काठमाडौं । सशस्त्र प्रहरीमा अवकाशको कम्तीमा १ वर्ष अघि कुनैपनि कमान्ड नदिने नीति छ । तर, त्यही नीति विपरित केही पहुंचवालाले कमान्ड पाउन थालेका छन् । सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले पनि उनीहरूलाई रोक्न सकेका छैनन् । पहँुच लगाएर कमाण्ड गर्न जाँदा उनीहरूले बाहिनी र गण कमाइखाने भाँडो बनाएका छन् । डिआइजी अभि खत्री पनि कमाण्डर रही रहेको अवस्थामा त्यही नीति एसपीहरूलाई पनि लागु भएको छ ।
हालै एसपीको सरुवामा दार्चुलामा राशनकान्ड मच्चाएका एसपी त्रिभुवन विष्ट काभ्रे गण जान सफल भएका छन् । उनी घर जान ६ महिना मात्र बाँकी छ । ‘यस्तो व्यक्तिले कमान्ड पाएपछि के गर्छ आफैं बुझ्नुस्’, सशस्त्र प्रहरी मुख्यालय हलचोक श्रोतले भन्यो । काभ्रेको कमान्ड पाएपछि उनको नजर अहिले क्रसर र राशनमा रहेको छ । रातीको डिउटी भएकाले सशस्त्रले पनि त्यहाँ क्रसर उद्योगमा आँखा लगाएको छ । काभ्रेका क्रसर उद्योगमा नेपाल प्रहरीको मात्र होइन, सशस्त्र प्रहरीको पनि आँखा लाग्ने गरेको छ ।
विष्टले कमाण्ड सम्हालेको एक महिनामै क्रसर उद्योगीहरूले सशस्त्रलाई पनि बुझाउनुपर्ने भन्दै आश्चर्य व्यक्त गरेका छन् । तिनै विष्ट हुन, जसले दार्चुलामा एक प्रहरीको जागिर नै खाइदिएका थिए ।
राशन घोटलाको समाचार दिएको रिसमा उनले हतियार चोरी गरेको झूठो आरोपमा जागिर खाइदिएका थिए । पछि गृहमन्त्रालयको आदेशमा जोडिएको थियो ।
त्यतिमात्र होइन, गणनै दोहो¥याएर एसपी पूर्ण साउदले नीति नियम टोकरीमा फालेका छन् । सिनामंगल गणबाट सरुवा हुनु नपर्ने भाग्यमानी हुन् उनी । यता कहिल्यै फिल्डमा खट्नु नपर्ने र हेडक्वाटरको वरिपरि घुम्ने कार्यदल गण यसपाली उत्कृष्ट भयो । गण उत्कृष्ट हुनुनै आश्चर्य भएको हलचोकमा अझै चर्चा हुने गरेको छ ।
गणपति एसपी समिक महर्जन कसैलाई नगन्ने र फौजी आचरणसमेत नभएका अधिकृत हुन् । ‘त्यस्ता व्यक्तिले कुन आधारमा काम गरेका छन् भन्ने थाहा छ’ हलचोक श्रोत भन्छ । जबकी, रातदिन फिल्डमा खटिने गणको मुल्यांकन नै नभएको बताइन्छ ।
यता, राजश्व उठाउन नसके र नाकामा कडाइ गर्न नसके संगठन छोड्न महानिरीक्षक राजु अर्यालले पटक पटक निर्देशन दिएका छन् । वरिष्ठ अधिकृतहरूको सम्मेलनमा उनले यस्तो बताएका हुन् । सशस्त्रको नीति निर्माणको बहस भइरहेको बेला आइजीपी अर्यालले यस्तो निर्देशन दिएका हुन् ।