काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा फागुन २४ गतेदेखि काठमाडौँमा चेम्बर एक्सपो २०२४ आयोजना हुने भएको छ । चेम्बरले आइतबार पत्रकार सम्मेलन गर्दै सातौँ चरणको चेम्बर एक्सपो फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने जनाएको हो ।
स्थानीय उत्पादन प्रवर्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । एक्सपोले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने उनले बताए ।
प्रदर्शनीमा हस्तकलाका वस्तु, घरजग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारीसाधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री रहने र स्थानीय उत्पादनका केहि स्टललाई निःशुल्क गरिएको अध्यक्ष मल्लले बताए ।
एक्सपोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।