काठमाडौं, ११ चैत । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सकलगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ ।
अस्पतालले मंगलबार विज्ञप्ती जारी गर्दै कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई ध्यानमा राखी काममा आउने कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र लगाउन निर्देशन दिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’ गरिसकेको अवस्थामा अस्पतालमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु पर्ने बताए ।
उनले भने, ‘लकडाउनको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको परिचयपत्रमात्र लगाउनुपर्ने भएपनि प्रशासनसँग त्रिवि शिक्षण अस्पतालले समन्वय गरेकाले आफ्नो अस्पतालको परिचयपत्र अनिवार्य लगाउन म सबैमा अनुरोध गर्दछु । सरकारले कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखी मंगलबारदेखि आगामी १८ चैत साँझ ६ बजेसम्म देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।