Logo
Logo

‘राजनीति कमाउन र देश लुट्न मात्रै भयो’


चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

1.9k
Shares

नयाँ सत्ता समिकरण बनेपछि राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेको छ । कांग्रेससहितको गठबन्धन हुँदा जनमोर्चाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर, प्रचण्ड अस्थिर बनेको र विदेशीको एजेण्डा लागू गर्न अग्रसर भएको भन्दै जनमोर्चाले सरकारको आलोचना गरेको छ ।

सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाएकोमा जनमोर्चाले आपत्ति जनाएको छ । सत्ता टिकाउने नाममा प्रधानमन्त्री प्रचण्डले जनताको अपमान गरेको, जनमतको अवमुल्यन गरेको, बदनाम व्यक्तिलाई गृहमन्त्री बनाएर विधिको शासनको खिल्ली उठाएको, लामिछाने आफ्नो जालसाजी लुकाउनका लागि गृहमन्त्री बन्न मरिहत्ते गरेको आरोप जनमोर्चाको छ । सत्तापक्षको विकृत गतिविधिले मुलुकको दुर्गति भएको ठहर जनमोर्चाको छ ।

वर्तमान सत्तागठबन्धन, सदनको अवरोध, मुलुकका समस्या लगायतका विषयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश

कांग्रेससहितको सत्तागठबन्धन भत्किएर अहिले एमालेसहितको नयाँ समिकरण बनेको छ । नयाँ सत्तासमिकरणलाई तपाईँले कसरी हेर्नुभएको छ ?
एक वर्षभित्र तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु भनेको देशको अस्तित्वमाथि नै प्रश्न चिह्न खडा हुनु हो । यस्तो पनि राजनीति हुन्छ ? नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलत भन्यो, नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दलहरू सबै उस्तै छन् ।

कांग्रेस, एमाले, मधेसवादी दलहरू सबैको चिन्तन कता लागेर फाइदा लिन सकिन्छ भन्नेमा छ । कुन शक्ति राष्ट्रको दलाली गरेर हुन्छ, कसको एजेण्डा बोकेर हुन्छ, उनीहरूलई सत्ता चाहिएको छ । सत्तामा गएर जनताको सेवा गर्ने, राष्ट्रियताको संरक्षण गर्नेभन्दा सुन तस्करी गरेर हुन्छ कि, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर हुन्छ कि, सरकारी जग्गा खाएर हुन्छ कि, जे गरेर भए पनि पैसाबाहेक केही नसोच्ने अवस्था देखिएको छ । वास्तवमा राष्ट्रका लागि यो असाध्यै दुर्भाग्यको कुरा हो । राष्ट्रको यो अधोगति हो । अब त यिनीहरूको बारेमा कुरा गर्न पनि मनलाग्न छाडिसक्यो ।

वामपन्थी एकताका लागि नयाँ समिकरण जरुरी थियो । अब कोर्ष करेक्सन भएर सही ठाउँमा आएको होइन र ?
वामपन्थी मिलेर राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्दै आमजनताको विषयमा काम गर्ने अवस्था भएको भए तपाईँले भनेको कोर्ष करेक्सन हुन्थ्यो । वामपन्थी एकजुट हुने भनेरै २०७४ को निर्वाचनमा वामपन्थी एकजुट भएकै हो । २००७ सालपछि नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा बोल्ने वामपन्थीहरू नै हुन् भनेर हामीले भन्यौँ । वामपन्थीहरू एकढिक्का हुनुपर्छ भन्ने कुरा त नेपाली जनताको पनि हो र हाम्रो पार्टीको पनि नीति हो । तर, वामपन्थीहरूको चरित्र हेर्नुस त–उपराष्ट्रपति भएका मान्छेको चरित्र, प्रधानमन्त्री भएको मान्छेको चरित्र, राष्ट्रपति भएका मान्छेको चरित्र अनि सभामुख भएका मान्छेको चरित्र ।

के यही हो त वामपन्थ ? यिनै हुन् त वामपन्थी ? अहिले नयाँ पिँढी सबै विदेश पलायन भइरहेको अवस्था छ । नेपालमा केही हुन्न छोरा पाए पनि, छोरी पाए पनि जाने अमेरिका, क्यानडा, यूरोप, अष्ट्रेलिया नै हो भन्ने भाष्य निर्माण गरिँदै छ । नेपालमा केही छैन, केही गर्न सकिँदैन भन्ने पारिदै छ । अर्कोतर्फ अंगिकृतबाट जन्मेकालाई बंशजको नागरिकता दिने व्यवस्था गरिन्छ । यसले त देशको अस्तित्वमै प्रश्न चिह्न खडा भएको छ ।

राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका निम्ति बोल्ने वामपन्थी हुन् भन्नुभयो । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका वामपन्थी दल मिलेर सरकार बनाउनु राम्रै होइन र ?
देश दिनप्रतिदिन अधोगतितर्फ गइरहेको छ । यस्तो अवस्थामा स्वाभिमानी नेपाली जनता सजग, सचेत हुनुपर्छ । हाम्रो देश कहाँ छ भनेर ७० वर्षदेखि प्यालेस्टाइनी जनताले पीडा भोगिरहेका छन् । लाखौँ लाखको ज्यान गएको छ । अमेरिकीहरूले त्यही रगतमाथि होली खेलेका छन् । त्यसकारण यो संसारमा जबसम्म साम्राज्यवाद रहिरहन्छ, तबसम्म कमजोर राष्ट्रहरूमाथि यसखालका आपतविपत, युद्ध भइरहन्छ ।

अहिले नेपालको अवस्था के हो भने, राष्ट्रियता असाध्यै कमजोर छ । यसमा राजनीतिक पार्टीहरूकै भ्रष्ट चरित्र प्रमुख कारण हो । जुनसुकै मूल्य चुकाएर भए पनि सत्तामा जानुपर्छ र सत्तामा पुगेपछि जनताको सेवा, राष्ट्रको उन्नती, प्रगतिभन्दा पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्ति घातक हो । नेपाली जनताले तिनै भ्रष्टहरूलाई बारम्बार मत दिएर भ्रष्टाचार गर्ने ठाउँमा पठाउँछन् । त्यसकारण राजनीतिक पार्टीका नेताहरू, मिडियाहरू र स्वयं जनता सजग, सतर्क नहुने हो भने विगतमा भएका गल्ती, कमजोरीले राष्ट्रको अस्तित्वमाथि प्रश्न चिह्न खडा भइरहेको छ । आगामी दिनमा योभन्दा पनि स्थिति बिग्रिएर जान्छ । चित्त नबुझेको दिन भन्नुनभन्नु भन्दै हिड्ने, अनि आफ्नो स्वार्थ पूरा हुने भएपछि फेरि गला मिलाएर हिड्ने नेताहरूको सिद्धान्तहीन, नैतिकहीन प्रवृत्ति घातक छ । यस्तो प्रवृत्तिलाई हामीले बेलैमा चिन्नुपर्छ ।

नाममा वामपन्थी भए पनि एमाले, माओवादी लगायतका दलहरूका नेताहरूको प्रवृत्ति खराब छ भन्न खोज्नुभएको हो ?
सत्तामा नगइ भ्रष्टाचार गर्न पाइँदैन । देश नलुटी नेता–कार्यकर्ता थाम्न सकिँदैन । राजनीति गर्ने भनेको राष्ट्र र जनतालाई केन्द्रमा राखेर होइन, कमाउन, देश लुट्न राजनीति गर्ने भन्ने भइसक्यो । त्यसकारण जो–जोसँग स्वार्थ मिल्छ, त्यहीँ गठबन्धन हुन्छ । फेरि स्वार्थ नमिलेपछि विगठन हुन्छ । नेपालका राजनीतिक पार्टीहरूमा अवसरवादी, अराष्ट्रिय, जनविरोधी चरित्र छ । कसैले आफुलाई वामपन्थी भन्ला, कसैले कम्युनिष्ट भन्ला । लोकतन्त्र भएका कारण वामपन्थी, कम्युनिष्ट भन्न पाउने भए । यस्ता विकृत गतिविधिले लोकतन्त्र सिद्धिन्छ । त्यसपछि यी सबै नेता जेलमा कोचिन्छन । त्यो बेला पछुताउनुबाहेक अरु केही पनि बाँकी हुँदैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा पुगिसकेको हो र ? कोबाट खतरा छ ?
अहिले अमेरिकाले एमसीसी कार्यान्वयन गर्न लगातार प्रयत्न गरिरहेको छ । भारतले नेपालको प्राकृतिक स्रोत साधन सबै कब्जा गरिरहेको छ । आफुले उत्पादन गरेको बाहेक अरुले उत्पादन गरेको विद्युत भारतले नलाने रे ! अनि हामीले भारतलाई विद्युत बेच्यौँ भनेर प्रधानमन्त्री प्रचण्ड नाक फुलाउनुहुन्छ । नेपालका नदीनाला विभिन्न कालखण्डामा सम्झौता गरेर भारतको कब्जामा छन् । कांग्रेसको हातबाट कोशी, गण्डकी भारतलाई दिने काम भयो । महाकालीमा एमाले, कांग्रेस मिलेर जिम्मा लगाएका छन् ।

