काठमाडौं, ११ चैत । देउराली जनता फर्मास्यूटिकल्सले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले देशमा कोरोनाको उपचारको लागि उद्योगले उत्पादन गर्दै आएको हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट कोरोनाको उपचारका लागि प्रयोग हुने भएकाले औषधि निःशुल्क दिन बताएका हुन् ।
उनले देशमा महामारी आइसकेको बताउँदै सरकारलाई कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने औषधि कम्पनी दिन तयार रहेको बताए । उनले औषधि उत्पादनका क्षेत्रमा परिचित उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालीले विगत ३० बर्षदेखि उत्पादन गर्दै आएको औषधि कोरोना भाइरस (कोभिड–१९)को उपचारका लागि उपयोगी ठहरिएको उनको भनाइ छ ।
हालै स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरुले जारी गरेका अध्ययन प्रकाशनहरुमा कोरोनाको उपचारका लागि हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट, ब्राण्ड–हाइक्विन २०० ट्याब्लेट नामक औषधि कोरोनाको उपचारका लागि उपयोगी हुने कुरा प्रकाशित भएका छन् ।
कम्पनीको ३ सय ५ थरीका औषधी बजारमा छ । कम्पनीले मुटु रोग, नशासम्बन्धी रोग, मधुमेह, चर्म रोग, पेट रोग लगायत नेपालमा देखापर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधीको उत्पादन गरिरहेको छ ।
अत्याधुनिक उपकरणबाट कच्चा पदार्थहरु, कम्पनीबाट उत्पादित औषधिकहरुको गुणस्तर परीक्षण गर्ने र अन्य अत्यावश्यक औषधिहरुको विकास तथा अनुसन्धानको काम समेत कम्पनीले गर्दै आएको छ ।