सुर्खेत, १३ चैत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो ।
संक्रामक रोग ऐन, २०२० जारी भएपछि पहिलोपटक कार्यान्वयनमा आएको ‘लकडाउन’बारे नागरिक अनभिज्ञ हुँदा पहिलो दिन मंगलबार प्रहरी प्रशासनलाई स्थितिलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो । नागरिक अनावश्यक हिँडडुल गर्न, जमघट हुन थालेपछि चार जनालाई नियन्त्रणमा लिन प्रहरी बाध्य भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिल्लीराज पन्तले पहिलो दिन केही सवारी साधन नियन्त्रणमा लिएपछि दोस्रो दिन सामान्य अवस्था रहेको बताए । ‘अटेर गरेर लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्नुपरेको छ’, उनले भने, ‘पहिलो दिनको भन्दा दोस्रो दिन सहज भयो, लकडाउनबारे सर्वसाधारणले नबुझेर पनि समस्या देखिएको हो ।’ प्रहरीले माइकिङ गर्दै अत्यावश्क कामबाहेक घरबाहिर ननिस्कन अपिल गर्दै आएको छ ।
‘लकडाउन’ मा अत्यावश्कीय केही पसलबाहेक अरु सबै बन्द छन् । सरकारले खाद्यान्न, तरकारी, चियापसल खुला राख्न आग्रह गरे पनि वीरेन्द्रनगरमा त्यस्ता अधिकांश पसल बन्द छन् । खुद्रा–खाद्यान्न, तरकारी तथा फलफूल पसल बन्द हुँदा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी बढ्न सक्ने उपभोक्ता अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
उपभोक्ता अधिकारकर्मी आकाशतारा बयकले सुरक्षित भएर अत्यावश्कीय खाद्यान्न, तरकारी, फलफूल पसल खुला गर्न व्यवसायीलाई प्रहरी प्रशासनले आग्रह गर्नुपर्ने बताए । उनले भने, ‘लकडाउनका नाममा प्रहरीले नै त्रास फैलाएमा कालोबजारी झन् मौलाउँछ, यस्तो अवस्थामा सुरक्षित उपाय अपनाएर व्यवसायीलाई सरसामान बिक्री गर्नुस् भनेर आग्रह गर्ने हो ।’
राउटे बस्ती पनि लकडाउन
नेपालमा कोरोना भाइरसका संक्रमण देखिएपछि राउटे बस्तीमा पनि ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–२ सत्तरी छिन्चुखोला किनारमा अवस्थित राउटे बस्तीमा अन्य मानिसलाई प्रवेश निषेध गरिएको छ । जंगलमा फिरन्ते जीवनयापन गर्दै आएको यो समुदाय हालै छिन्चुखोला किनारमा सरेको हो ।
नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि राउटेलाई पनि बस्ती बाहिर आउन नदिने र गैरराउटे समुदायका व्यक्तिलाई उक्त बस्ती प्रवेश गर्न नदिन कडाइ गरिएको बताए । उनका अनुसार मुखियाको नीति निर्देशनमा चल्ने राउटे समुदायलाई नगरपालिकाका कर्मचारीले लकडाउनबारे सम्झाइ–बुझाइ गरिरहेका छन् ।
नगरपालिकाले राउटे समुदायमा साबुनपानीले हात धुन सिकाउन स्वास्थ्यकर्मी खटाएको छ । वर्षमा एकपटक मात्रै नुहाउने, खुला दिसा–पिसाब गर्ने, सरसफाइमा ध्यान नदिने राउटे समुदायमा सङ्क्रमणको जोखिम हुनसक्ने हुँदा सतर्कता अपनाइएको हो ।
‘राउटे समुदाय सङ्क्रमित भएमा अन्य समुदायलाई तत्काल सर्न सक्ने खतरा छ, राउटेहरु खानेकुराको जोहो गर्न, आफूले बनाएका काठका भाँडा बिक्री गर्न गाउँ–शहर पस्ने गर्दछन्’, नगरप्रमुख चन्दले भने, ‘खाद्यान्नका लागि गाउँशहर डुल्नुपर्ने अवस्था अन्त्य गर्न नगरले सहयोग गर्दैछ, प्रदेश सरकारसँग पनि आग्रह गरेका छौँ ।’ फिरन्ते जाति भएकाले राउटेहरु त्रिपालमुनि बस्छन् । शौचालय प्रयोग गर्दैनन् । अति लोपोन्मुख आदिवासीमा पर्ने यस समुदायको जनसंख्या १५० मात्र छ ।