छाडी देश गए विदेशतिरको बाटो तताइकन
केही काम नपाउँदा युवकले त्यागेर जन्मस्थल
गर्दैछन् अतिकष्ट उष्ण भुइँमा ठण्डी तथा घाममा
सम्झन्छन् घरको बिहाल बबुरा के छैन नेपालमा । पृ.१६५
विसं २००३ साल असोज ७ गते खाँदबारी पिप्ले, सङ्खुवासभामा जन्मिएका मुक्तिनाथ पोखरेलले जीवनको उकाली चढ्दै गर्दाका अनुभवलाई ‘अनुभूति’ कविता सङ्ग्रह प्रकाशनमा ल्याएका छन् । साहित्यकार बहिनी बिन्दु ढकालमार्फत ‘अनुभूति’ प्राप्त भयो ।
उनका कविताहरू सुन्दर र सरलरुपमा समाजका विविधतासँगै रमाइरहेको देखिन्छ । कविता लेख्नु एउटा कुरा हो र त्यसलाई व्यवहारमा उर्तान सक्नु अर्को कुरा हो । जीवनका अनुभवले खारिएर जीवनको उत्तरार्धमा प्रकाशित कृति ‘अनुभूति’ मार्फत आफूले सिकेका जानेका अनुभव र आफूले गर्नुपर्ने कर्तव्यबाट टाढा नभएर पनि समाजको श्रीवृद्धिमा लाग्न सकिन्छ भन्ने प्रमाण हो ।
जसरी सूर्यका किरणहरूले आफू दुर्धन्धित नभई फोहरलाई सुकाइदिन्छ । कविताको शक्ति पनि त्यस्तै हो । उमेरले नेटो काट्दै गर्दा आफ्नो जीवनको ऊहापोह कवितामार्फत समाजलाई सुम्पिएका छन्, अनुभूतिमार्फत मुक्तिनाथ पोखरेलले । नेपालमा सबैथोक भएर पनि त्यसको चाल पाउन नसक्नुको पीडा कवितामार्फत प्रस्तुत भएका छन् । विदेशी भूमिमा युवाहरूको दुःखका पहाड कविताले बोक्दै उनीहरूलाई सान्त्वना पनि दिनुभएको छ ।
बेच्यो एक दलालले अरबमा बर्सिन्छ पैसा भनी
साँच्चै हो कि भनेर फस्न म पुगेँ अत्यन्त सोझो बनी
केही खर्च पठाउँथे यदि भए पैसा कहाँ पाउने
भोकै छन् घरमा पिता र जननी चिन्ता मनैमा हुने । पृ.१४१
आफ्ना मातापिता तथा सन्तानहरूको सुखका निम्ति बिदेसिएका छोराहरूले बोकेका दुःखका भारी सम्झेर लेखेका यी कविताका हरफहरू वर्तमान समयका यथार्थहरू हुन् । यी कविताहरू पढ्दा मन अमिलो हुन्छ, कैयौँ छोराहरू सग्ला नभएर कफनमा भित्रन्छन् । खाडीको रापिलो घाममा आफ्नो इहलीला समाप्त पारेका कैयौँ उदाहरण हामीले देखेका छौँ ।
पाइलैपिच्छे दलालहरूको चङ्गुलमा पर्दै उनीहरूको लोेभ–लालचबाट अन्य आम मान्छेहरूलाई टाढा राख्न सक्नुपर्छ भन्ने उहाँका कवितामार्फत आएका छन् । अब आफैँ सचेत हुनु जरुरी भएको आवाज कविताका महत्त्वपूर्ण पक्षको रुपमा भेटिन्छन् ।
ईश्वरीय बन्दनासँगै विविध शीर्षकमा रहेका ‘अनुभूति’भित्रका अठासीवटै कविताका आ–आफ्नै विशेषताहरू छन् । कविताले आम मान्छेहरूका दुःखसुखलाई उजागर गरेर भावी पुस्ताहरूलाई इतिहासको साक्षी बनाउने काम पनि गर्छ । एउटा सचेत कविले सिङ्गो समाजलाई सचेत बनाउन सक्छ, त्यसकारण पनि कविताको महत्त्व बढेको पक्कै छ, यस्तै महत्वबोध ‘अनुभूति’भित्रका कविताले गरेका छन् ।
बेँसी फाँट हिमाल शैल चुचुरा पाखापखेरा तँ खा
