Logo
Logo

प्रचण्डका आवश्यकता र औचित्य सकिँदै


5.8k
Shares



फागुन ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षमै तीनपटक संसद्मा विश्वासको मत लिँदै गर्दा सत्तापक्ष र प्रतिपक्ष दलबीच एकले अर्कोलाई धोका दिएको विषयमा निकै घोचपेच भयो ।

राजनीतिक दलका शीर्ष नेताहरूको मुखबाट जे–जस्ता घोचपेचका शब्द निस्किए, त्यो अशोभनीय थिएन । अझ प्रधानमन्त्री प्रचण्डले त ‘एमाले–कांग्रेस मिलेर सरकार चलाए भइहाल्यो नि, मलाई मिलेर मार्न खोजेकै हुन्, म डराउँछु भन्ने नठान्नु होला’ भनेर धम्की दिए । यसो भन्दै गर्दा ३२ सिटे प्रधानमन्त्री प्रचण्डले आफू कुन जगमा उभिएर यस्तो धम्की दिइरहेका छन् भन्ने कुरालाई बिर्सिए ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा उनी एमालेको जगमा उभिएका थिए । त्यसपछि २०७९ फागुन १३ गते उनीले एमालेलाई धोका दिएर कांग्रेसको जगमा उभिए । अहिले फागुन २१ गते फेरि कांग्रेसलाई धोका दिएर उनी एमालेको जगमा उभिन पुगे ।

प्रधानमन्त्री बनेको डेढ वर्ष बित्दा नबित्दै धोकाको राजनीतिबाट अगाडि बढेका प्रचण्डले तीन–तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु भनेको सबैको विश्वास गुमाउनु पनि हो । अब चौथोपटक विश्वासको मत लिनुपर्दा उनलाई कसले साथ देलान् ? उनले सदनमा घुर्क्याए जस्तै कांग्रेस र एमाले मिले भने उनको आवश्यकता र औचित्य समाप्त हुने छ । त्यतिबेला रुदै फेरि कोसँग भोट माग्न जाने ?

प्रचण्डले घुर्क्याएजस्तै कांग्रेस–एमाले मिले भने उनको आवश्यकता र औचित्य सकिने छ । त्यतिबेला रुँदै फेरि कोसँग भोट माग्न जाने ? तेस्रोपटक विश्वासको मत लिँदा उनी थप निरीह र कमजोर बनेका छन् । अब उनले आफैँ धोका खानुबाहेक उनीसँग अर्को विकल्प छैन ।

२०७९ सालमा ओली प्रतिगमनविरुद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेरै निर्वाचनमा गए । निर्वाचनमा यी दलका नेताहरूले मिलेरै सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाए । पाँच राजनीतिक दलको गठबन्धनले बहुमत पनि ल्यायो ।

पाँचै वर्ष आलोपालो सरकार चलाउने सहमति पनि भयो । त्यो सहमति एउटा उद्देश्यका लागि थियो । सुरुमा शेरबहादुर देउवाले गल्ती गरे पनि दोस्रोपटक उनले आफ्नो गल्ती सच्याए । राजनीतिमा कहिलेकाहीँ यस्तो उतारचढाव आउने गर्छ ।

तर, पुरानै कुरालाई लिएर निहुँ खोज्नु अनैतिक कुरा हुन जान्छ । जुन अनैतिकता गत साता विश्वासको मत लिँदा प्रचण्डले पोखे । यसले सहयात्री दलहरूलाई झस्काएको छ । तेस्रोपटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्ड थप निरीह र कमजोर बनेका छन् । अब उनले आफैँ धोका खानुबाहेक उनीसँग अर्को विकल्प छैन ।

प्रचण्डले सदनमा भनेजस्तै माओवादी पार्टीको सहकार्यले नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको हो कि कांग्रेससँगको सहकार्यले माओवादीले आफ्नो अस्तित्व जोगाएको हो भन्ने कुरा अबको निर्वाचन परिणामले प्रस्ट पार्ने छ ।

तेस्रो दल भए पनि पहिलो र दोस्रो दलका नेताहरूलाई उल्लु बनाएर प्रधानमन्त्री पद पड्काउने प्रचण्ड भाग्यमानी मात्र नभई चतुर खेलाडी पनि हुन् । कांग्रेस र एमाले दुवैले उनीबाट धोका खाइसकेका छन् । कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भनेझैँ माओवादीबाट धोका खाएका राजनीतिक दलहरू मिले भने प्रचण्डको हालत के होला ?

हुन पनि कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् । मिसन ८४ मा पनि यी दुई दलबीच नै प्रतिस्पर्धा हुनेछ । माओवादी कसैको पनि प्रतिस्पर्धी होइन । आगामी निर्वाचनमा माओवादी साढेको जुधाई बाछाको मिचाइमा पर्ने भएकोले आगामी निर्वाचनमा वाम गठबन्धन गरेर जाने उसको दाउ हो । वाम पार्टीहरू फुट्दाको परिणाम पनि एमालेले भोगिसकेको छ ।

त्यसैले उसले अब त्यो गल्ती नदोहोर्याउला । तर, वाम गठबन्धन भए पनि २०७४ सालमा आम नागरिकमा जुन उत्साह थियो, त्यो उत्साह अहिले नभएको कारण माओवादीले ठूलो क्षति बेहोर्नुपर्ने देखिन्छ ।

कांग्रेसले त आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरिसक्यो । दक्षिणपन्थी गठबन्धनको तयारी पनि भइरहेको छ । यसले भविष्यमा ‘भेडा भेडा एकातिर बाख्रा बाख्रा’ अर्कोतिर भनेजस्तै कांग्रेस र कम्युनिष्टबीच कडा प्रतिस्पर्धा हुन्छ नै । त्यो प्रतिस्पर्धामा एमाले र कांग्रेसको हाराहारी मत आउने नै छ । तर माओवादीको स्थान के हुन्छ अहिले नै भन्न सकिन्न ।

किनभने, माओवादी नसिध्याई एमाले बलियो हुँदैन । विगतमा पनि माओवादी सिध्याउनकै लागि एमालेले दुईतिहाइ बहुमतको संसद् भंग गरेको हो । यो कुराको विश्लेषण नगरी अहिले प्रचण्ड–ओलीको जुन गठबन्धन बनेको छ, त्यसले पूरा अवधि सरकार चलाउने कुरामा कसैको विश्वास छैन । अविश्वासको जगमा बनेको यो गठबन्धन ढिलोचाँडो ढल्ने कुरामा शंका पनि छैन ।

प्रतिक्रिया दिनुहोस्