काठमाडौं, १५ चैत ।
लकडाउनको नियम अवज्ञा गर्ने तथा अन्य शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरीले मल्टी फंग्सनल अरेष्ट एण्ड रेस्क्यु डिभाइस(एमएआरडी) प्रयोगमा ल्याएको छ । सिधैं पक्राउ गर्दा कोरोना संक्रमणको उच्च जोखिम भएकाले करिब तीन मिटर लामो फलामको यस्तो औजार बनाइएको छ ।
शुक्रबारदेखि उपत्यकामा प्रहरीले यस्तो औजार प्रयोगमा ल्याइएको छ । १५ वटा यस्तो औजार महानगरीय प्रहरी कार्यालयले मातहतका प्रहरीलाई वितरण गरेको छ । थप मौजाद राखिएको छ ।
प्रहरीको सुरक्षाका लागि यस्तो औजारको प्रयोग सुरु गरिएको महानगरीय प्रहरी आयुक्त डिआईजी विश्वराज पोखरेलले बताए । लकडाउन प्रयोग गर्नेलाई प्रहरीले करिब तीन मिटर टाढैबाट यस्तो औजारको सहयोगमा पक्राउ गरी गाडीमा राख्दछ ।
पक्राउ गर्नका लागि अन्य सुरक्षा सामाग्री उपलब्ध नभएपछि प्रहरीले यस्तो तरिका अपनाएको छ । शंकास्पद बिरामीलाई अस्पताल लैजानुपर्ने तथा उल्लंघन गर्नेलाई पक्राउ गर्नुपर्ने भएकाले प्रहरीहरु उच्च जोखिममा छन् ।
लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले मुद्दा नै चलाउने तयारी गरेको छ । अवज्ञा गर्नेलाई एक महिनासम्म तथा सरकारी अधिकारीलाई अवरोध गर्नेलाई ६ महिनासम्म कैद सजाय हुने प्रावधान संक्रामक रोग ऐनमा उल्लेख छ ।