काठमाडौं । केन्द्रमा कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै प्रदेश सरकारको पनि समीकरण परिवर्तन हुने भएको छ । केन्द्रमा माओवादी, एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनिसकेको छ ।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारका नेतृत्व हेरफेर हुने विषय सामान्य नै भएको छ । कुन–कुन प्रदेशसभामा पार्टीहरुको अंक गणित कस्तो छ ? र, नयाँ सत्ता समीकरणले कुन–कुन प्रदेशमा कस्तो असर पर्छ ?
कोशी प्रदेश
केन्द्रीय सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै नेपाली कांग्रेसका मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार धरासायी बनेको छ । कार्की गठबन्धनका दलहरूको विरूद्धमा गएर एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा भएको सत्ता गठबन्धन परिवर्तनसँगै कोशी प्रदेशमा मुख्यमन्त्री फेरिने निश्चत छ । नेकपा एमालेले त मुख्यमन्त्रीको राजीनामा नै माग गरिसकेको छ ।
कुन पार्टीको कति सिट ?
नेकपा एमालेः ४०
नेपाली कांग्रेसः २९
माओवादी केन्द्रः १३
एकीकृत समाजवादीः ४
राष्ट्रिय प्रजातन्त्र पार्टीः ६
जनता समाजवादी पार्टीः १
९३ सदस्यीय कोशी प्रदेशसभा सरकार गठनको लागि ४७ सिट आवश्यक पर्छ । यहाँ एमाले र माओवादीको मात्रै पनि सरकार बन्ने देखिँदा कांग्रेस नेतृत्वको सरकार ढल्ने पक्का छ ।
मधेश प्रदेश
१०७ सदस्यीय मधेश प्रदेशमा भने ठूला दल भन्दा पनि मधेशी दलहरुमै भर पर्ने देखिन्छ । यहाँ एमले र माओवादीले मात्रै सरकार बनाउ सम्भव छैन । अहिले यहाँ जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार छ । केन्द्रमा नयाँ गठबन्धनमा आफ्नो हिस्सा लिन जसपाका अध्यक्ष उपेन्द्र यादव तयार भइसकेका छन् ।
तर, सीके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेश सरकारको नेतृत्व पाए मात्रै केन्द्र सरकारमा सहभागी हुने माग राखेको छ । त्यसैले कसको नेतृत्वमा मधेशको नयाँ सरकार बन्ने भन्ने अन्योल कायमै छ ।
कुन पार्टीको कति सिट ?
नेकपा एमालेः २३
नेपाली कांग्रेसः २२
जसपाः १६
जनमतः १३
लोसपाः ९
माअोवादीः ८
बागमती प्रदेश
बागमती प्रदेशको मुख्यमन्त्री माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल छन् । सत्ता गठबन्धनको परिवर्तनसँगै बागमतीमा माओवादी नेतृत्वको सरकार टिक्छ वा टिक्दैन अन्योल छ ।
कुन पार्टीको कति सिट ?
नेपाली कांग्रेसः ३७
नेकपा एमालेः २७
माओवादी केन्द्रः २१
राप्रपाः १३
एकीकृत समाजवादीः ७
११० सदस्सीय बागमतीमा सरकार बनाउनका लागि ५६ सिट चाहिन्छ । बागमतीमा पनि दुई पार्टी माओवादी र एमालेले मात्रै सरकार बनाउन सम्भव छैन । दुवै पार्टीको सिट जोड्दा ४८ मत छ ।
गण्डकी प्रदेश
गण्डकीमा अहिले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ । पाण्डे नेतृत्वको सरकार पनि ढल्ने पक्का छ । तर, यहाँ एमाले र माओवादीले मात्रै सरकार बनाउन पनि सम्भव छैन । राप्रपालाई पनि सँगै लानुपर्ने हुन्छ ।
कुन पार्टीको कति सिट ?
नेपाली कांग्रेसः २७
नेकपा एमालेः २२
माओवादीः ८
राप्रपाः २
एकीकृत समाजवादीः १
६० सदस्यीय गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ । यहाँ माओवादीका एक सांसद सभामुख बनेकाले एमाले–माओवादीको गठबन्धनले मात्रै सरकार बनाउन अप्ठेरो स्थिति देखिन्छ ।
लुम्बिनी प्रदेश
लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । तर, अब मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार पनि धरासायी बनेको छ । ८७ सिट भएको लुम्बिनी प्रदेशमा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ । कांग्रेसको २७ सिट मात्रै भएकाले उसले आफ्नो सत्ता टिकाइराख्ने सम्भावना छैन ।
कुन पार्टीको कति सिट ?
नेकपा एमालेः २९
नेपाली कांग्रेसः २७
माओवादीः ९
जनमत पार्टीः ३
उन्मुक्ति पार्टीः ४
जसपाः ३
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा एमाले र माओवादीको सहजै सरकार बन्ने देखिन्छ । कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । एमाले र माओवादीको संख्या जोड्दा २३ हुने भएकाले कर्णालीमा सरकार बनाउन सहज छ ।
कुन पार्टीको कति सिट ?
नेपाली कांग्रेसः १४
माओवादीः १३
एमालेः १०
एकीकृत समाजवादीः १
राप्रपाः १
स्वतन्त्रः १
अहिले माओवादीकै राजकुमार शर्मा मुख्यमन्त्री भएकाले उनकै नेतृत्व हुन्छ कि एमालेले नेतृत्व गर्छ भन्ने केन्द्रको गठबन्धनको लेनदेनमा भर पर्छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकार पनि ढल्ले निश्चित छ । अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । तर, कांग्रेसलाई नागरिक उन्मुक्ति र समाजवादीको साथ भयो भने सरकार टिक्ने सम्भावना पनि छ । तर, अहिले नागरिक उन्मुक्ति केन्द्र सरकारमा सहभागी हुन बार्गेनिङ गरिरहेको छ । उसले सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार हुनुपर्ने माग राखेको छ ।
कुन पार्टीको कति सिट ?
नेपाली कांग्रेसः १९
माओवादीः ११
नेकपा एमालेः १०
एकीकृत समाजवादीः ४
नागरिक उन्मुक्तिः ७
स्वतन्त्रः १
राप्रपाः १
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ । तर, यहाँ एमाले र माओवादीले मात्रै सरकार बनाउन असम्भव छ । कांग्रेसको एक सांसदको निधन भएकाले हाल प्रदेशसभामा ५२ जना मात्रै छन् ।