँहासम्म पुग्ने बाटाहरु अत्यन्त जोखिम र चुनौतीपूर्ण छन् । हिजोका शत्रुभन्दा आजका शत्रुहरु बढी चनाखा छन । हिजोभन्दा आज वर्गका आधारमा समाज ध्रुवीकृत भएको छ ।
हिजोका आन्दोलनहरुमा साथ दिनेहरु आज प्रतिक्रियावादी ध्रुवमा उभिएका छन् । त्यसकारण ती चुनौतीहरुलाई माथ दिँदै समाजलाई अगाडि बढन मार्गनिर्देशन गर्ने ल्याकत आजका कम्युनिष्टहरुमा छ त ? हिजो ती कम्युनिष्टहरुले गरेका काम आजका यी कम्युनिष्टहरुले गर्न सक्छन् कि सक्दैनन् ? यो प्रश्न आजको प्रश्न हो यो ।
यो प्रश्नको उत्तर खोज्ने हो भने आजको कम्युनिष्ट पार्टीको भर्ना प्रक्रियाबाट शुरुआत गर्नुपछ । समाजमा विद्यमान अवसरवाट बञ्चित हुन मञ्जुर गर्नेहरु हिजो कम्युनिष्ट पार्टीमा लाग्थे, आज अवसरको दोहन गर्न लालायितहरु कम्युनिष्ट पार्टीमा देखिन्छन ।
हिजो विचार प्रधान संगठन बन्थ्यो, आज संगठन लोकप्रियताका आधारमा बन्छ । हिजो क्रान्तिमा गरेको योगदानका आधारमा संगठनमा जिम्मेवारी प्राप्त हुन्थ्यो, आज उमेरका आधारमा, समुदायका आधारमा जिम्मेवारी प्राप्त हुन्छ । यसलाई अर्को शब्दमा भन्ने हो भने हिजो पार्टीमा जिम्मेवारी प्राप्त हुन्थ्यो भने आज पद प्राप्त हुन्छ । जिम्वेवारी र पदमा के फरक छ जिम्मेवारीले योगदानको माग गर्दछ भने पदले प्रतिष्ठा र अवसरको खोजी गर्दछ ।
हिजो कम्युनिष्टहरुले समाजको अध्ययन गर्दथे । विश्व कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्थे । घरेलु प्रतिक्रियावादको स्थितिलाई बुझ्दथे । शत्रु मित्र पहिचान गर्दथे । तदनुकूलको नीति तय हुन्थ्यो । आजका कम्युनिष्टहरु निर्वाचन क्षेत्र नियाल्छन् । समुदाय र जातका आधारमा भोटको अपिल गर्छन् । जित्छन र फेरि जित्ने योजना बनाउँछन् । जसरी पनि जित्ने ।
पुराणमा सहभागी भएर अथवा रामनामी ओढेर हिन्दूहरुको भोट जित्ने, मस्जिदमा सेतो टोपी लगाएर मुसलमानहरुको भोट जित्ने, जातका कुरा गर्ने भोट जित्ने, राजावादीहरुलाई भोट हाल्ने उनीहरुको पनि भोट प्राप्त गर्ने । आज यो गोलचक्करमा कम्युनिष्ट आन्दोलन फसेको छ । यसबाट उन्मुक्ति प्राप्त गर्नु अर्को महत्वपूर्ण काम हो ।
त्यसै भएर हामीले एमालेबाट विद्रोह गरेका हौँ । हामी एउटा साँच्चिकै कम्युनिष्ट पार्टी बनाउन चाहन्छौँ, जसले यो युगीन दायित्व पूरा गर्न सकोस् । हामीलाई राम्रै थाहा छ, हिजो हामीले राणाशासनविरोधी आन्दोलन गर्दा भारतलगायत संसार हामीसँग थियो । पञ्चायतविरोधी र राजाविरोधी आन्दोलन गर्दा पुँजीवादीहरु हामीसँग भए । अब समाजवादी आन्दोलन गर्दा हामीसँग कोही हुनेवाला छैन । हामीमात्रै हुनेछौँ । दायित्व झन् कठिन छ, हाम्रो चरित्र दिनप्रतिदिन कमजोर हुँदैछ ।
आजको कम्युनिष्ट आन्दोलनको चरित्र र प्रवृत्तिले समाजवादी आन्दोलनको दिशातर्फ अगाडि बढन सकिँदैन । ठूलो परिवर्तन आवश्यक छ । हिजोका ती कम्युनिष्टहरुले सुम्पेर गएका युगीन दायित्वहरुलाई आजका यी कम्युनिष्टहरुले पुरा गर्न सक्लान ? हामी पूरै शंकाको घेरामा छौँ ।