Logo
Logo

कथा : रुवाउने माया


अनिल नेपाली

504
Shares

हिउँद लागेपछि तलकोटबासीहरू पैसा र अन्नको जोहो गर्न बिहानीपख खोरबाट निस्केका कुखुराजस्तै टाढा–टाढा पुग्छन् । कोही भारत झर्छन्, कोही पोखरा र काठमाडौंसम्म आउँछन् त कोही कहिल्यै गाउँ नफर्किनेगरी टाढा पुग्छन् ।

हिउँदमा तलकोट गाउँ धौलागिरिझैँ चम्किन्छ तर त्यही बस्ने पवित्राको जिन्दगीमाथि भने सधैँ दुःखका बादल बढारिरह्यो । धन्न यसपटक ऊ याल्वाङ, सार्पुनाथ, र सर्केगाउँको उत्तरी सिमानातिर यार्सागुम्बा टिप्न चहार्नु परेन । किनकि, उसैको घरमुनीको सल्लेरी वनमा पारी बुङ्गल र थलारा गाउँ जाने बाटो बन्दै छ । पवित्रा र उसको लोग्ने हिजोआज त्यही काम गर्छन् । 

रातभरि पिएर भाले बास्ने बेला ओछ्यानमा ढलेको लोग्नेलाई उठाएर काममा लिएर हिँड्नु स्वास्नी मान्छेको निम्ति थाप्लोमा कति ठूलो बोझ बोक्नु हो । लोग्नेलाई दिनहुँ पिएर हिँड्ने बानी परेको छ । यसैपनि हिजोआज नुनेले स्वास्नीलाई देखिसक्दैन । बोल्नुपरे झर्किन्छ, फर्किन्छ, तर्किन्छ । र, पनि बिहानै घरमा चुकुल ठोकेर पवित्रा लोग्नेसँगै सडक खन्न सल्लेरी झरी । 

हातमा उम्लेको गुन्द्रुक र तातो भातको पोको छ । तर, त्योभन्दा अनेक व्यथाका तातो पोको उसले छातीमा बोकेर हिँडेकी छे । ऊ रूपकी रानी छे । मानौँ ऊ चन्द्रमाबाट फुटेकी टुक्रा हो । संसारकै सबैभन्दा ठूलो  बगैँचा केउकेनहोफको बीचको सुन्दर हिस्सा हो । मानौँ, उ स्वर्गका अप्सराहरूबाट छुट्टिएर इन्द्रलोकतर्फ जान बाटो भुलेकी अलपत्र परी हो । 

हायः तर, वर्षौदेखि मरुभूमिजस्तो बाँझो कोखले उसको सुन्दरतामा कालो मोसो दलेझैँ भएको छ । स्त्रीका बत्तीस गुणलाई एउटै दोसले छायामा पार्दछ । उसको बाँझो कोख लोग्नेको सच्चा प्रेमको निम्ति तगारो बनेको छ । किनकि, स्वास्नीको पवित्र प्रेम र सुन्दरता मात्रै लोग्नेलाई अनन्तसम्म आफ्नो बनाइराख्ने प्रेमको पूर्णताको प्रतीक बन्न सक्दैन । 

उसले धोती र चोलो लाएर पहाड फोर्दा दक्षिणबाट आएका ज्यामी ठिटाहरू भुतुक्क भएर मूलको पानीमा मुख चोपिरहन बानी परे । एउटा आलम नामको सिकुटे फोहोरी ज्यामीले उसको लोग्नेलाई घनले हानेर मारेर पवित्राको सिउँदोमा सिँदुर पोखिदिने गोप्य योजना बनायो । केटोले कसैलाई नभन्ने सर्तमा आफ्ना दौँतरी ज्यामीसँग सहयोग माग्दै एक महिनाको कमाई दुई हप्ता अघिदेखि रक्सी र मासुमा खर्च गर्‍यो । 

एकदिन त्यो फोहोरी ठिटो ढिलो काममा आयो । ऊ सिन्दूरको पोको चोर्न गाउँ छिरेको रहेछ । ठिटोले सुरुवालको खोजीमा सिन्दूरको पोको लुकाएर राख्यो र इमानदार भएर नुनेकै छेउमा घन समाएर ढुङ्गा फोर्न लाग्यो ।

ठिटोले एकपटक पवित्राको मुहारमा हेर्यो । र, नुनेलाई हेरेर दाह्रा किट्यो । उसले जोडजोडसँग ढुंगामा घन बजार्‍यो । आफूलाई सम्हाल्न सकेन । घन ढुंगाबाट उच्छिट्टीएर नुनेको टाउकोमा बजारियो । धने भुईँमा ढल्यो । पवित्रा चिच्याउँदै आई र फरर फरिया फुकाई धरर च्यातेर रुँदै लोग्नेको फुटेको टाउकोलाई बाँधी । ठिटो पवित्राको सिउँदोमा सिँदुर पोखिदिन झम्टियो । 
अरु ज्यामीले उसलाई समातेर पछारे । रक्सी र चुरोटले मक्किँदै गएको ठिटोको शरीर हल्लिन सकेन । उसले धुलोमा मुख घसार्दै पवित्रालाई हेरेर आँखाबाट बलिन्द्र आँसु खसाल्यो । र, धोद्रे स्वरमा भन्यो– ‘पवित्रा, मैं तुमसे बहुत प्यार करता हूं, तुम्हारे बिना इस दुनियाँ मैं नहीं रह सकता हुँ ।’ यति भनेर उसले त्यही प्राण ओकल्यो । 

