सानो छँदा अरु बच्चाहरूलाई जस्तै मलाई पनि फाल्गुण सातको दिन खुबै मनपथ्र्यो । ‘प्रजातन्त्र’लाई बुझेर ‘प्रजातन्त्र दिवस’ मन पराएको हैन, स्कूल छुट्टी हुने र घर नजिकै काठमाडौँ वसन्तपुरमा हेर्न पाइने अनेक झाँकी र जुलुसको रमाइलोले हो ।
अहिले ‘लोकतन्त्र’ बनिसकेको ‘प्रजातन्त्र’को अर्थ त किशोरावस्थामा प्रवेश गरिसकेपछि मात्र विस्तारै बुझ्न थालेकी थिएँ । तर, लोकतन्त्रको अवधारणा त जति बुझे पनि बुझ्न बाँकी नै छ जस्तो लाग्ने रहेछ । गन्तव्य भन्दा पनि यो त अविरल यात्रा रहेछ । यस्तो यात्रा, जसमा समय सँगसँगै गन्तव्य पनि परिवर्तन हुँदै जाँदो रहेछ ।
२००७ सालयता देशमा ठूलठूला आन्दोलन र परिवर्तन भइसकेका छन् । हाम्रो देशमा प्रजातन्त्रको अवधारणा कहिलेदेखि आयो, कसरी आयो, इतिहासका मिहिन तथ्यहरूबारे मलाई थाहा छैन । यतिमात्र थाहा छ– म जन्मिनुअघि नै प्रजातन्त्रको अवधारणाले त्यसबेलाका केही नेपालीमा प्रवेश पाइसकेको थियो ।
किशोरावस्थामा प्रवेश गरेपछि बल्ल राणा शासनको क्रुरताबारे सुनेकी थिएँ । आफ्नै मनमा देशप्रेमको भावना, अन्यायप्रतिको आक्रोश, प्रगतिको आकांक्षा आदि कहिलेदेखि मनमा टुसाउन थाले, एकैचोटी टुसाए कि एकपछि अर्को गर्दै, त्यो पनि अहिले स्पष्ट सम्झिन सक्दिनँ ।
‘शहीद’ शब्द र त्योबेला चिनिएका चार शहीदहरूको बलिदानको कथा सुन्दा उनीहरूप्रति त्यसै श्रद्धा बढ्न थालेको थियो ।
यतिखेर देशले औपचारिक रूपमा २०८० सालको प्रजातन्त्र दिवस मनाउँदै गर्दा विभिन्न भाव मनमा आइरहेका छन् । आफूले सुनेको, पढेको, इतिहासको झ्यालबाट हेर्दा लाग्छ– वर्तमानका युवा पींढिले कल्पना पनि गर्न नसक्ने उकुसमुकुस थियो होला त्यो बेला ।
शासक बाहेकका नेपालीले ‘जनता’ वा ‘नागरिक’को हैसियत नै पाएका थिएनन् । रैति थिए सबै । देशको झ्याल ढोका सबै बन्द गरिदिएका थिए शासकहरूले र संसारमा भइरहेका ठूला परिवर्तनबाट रैतिलाई केही थाहा नदिन, केही थाहा नपाओस् भनेर अन्धकारमा राखेका थिए ।
त्यो बेलाका सामान्य रैतिलाई स्वतन्त्रता, समानता, अधिकार, सामाजिक न्याय जस्ता अवधारणा कति अनौठो लाग्दो हो ! त्यस्तो बेला पनि, पुस्तकका झ्यालहरुबाट, भारतका शहरमा पुगेका शिक्षार्थीहरूबाट, विदेशी पल्टनमा भर्ना भएर लडाईँमा नमरी फर्किएका लाहुरेहरुको वर्णनबाट पसेको प्रजातन्त्रको उज्यालो पछ्याउँदै क्रान्तिकारीहरुले प्रजातान्त्रिक आन्दोलनको बीउ टिपे र देशको माटोमा रोप्ने साहस गरे । यो क्रममा कतिले आफ्नो प्राणकै आहूति दिए, कतिले अवर्णनीय यातना खपे, र देशलाई लोकतन्त्रको यात्रामा प्रवेश गराए ।
जुनसुकै यात्राको शुरूमा गन्तव्यको चयन हुन्छ । तर, कुनै कुनै यात्रामा शुरूको गन्तव्य नै पछिसम्मको निम्ति गन्तव्य नहुने रहेछ । अझ कुनै यात्राको त हरेक चरणमा गन्तव्य फेरिइरहने रहेछ । लोकतन्त्रको यात्रा त्यस्तै यात्रा हो– मानिसको पूर्णता तर्फको यात्रा ।
यस्तो यात्रामा जति अघि बढ्यो, उति नै अघि बढ्ने चाहना हुन्छ । पुराना गन्तव्य केवल कोशेढुङ्गा बन्न पुग्छन् । अझै चुनौतिपूर्ण, अझै सार्थक र मानिसको पूर्णताको अझै नजिक लाग्ने नयाँ गन्तव्यको पहिचान हुँदै जान्छ ।
त्यसैले आज हामीले मनाइरहेको ‘प्रजातन्त्र दिवस’ गन्तव्यमा पुगिसकेको खुशियालीको उत्सव होइन । यो त मानिसको खुसी हुने, अघि बढ्ने, पूर्णता प्राप्त गर्ने नैसर्गिक चाहनाको सम्मान हो ।
