काठमाडौं, १४ चैत ।
लकडाउनका कारण अदालत बन्द भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका भ्रष्टाचारका आरोपीहरु छुट्ने भएका छ । विशेष अदालत बन्द भएका कारण अनुसन्धान सकिएर मुद्दा दर्ता गर्न बाँकी रहेका ८ जना थुनुवालाई धरौटीमा छाडेको छ ।
कोरोनाको संक्रमणका कारण हिरासत खाली गर्नुपर्ने अवस्थासँगै अदालत बन्द भएकाले पछि मुद्दा दर्ता गर्ने गरी उनीहरूलाई छाडेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले कोरोनाको जोखिम र अदालत बन्द भएका कारण पछि मुद्दा दर्ता गर्नेगरी कानुनबमोजिम धरौटी लिएर छाडिएको बताए । कोरोना संक्रमण फैलिन थालेपछि सर्वाेच्च अदालतको फुलवेञ्च बैठकले दुई साता अदालत बन्द गर्ने निर्णय गरेको थियो । १२ चैतदेखि बन्दी प्रत्यक्षीकरणलगायत केही मुद्दा बाहेक नहेर्नेगरी सबै तहका अदालत बन्द गर्ने फुलवेञ्चले निर्णय गरेको हो ।
सरकारले पनि एकै पटक २५ जनाभन्दा बढी जम्मा हुन नपाउने र देशभरि लकडाउन गरेको अवस्थामा आयोगले पनि अनुसन्धान सकिएर हिरासतमा रहेकालाई छाडेको हो ।
हिरासतमा रहेकालाई धरौटीमा छाड्दै अख्तियार
मुद्दा दर्ता लगायतका मुख्य गतिविधिहरु रोकिएपछि र कोरोना महामारीको संक्रमणलाई दृष्टिगत गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेर थुनमा रहेका थप केहीलाई धरौटीमा रिहा गर्ने तयारी गरेको छ ।
आयोगका संचारविज्ञ शरद अधिकारीका अनुसार अहिले अख्तियारको हिरासतमा ४१ जना छन् । त्यसमध्ये करिव २० जनाविरुद्ध अनुसन्धान सकेर मुद्दा दायर गर्ने आयोगको तयारी थियो । तर, विशेष अदालतको मुद्दा दर्ता नगर्ने भएपछि ती थुनुवालाई कानूनी प्रक्रिया पूरा गरेर छाड्ने प्रकिया अघि बढाएको छ ।