तत्काल नुनेलाई उपचार गर्न सहर लानुपर्ने भयो । पवित्रालाले पालेकी एउटा पोथी कुखुरा र कानका मुन्द्रा छिमेकीलाई तुरुन्त बेचेर पैसा लिइ । भैँसीको पाडो फुकाएर वनतिर धपाई र लोग्नेलाई लिएर सहर हिँडी ।

पवित्राले कहिल्यै सहर देखेकी थिइन । केवल सुनेकीमात्र थिइ । एम्बुलेन्स ड्राइभरको सहयोगमा लोग्नेलाई सहर पुर्‍याइ र अस्पताल भर्ना गरी । नुनेको उपचार सुरु भयो । तुरुन्त बिरामी खातामा एक पृष्ठ औषधी लेखियो र किनेर ल्याउन भनियो । 

औषधी किन्न पवित्रा नजिकै फार्मेसी गई । त्यहाँ एकजना सुन्दर युवक औषधी मिलाउन व्यस्त थिए । पैतालामा काउकुती लागेजस्तो हिँडाइले पवित्रा तुरुन्त त्यहाँ पुगी र खाता दिँदै औषधी मागी । रगत पसिना बगाउँदै भिर पहरासँग ठोक्किन बानी परेकी ऊ पहिलोचोटी सहरमा साँघुरा पर्खाल र सडक नै छोप्ने ज्यानमारा घरहरूसँग ठोक्किन लागे झैँ अनौठो पारामा हिँड्थी । 

त्यति सुन्दर आइमाई हतास र वेचैन देखेर युवकले मृदु भावमा सोधे– तपाइँ पहिलोपटक सहर आउनुभएको हो ? अझ ठूलै बज्रपात लिएर आउनुभएजस्तो छ । मलाई भन्नुहुन्छ भने जति हतार भए पनि कान थापेर सुनौला । ओहो ! त्यो बिरानो सहरमा उसले कसैलाई चिनेकी छैन । तर, त्यो सुन्दर युवक धेरै पुरानो चिनारी भए झैँ बोलिरहेको छ । 

पवित्राले प्रेमपूर्वक भनी– मेरो सबै बज्रपात कसैलाई मन खोलेर भनेमात्र म बाँचुँला । म तपाईँलाई भन्नेछु । म फेरी आउँछु तर, अहिले म जान्छु । यति भनेर ऊ एक पोको औषधि लिएर पैतालामा काउकुती लागेझैँ तुरुन्त फर्की । 

लोग्नेलाई कुर्दै गर्दा उसले सम्झी– ‘तपाईँको बज्रपात भन्न मिल्छ म कान थापेर सुनौला, बिरानो सहरमा एउटा सुन्दर युवकले देखाएको सद्भावबाट ऊ प्रभावित भई ?’

उसले मनमनै सोची– सहरले सुन्दर र असल मान्छे लखेट्छ वा सहरको भिडले निल्छ भन्ने सुनेको थिएँ । हरे ! कागले कान लाग्यो भनेर आफ्नो कान नछामी कागको पछि दौडिने म उस्ती । त्यो सुन्दर युवक को होला ? 

पवित्रा नियमित औषधि किन्न त्यहीँ जान थाली । उसले मन खोलेर सबै कुरा डा. पल्लवसँग भनी । पल्लवले पनि दिल खोलेर सुने । 

डा. पल्लव र पवित्रा असल साथी भए । अब पवित्रालाई बिरानो सहर रमाइलो र परिचित लाग्न थाल्यो । सहरको भिडका एकएक मानिसहरू चिनेजस्तो लाग्यो । ज्यानमारा घरहरूको काखमा बालापन बितेजस्तो रमाइलो लाग्न थाल्यो । 

लोग्नेलाई बिरामी बेडमा सधैँ एक्लै कुरेर बस्नुपर्दा ऊ दिक्क मानेर भन्थी, एकछिन म घुमेर आउँछु । ऊ डा. पल्लवलाई भेट्न जान्थी । पल्लवले पवित्रालाई सहर घुमाइदिए, मिठो मिठो खानेकुरा खुवाए । चिडियाघर, भाटभटेनी, धरहरा र पशुपति सबै घुमाइदिए । यो कुरा अस्पतालको ढलिरहेको नुनेको कानमा पुगिहाल्यो । उपचारमा खटिने डाक्टरहरूको छातीमा टाउको राखेर नुने केटाकेटी झैँ क्वाँ–क्वाँ रुन थाल्यो । डाक्टरहरू पनि नुनेसँगै रोए । नुनेले भन्यो–
आज माया पर–पर बन्छे
मायाले पेट भरिँदैन भन्छे 
माली गाईलाई वनमा घाँस छैन 
मलाई रुवाउने मायाले, मलाई हँसाउला भन्ने त
कति नि आस छैन । 

