Logo
Logo

‘अज्ञात रोग’बाट दुई नाबालकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

बाजुरा, ७ चैत । स्वामिकार्तिक खापर गाउँपालिकामा दुई नाबालकको जोरो र खोकीबाट मृत्यु भएको छ । उनीहरुको मृत्युलाई अज्ञात रोगबाट भनिएको छ ।
वडा नं २ पुडेनीका चतुरे थापाका ४ महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए । उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए । यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् ।
गत माघ महिनामा ती गाउँमा भाइरल ज्वरोको संक्रमण देखिएको थियो । गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिनुभयो । अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उनले बताए ।
गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार शुरु गरिएको बताए । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ । प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले पनि संक्रमण फैलिएको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिए ।
यसैबचि कोेभिड–१९ को जाँचका लागि चार स्थानमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरिने भएको छ । प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्र प्रवेश गर्ने नाकामा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमबाट जोगिनका जिल्लाका स्थानीय तह र सबै कार्यालयलाई प्रचारप्रसारमा तीव्रता दिन प्रशासनले आग्रह गरेको छ । नौ वटै स्थानीय तहले प्रतिकार्य योजना बनाएर चैत मसान्तभित्र जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउन र स्वास्थ्यकर्मीलाई आपतकालीन समयबाहेक बिदा नलिन प्रशासनले पत्राचारसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्