सामाजिक सञ्जाल मान्छेको अर्को परिचय बनेको छ । जो बिना मान्छेलाई बाच्नै मुस्किल छ ! दुःखसुख बाँड्ने चौतारी बनेको छ । मान्छेको मूल्याङ्कन यही हुन्छ । उसको शक्ति र सफलताको मापन पनि यसैमा गरिन्छ ।
कसैलाई आफ्नो परिचय दिइरहनु जरुरी छैन । आफ्नो नाम, थर, अनुहार, ठेगाना केही खुलाउनु पर्दैन । किनकि, ऊ डिजिटल युगको मान्छे हो । उसको तीन पुस्ते यसैमा भेटिन्छ ।
सामाजिक सञ्जाल आफैँमा खराब पटक्कै होइन । तर, उपयोग गर्न नजान्दा यसले गम्भीर समस्या निम्त्याइरहेको छ । धेरैलाई यसको कुलत लागेको छ । झट्ट खोल्दा काण्डै काण्ड देखिन्छ । कसको बुढी पोइला हिँड्यो ? कसले कसलाई कुट्यो ? सबै छरपस्ट हुन्छ । नेताका ‘कृष्ण लिला’ पनि यसैमा भाइरल बन्छ ।
सामाजिक सञ्जालमा जताततै पीडितै पीडित छन् । कोही बुढीपीडित । कोही बुढापीडित । कोही प्रेमीपीडित । कोही प्रेमिकापीडित । नेपाल पहिला हिमालै हिमालको देश भनेर चिनिन्थ्यो । अहिले पीडितै पीडितको देश भएको छ ! सामाजिक सञ्जालमा हेर्दा त्यस्तै भान हुन्छ ।
हामी अर्काको पीडामा रमाइरहेका छौँ । यो, आधुनिकतासँगै आएको उपज हो । अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणा र द्वेष फैलाइरहेका छौँ । कसैलाई देवत्व र कसैलाई दानवीकरण गरिरहेका छौँ । कसैको उछित्तो काढिरहेका छौँ । डिजिटल कुलतमा फेसका छौँ ।
फेरि चासो पनि यसैमा छ । ‘असामाजिक’ सामाग्रीलाई नै धेरैले सेयर गर्ने गरेका छन् । त्यसैलाई लाइक गर्छन् । कमेन्ट गर्छन् । भ्युज बढाउँछन् । रमाइलो मान्छन् । सबैले लाइक, सेयर र कमेन्ट गरेपछि सामाजिक सञ्जाल खोल्नसाथ तीनै काण्ड दोहोर्याएर, तेहेर्याएर आउँछन् ।
जसलाई जे मन लाग्छ, त्यही पोस्ट गर्छन् । लाज सरम छैन । कसले कसलाई कुट्यो ? कसले कसलाई काट्यो ? कसले कसलाई चिथोर्यो ? सबै त्यसैमा आउँछ । पक्ष र विपक्षमा बेतुकको बहस चल्छ । कसैले थर्काउँछन् । कसैले पड्काउँछन् । कहिले रुन्छन् । कहिले हाँस्छन् । रमिता देखाउँछन् । नाटक र नौटङ्की चल्छ । ‘बिजोग रमाइलो’ हुन्छ ।
विचित्र छ, सामाजिक सञ्जाल । यहाँ पीडित मात्रै भेटिँदैनन् । भगवान् भेटिन्छन् । राक्षस भेटिन्छन् । नेता भेटिन्छन् । वकिल भेटिन्छन् । न्यायाधीश भेटिन्छन् । डाक्टर भेटिन्छन् । पत्रकार भेटिन्छन् । सबै भेटिन्छन् । नभेटिने भनेको त सामाजिक प्राणी मात्र हो ।
अहिले सामाजिक सञ्जालमा पवन खतिवडा र उनकी श्रीमती सुम्निमा खालिङले तताएका छन् । उनीहरूको झगडा दुनियाँको रमिता बनेको छ । केही युट्युबरलाई डलर झार्ने बाटो बनेको छ । केही कथित अभियन्ताले ‘इस्यू’ पाएका छन् । सामाजिक प्रयोगकर्ताले ‘इन्टरटेनमेन्ट’ ।
पवन–सुम्निमाको झगडा धेरैले रमाइलो मानेका छन् । एकले अर्कालाई गाली गरेको ‘पचलाइन’ खोजीखोजी सेयर गरिरहेका छन् । उनीहरू पनि एक अर्कोको खुइल्याउन लागिपरेका छन् । दुनियाँ हँसाइरहेका छन् । उनीहरूबारे पक्ष र विपक्षमा बहस चलिरहेको छ । यता कृष्ण कँडेलको काण्ड पनि सेलाएको छैन ।
यो त केही उदाहरण मात्रै हो । यस्ता काण्डले बेलाबेला सामाजिक सञ्जाल तताउने गरेको छ । यस्ता विषय भाइरल हुनुमा उनीहरूको मात्रै दोष छैन । यसको पछाडि हाम्रै समाज दौडिरहेको छ । डलर कमाउनका लागि जे पनि गर्ने केही यूटयूबर छन् । उनीहरूलाई अवसर मिलेको छ । यस्ता विषय जति बाहिर आउँछन् । उति खुसी हुन्छन् । खोजीखोजी भाइरल बनाउँछन् ।