नुने निको भयो । नुने र पवित्रा गाउँ फर्किने तयारीमा जुटे । उता पवित्रा र पल्लवलाई छुट्टिन गाह्रो भयो । बसपार्कमा गाडीको पछाडिपट्टि लुकेर दुवै जना सँगै रोए । अनि एक–अर्काका आँसु पुछिदिएर रुँदै छुट्टिए । 

गाउँ फर्केपछि पवित्रा पल्लवको सम्झनामा पागल हुँदै गई । ऊ झस्किने, तर्सिने, नखाने, नसुन्ने, नसुत्ने, हातमा काम नलिने, कपाल नर्कोर्ने, मध्यान्हमा मुख धुने, रुनुपर्दा हाँस्ने, हाँस्नुपर्दा रुने भई । 

सहर छेकिने क्षितिजतिर हेरेर टोलाइरहने भई । दिनदिन ऊ थला पर्दै गई । उता नुनेले स्वास्नीसँग बदला लिएरै छोड्ने योजना बनायो । अस्पतालमा जीवन–मृत्युसँग लडिरहँदा बारम्बार एक्लै छोडेर पल्लवसँग घुम्न गएको ईखले नुने स्वास्नीप्रति क्रूर र निर्दयी हुँदै गयो । 

नुने पल्लो गाउँकी मिश्रीलाई घर भित्र्याउन पागल भएर लाग्यो । ऊ एक वर्ष अघिदेखि मिश्रीको पछि लागेको थियो । 

नुनेले मनमनै सोच्यो– ‘अब पवित्रा मर्छे, अवश्य मर्छे । शोक नभएको मानिस चित्ताबाट पनि उठ्न सक्छ । तर, चित्तामा सजिलै पुग्नेहरू अधिकांश शोक हुनेहरू हुन्छन् । अब पवित्रा बाँच्दिन । 

उसको मरेको शरीर यस घरबाट निकाल्नुपर्‍यो भने मैले कति ठूलो झन्झट व्यहोर्नुपर्छ ? सनातन हिन्दु धर्ममा मानिसको अन्त्य पद्धति कति कष्टकर छ । यो पाञ्चभौतिक शरीरको आत्मा अजर अमर भएकाले मृत्युपश्चात् आत्मा प्रेतको रूप लिई जान्छ र प्रेतत्व विमुक्तिको लागि गर्नुपर्ने कृत कर्म कति खर्चिलो हुन्छ ? प्रेम बदल्ने पापीनीको निम्ति यत्रो पुण्य गर्न सक्दिनँ म । 

बरु त्यसको मृत्युको कर्मकाण्डीमा लाग्ने खर्च मेरी मिश्रीलाई श्रृङ्गारेर भित्र्याउन खर्च गर्छु । त्यसलाई ज्युँदै लखेट्नुपर्छ । त्यसको महत्ताहीन शरीरमा पाप बनेर अड्केको प्राणलाई तल्कोटीगाड र उरइ भन्ज्याङ कटाउनुपर्छ ।’

 फटाफट यति सोचेर ऊ मिश्रीलाई भेट्न हल्लिँदै पल्लो गाउँतिर हिँड्यो । 

अब स–साना कुरामा नुने र पवित्राको झगडाले त्यस घरमा अशान्ति हुँदै गयो । नुने र मिश्री वनमा, भिरमा, घरमा, पँधेरो, चौतारी, जताततै भेटिन थाले । 

यतिसम्म  चन्द्रेले पनि अर्कै गाउँकी मिश्रीलाई घर भित्र्याउँछ । लोग्नेले कान्छी श्रीमती ल्याएपछि पवित्राले कहिल्यै गाउँ नफर्किने गरी घर छोडेर डा. पल्लवसँग बिहे गरी घरजम गर्ने सपना बोकेर सहर जान्छे ।

उता डा. पल्लव पवित्राले धोका दिएको भन्दै भर्खरै मात्र कहिल्यै देश नफर्किने गरी विदेश जान्छन्। विमानस्थलमा पल्लवसँग भेट नहुँदा पवित्रा त्यहीँ मुर्छा परेर ढल्छे। होसमा आउँदा ऊ देवघाटमा भक्तजनसँग हाँसेर जीवन बिताइरहेकी हुन्छे । हिजोआज ऊ रुवाउने मायाबाट मुक्त भएर ईश्वरको मायाले हाँस्न सिकेकी छ ।

प्रतिक्रिया दिनुहोस्