झुप्रामा बसी दुःखसाथ जिउने बस्ती उजाडी तँ खा
दुःखीका पसिना पिएर बलियो बन्ने गरी टन्न खा
आफू मोज गरेर दर्द सबको हेरेर बस्दै तँ खा ।। पृ.२५
वर्तमान राजनीतिक असमानताका आवाजहरू भोगेका कविले व्यङ्ग्यात्मक रुपमा आफू मोज गरेर सबै तँ खा भन्दै कवितामार्फत आक्रोश पोखेको पाइन्छ । सौभ्यता, शालीनता, सकारात्मक जीवनदृष्टि, आदर्श चेतना यी कविताका केन्द्रीय सन्दर्भ हुन् । आफ्नो देश, माटो, प्रकृति, संस्कृति, स्वत्व आदिप्रति उनको अनुराग छ भन्ने कुरा यी कविता पढ्दा थाह हुन्छ । सरल भाषा, गम्भीर भाव र हृदयको पठनीयता ‘अनुभूति’ कविता संग्रहभित्रका कविताको विशेषता हो ।
अनुभूतिभित्र समाजका यथार्थता भेटिन्छन्, राष्ट्रवाद, प्रकृतिप्रेमी र सांस्कृतिक चेतना कवितामार्फत उद्घोष गरेको पाइन्छ । सङ्खुवासभाको मनोरम स्थानमा बसेर नै होला प्राकृतिक मोह उनमा देखिन्छ । पर्यावरणलाई कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता छ उनलाई, यसैकारण उहाँले साहित्यमार्फत सत्कर्मको प्रयास निरन्तर गरिरहेका छन् ।
आफ्नो जन्मभूमिको सेरोफेरोमा पर्यावरणका प्रतीकका रुपमा लेखेका कविता पनि यस संग्रहमा समावेश भएको छ साथै, ऐतिहासिक, सांस्कृतिक विम्बहरू यस संग्रहमा भेट्न सकिन्छ । राष्ट्रिय स्वाभिमानका विम्बरचनामा कवि चुकेका छैनन्, यसलाई पनि कविले आफ्नो कवितामा समावेश गर्न सफल भएका छन् । राजनीतिक विकृतिहरू उजागर भएका छन् ।
मूलतः कविले राष्ट्रिय, जीवनमूलक मानवीय भावनाको प्रस्तावमा धेरै ध्यान दिएर कविता लेखेका देखिन्छन् । यो कवि धर्म पनि हो । यही कवि धर्मको दायराभित्र रहेर जीवनको शाश्वत मूल्यको खोजी गर्दै, जीवनका मूल्य, भाव, आक्रोश अनि संवेदनाहरूलाई सरल र कलात्मक ढङ्गले कुद्न सफल हुनुभएको छ मुक्तिनाथ पोखरेल ‘अनुभूति’ कविता संग्रहमार्फत ।
गर्भैबाट विभेद गर्छ दुनियाँ छोरो कि छोरी भनी
छोरो भ्रुर्ण भए रहन्छ तर त्यो छोरी भए फालिने
त्यस्तैले धनवान् र सभ्य सुषमा खोज्छन् बुहारीहरू
लज्जाबोध हुँदैन ती पुरुषमा हौँ सभ्य भन्छन् बरु । पृ.५१
केही लामो र केही लघु आकारका कविताहरू रहेको यस संग्रहमा निकै चोटिला कविताहरू पढ्न सकिन्छ । वर्तमान परिवेशसँगै हामीलाई युद्धले दिएका चोटिला घाउहरूले कविको हृदयलाई निकै आहत तुल्याएको पनि छ । कवि एउटा आफैँमा द्रष्टा पनि भएको नाताले यस समाजबाट टाढा रहन सक्तैनन्, त्यसकारण समयले दिएका सबै उपहार सम्झेर ग्रहण गर्नुपरेको छ ।
तसर्थ, ती नमिठा क्षणहरू पनि काव्यमार्फत पुस्तकमा सजिएका छन् । यर्थाथपरक, प्रगतिवाद र मानवीय मूल्यको खोजी गर्दै अगाडि बढेको मुक्तिनाथ पोखरेलको ‘अनुभूति’ काव्य यात्रा निरन्तर चलिरहोस् । शुभकामना ।