कसको बुढी कसले लग्यो ? यो विषय यूट्युबरको सबैभन्दा महत्त्वपूर्ण विषय बन्ने गरेको छ ! विदेश गएका दुई–चार युवाको श्रीमती पोइला गए उनीहरू मालामाल हुन्छन् ! हाम्रो समाजले युट्युवरहरूलाई नै पत्रकार ठान्छन् ।
असामाजिक कुराले कुनै पत्रकारले तीन÷चार महिना लगाएर गरेको अनुसन्धानमुलक रिपोर्टिङ भन्दा धेरै भ्युज पाउँछन् । डलर राम्रो झर्छ । सबैले उनलाई पत्रकार भनेर चिन्छन् । त्योभन्दा अरू के चाहियो र ? त्यसैले त मुख मुखमा ‘बुम’ कोच्न तल्लीन छन्, युट्युबर । ‘पत्रकार हुँ’ भन्दै धम्काउँछन् । न्यायाधीश बन्छन् । मिडिया भन्दै न्यायलयको रबाफ देखाउँछन् । तर, उनीहरू मिडियाकर्मी÷पत्रकार होइनन् । युट्युबर मात्र हुन् । जसको खेती समाजमा योगदान दिनेभन्दा पनि बढी समाजको मथिंगल खल्बल्याउने हुने गरेको छ ।
सामाजिक सञ्जाललाई हामी यति छिटो विश्वास गर्छौँ । जसले जे पनि पत्याइहाल्छौँ । चारको फोटो राखेर कमेन्टमा ‘गो’ लेख्नुहोस् आफै उडेर भन्दा ‘गो’ लेख्न हतारिन्छौँ । फोटोको चार उडाउँदैनन् भन्ने थाहा हुँदाहुँदै पनि अविश्वास गर्न सक्दैन । ‘गो’ लेख्छौँ । ‘बुम’ तेर्साएर पत्रकार हुँ भन्दा नपत्याउने कुरै भएन ।
हामी अर्काको पीडामा रमाइरहेका छौँ । यो, आधुनिकतासँगै आएको त्यसैका उपज हो । यसलाई बन्देज लगाउनु पनि उपयुक्त विकल्प होइन । प्रयोग गर्नुपर्छ । तर, प्रयोग गर्ने तरिका जान्नुपर्छ ।
अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणा र द्वेष फैलाउने जमात ठूलो छ । स्वतन्त्रता भनेको गालीगलौज गर्नु पटक्कै होइन । जे मन लाग्यो त्यही बोल्नु हुँदै होइन । कसैलाई देवत्व र कसैलाई दानवीकरण गर्नु होइन । तर, हामी यही गरिरहेका छौँ । कसैलाई भाइरल बनाइरहेका छौँ । कसैको उछित्तो काढिरहेका छौँ । डिजिटल कुलतमा फेसका छौँ । अतिवादको सिकार भएका छौँ ।
कसैको मृत्युको विदारक तस्बिर राखेर कमेन्ट र लाइक गन्दै बस्नु कति जायज होला ? कसैको मलामी जाँदा लास जलाउँदै गरेको तस्बिर राखेर श्रद्धाञ्जली दिनुले मृतकप्रति श्रद्धाञ्जली हुन्छ ? घरपरिवारमा संवेदना हुन्छ कि झन् पिडा थपिन्छ ? सामाजिक सञ्जाल चलाउन जान्ने हामीमा सामाजिक प्राणीको संवेदनशीलता कहाँ हरायो ?
यस्ता समस्या समाधानका लागि के गर्ने ? समाजमा त्यस्ता विकृति भित्रिन कसरी रोक्ने ? झगडालाई किन प्रोत्साहन गरिरहेका छौँ ? त्यस्ता विकृति सभ्य समाज बनाउने हाम्रो जिम्मेवारी होइन र ? पच्नै नसक्ने खालका गतिविधिलाई किन बढवा दिइरहेका छौँ ? यस्ता प्रश्नको उत्तर खोज्न र मनन गर्न जरुरी छ ।
यसका साथै राज्य तहबाट पनि निगरानी गर्नुपर्छ । सकारात्मक कार्यक्रम सञ्चालन गर्नुपर्छ । समस्या आइसकेपछि समाधानका बाटो खोज्नैपर्छ । हामीले सभ्य र शिष्ट तवरले प्रविधिको उपयोग मात्र सूचना प्रविधिको युगको सारभूत अर्थ रहन्छ । समाजलाई बिस्तारै सुसंस्कृत र सभ्यता तर्फ डोर्याउन सकिन्छ ।
अनावश्यक भाइरल आतङ्क बन्द गर्न हरेक नागरिकको उत्तिकै दायित्व हो । यस्ता हर्कत समयमै निरुत्साहित गर्न सकेनौं भने हाम्रो समाजमा एक दिन भयानक विस्फोटन हुने खतरा छ । यसका लागि सबै जिम्मेवार बन्नै पर्छ । सामाजिक सञ्जाललाई समाज जोड्ने बनाऔँ, तोड्ने होइन । ०००