यस्तो यात्राको निर्णय गर्ने हरेक कालखण्डका मानिसको सम्मान हो । यस्तो सम्मान त्यतिबेला मात्र सार्थक हुन्छ जब हामी त्यो यात्रालाई जारी राख्छौँ । वर्तमानको यथार्थमा देखापरेका अन्धकारका नयाँ रूपलाई परास्त गर्न अघि बढ्छौँ ।
अहिले फर्केर हेर्दा सात सालको क्रान्तिका उपलब्धिहरू थिए– राणाशासकहरूले बन्द गरिदिएका संसार हेर्ने झ्याल ढोका अलिअलि खुल्न थाल्नु र रैतिबाट नागरिक हुने चाहना जाग्रित हुन थाल्नु । यी चाहनाहरू केही वस्तुगत यथार्थमा पनि अनूदित भए– नयाँ स्कूलहरू खुले, नारी शिक्षाको शुरुवात भयो, केही उद्योगधन्दा जन्मिए, देशको स्वतन्त्र अस्तित्वले विस्तारै अन्तर्राष्ट्रिय समुदायमा प्रवेश पायो … ।
यी उपलब्धिको मूल्य वा सहउत्पादन थियो राणाहरूले खोसेर लिएको एकतन्त्रीय शासन फेरि शाहवंशमा फर्किनु । पञ्चायत कालभरी नै सात सालको ‘क्रान्ति’का ‘नायक’ नै राजा त्रिभुवन थिए भन्ने भाष्य स्थापित गराउने प्रयत्न भइरह्यो ।
तर, राजतन्त्रको चरित्रमै अन्तर्निहित आत्मकेन्द्रियता र स्वार्थका कारण त्यो भाष्य कि केवल राजतन्त्रवादीहरूको मन्त्रका रूपमा, कि भने केटाकेटीका औपचारिक स्कुले किताबमा मात्र सीमित रह्यो ।
प्रजातन्त्र दिवस मनाइरहेको बेला हामीले आफुलाई सम्झाउनुपर्ने अर्को महत्वपूर्ण कुरा हो– मान्छे स्वभावैले स्वतन्त्रताप्रेमी हुन्छ । अझ साँच्चै भन्ने हो भने ऊ त भित्रबाट स्वतन्त्र नै हुन्छ । उसको यो नैसर्गिक स्वतन्त्रतालाई बाह्य परिस्थितिले वा आफैले सृजना गरेका अवधारणाहरूले हो संकुचन गरिदिने ।
त्यो नैसर्गिक स्वतन्त्रतालाई पुनः प्राप्त गर्नु भनेको यथार्थमा ‘घर फर्कनु’ जस्तो हो । यसरी ‘घर फर्कने’ प्रयत्नमा आफूलाई बन्दी बनाउने बाह्य परिस्थिति वा बाह्य कारणमा मात्र ध्यान दिँदा आन्दोलनहरूको अविरल श्रृंखला चलिरहन्छ ।
यस्ता आन्दोलनहरूमा हत्या, हिंसा, घृणा, विध्वंश आदिले प्रवेश पाइरहन्छन् । तर, खोजेको कुरा प्राप्त नभएजस्तो, मृगमरिचिकाको पछि दौडिरहजस्तो भइ नै रहन्छ । सात सालको क्रान्तिपछि पनि कति धेरै आन्दोलन भइसकेका छन् यो देशमा ! हरेक आन्दोलनले केही न केही उपलब्धि ल्याएकै पनि छन् ।
तर, यी उपलब्धिको निम्ति जनताले, देशले तिर्नुपरेको मूल्यलाई हेर्ने हो भने र अन्तर्राष्ट्रिय जगतमा चलिरहेको विकासको दौडमा हामी कहाँ पुग्यौँ त भनेर हेर्ने हो सन्तोष मान्ने ठाउँ अझै देखिँदैन ।
मानिसको नैसर्गिक स्वतन्त्रतालाई संकुचन गराउने बाह्य परिस्थितिमा कुनै सजिलै फेरिन सक्छन्, कुनै भने त्यति सजिलै फेरिँदैनन् । हाम्रो लोकतन्त्रको यात्रामा राजतन्त्र कुनैबेला बाधक भएर बसेको थियो । त्यो पनि मानिसको नैसर्गिक स्वतन्त्रतालाई ढाक्ने एउटा बाह्य परिस्थिति मात्र थियो ।
कुनै बेला अपरिवर्तनीय र हल्लाउनै नसकिने ठानिएको त्यो बाधा पनि अहिले त हटिसकेको छ । तर त्यति ठूलो ठानिएको परिवर्तनपछि पनि जनतामा रहेको असन्तोषका साना ठूला विष्फोट भइरहेकै छन् ।
अहिलेका सत्ताधारीमा वा सत्तापेक्षी शक्तिहरूमा रहेको निकृष्ट आत्मकेन्द्रवाद र दूरदृष्टिको अभावले जन असन्तुष्टिका यस्ता विष्फोटहरुकको निम्ति परिस्थिति बनाई नै रहनेछन् ।
कामना गरौँ, कुनै बेला साँच्चै नै सकारात्मक परिवर्तनको पक्षमा उभिने आँट गरेका तर, अहिले आफ्नै कमजोरीका बन्दी भएका सत्ताधारी र सत्तापेक्षीहरू होस्मा आउनेछन् र औपचारिक नौटंकी होइन, जनताको चाहनाको सम्मानमा प्रजातन्त्र दिवसको सार्थकता खोज्न थाल्नेछन् ।