Logo
Logo

जनचेतनाको कमी : सुरक्षित रहन आग्रह गर्दा असहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

जाजरकोट, १६ चैत । कोरोनाको जोखिम बढेसँगै वैदेशिक रोजगारीबाट घर फर्कनेदेखि अन्य कामले घर बाहिर भएकाहरु धमाधम चोरबाटो फर्कँदा स्वास्थ्य परीक्षण हुन नसकेको पाइएको छ ।
गाउँ–गाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन् । बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको संख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए । जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ ।
प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मी लगातार गाउँगाउँमा माइकिङ गरिरहेको भए पनि कसैले वास्ता नगरेको उनको भनाइ छ । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवीदेवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उनको भनाइ छ । नलगाड नगरपालिकाको एैरारी तीन बोकाको बलि दिइएको छ ।
बारेकोट गाँउपालिका–२ देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाएको वडा नं १ का वडाध्यक्ष द्वारिका बुढाले बताए । अझै आफ्ना जहान केटाकेटी बचाइदिन माग गर्दै देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उनले बताए ।
जुनिचाँदे गाउँपालिकामा भारत तथा अन्य मुलुकमा आएका स्थानीयवासीको खोजीकार्य जारी रहेको स्थानीय पत्रकार रेशमबहादुर खड्का बताए । जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकामा जनप्रतिनिधि आफैँ माइकिङ गर्दै गाउँगाउँमा पुगेको पाइएको छ । वडा नं १ का अध्यक्ष गोपाल नेपाली आफैँ गाउँगाउँमा पुगेको बताएका छन् ।
उता नलगाड नगरपालिका वडा नं का शिक्षक बखतबहादुर केसीले आफ्नो वडामा कसैले पनि जनचेतना तथा विदेशबाट आएका व्यक्तिको खोजी नगरेको सामाजिक सञ्जालमा लेखेका छन् । उनले भने, ‘जताततै जनचेतना फैलाएको मिडियामा सुनिन्छ तर हाम्रो गाउँमा अत्तोपत्तो केही छैन त ?’ जिल्ला सदरमुकामलगायत स्थानीय तहका मुकाममा लकडाउनको प्रभाव परे पनि गाउँमा लकडाउनको प्रभाव शून्य रहेको छ । स्थानीयवासी खुलेआम काममा हिँडिरहेको पाइएको छ ।
भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफूलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाइसँग घुलमिल गरिरहेका छन् ।
संक्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्यांक राखेका छैनन् । ठूलो संख्यामा भारतबाट मजदुर फर्केपनि केही सीमित सङ्ख्याबाहेक क्वारेन्टाइनमा राखिएको छैन । घरको मूलढोका खनेर कोइला भेटिएको भन्दै तेलमा राखेमा मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले ढोकामा खन्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्