माथिल्लो कर्णालीसहितका नदी पनि भारतलाई दिने काम भएको छ । भारतले हाम्रा नदी कब्जा गरिसकेको छ । ती नदीबाट आफु बिजुली निकाल्ने अनि भारत आफैँले किनेको नाटक गरेर देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा सधैँभरी खतरा भारतीय साम्राज्यवादीबाटै भएको छ । अब त १० हजार किलोमिटर टाढाको अमेरिकी साम्राज्यवाद पनि आइपुगेको छ । किनभने, अमेरिकालाई चीनसँग द्धन्द्ध मच्याउनु परेको छ । त्यसकारण इन्डो–प्यासेफिक रणनीतिअन्तर्गत नेपालमा अमेरिकाको उपस्थिति झन् गम्भीर खतरा हो ।

तर, नेपालका राजनीतिक पार्टीहरू कसका एजेण्डा कार्यान्वयन गरेर, कसका एजेण्डा बोकेर आफुले चुनाव जित्न सकिन्छ, सत्तामा जान सकिन्छ, त्यही कुकृत्य गरिरहेका छन् । यसले नेपाली जनताको थाकबास नै खतरामा पार्ने दिशामा मुलुक गइरहेको छ । त्यसकारण देशभक्त, जनतान्त्रिक शक्ति सतर्क हुनुपर्छ । भोलि नेपाल राष्ट्र यस्तो थियो रे भनेर इतिहासमा किताब पढेर थाहा पाउने स्थितितिर मुलुक गइरहेको छ । किताब पढेर थाहा पाउनुपर्ने अवस्थामा होइन, सार्वभौमसत्ता, अखण्डतासहितको देश हामीले हाम्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । विदेशीका दलालहरूलाई हामीले बेलैमा चिन्नुपर्छ । नत्र विदेशीका मतियारहरूले ललिपपमा भुलाएर मुलुकलाई झन् झन् संकटतर्फ धकेल्नेछन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति तपाईंहरू किन कडा रुपमा प्रस्तुत हुनुहुन्छ ?
उनी निश्चित उद्देश्य बोकेरै आएका छन् । त्यत्रो सहकारीको लुटपाट गरेर खाएर, त्यही सहकारीबाट उम्कन, सहकारी काण्ड राफसाफ पार्न उनी गृहमन्त्री बनेका हुन् । नयाँ नेपाल बनाउने नारा दिएर आएका रवि चुनाव जित्ने बितिक्कै घरी बालकोट, घरी बुढानिलकण्ठ पहिला पनि गरेकै हुन् । दुईटा नागरिकता, दुईटा पासपोर्ट बोकेर हिड्ने मान्छेलाई निर्वाचन आयोगले माननीय बनाइदियो । अनि प्रचण्ड र ओलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाइदिएर चमत्कार गरिदिए । उनीहरूले त्यो अमेरिकालाई देखाएको हो ।

अहिले ठूला कुरा गर्ने रवि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक कसरी भए ? अहिले नेपालप्रति भक्तिभाव कसरी आयो ? सायद, नेपालमा राजनीति गर्नुपर्छ, गृहमन्त्री हुनुपर्छ भन्ने कुरा अमेरिकामा पढेर भक्तिभाव जाग्यो कि ? विभिन्न सहकारीबाट कागजात मिलाएर करोडौँ लुटेको अहिलेको तत्कालको समस्या पार लगाउनु छ उनलाई । त्यो लुटबाट आफु उम्कनका लागि अनेक किसिमको टिकडम छ । उनको सहारा लिएर आफ्नो अस्तित्व बनाउन एमाले, माओवादी, कांग्रेस लागिपरेका छन् । यिनीहरू शक्ति राष्ट्रको गोटी भइरहेका छन् ।

हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो । गृहमन्त्री हुन योग्य मानिस यो मुलुकमा अरु कोही पनि रैनछन् । गृहमन्त्री हुने मान्छे माओवादी र एमालेभित्र पनि कोही रैनछन् । जोमाथि प्रहरीमा उजुरी छ, उसैलाई गृहमन्त्री बनाउनु भनेको वास्तवमा नेपाली जनतामाथि अपमान हो । गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिँदैन ।

त्रिशंकु संसदमा दलहरू नमिली सरकार बन्दैन, सरकार चलाउनकै लागि पनि त मिल्नुपर्ने बाध्यता छ नि होइन ?
चुनावपछि सत्ता समिकरण धेरै पटक फेरियो । तर, प्रधानमन्त्री प्रचण्ड चाहिँ फेरिन परेन । उहाँले तीन पटक विश्वासको मत पाउनुभयो । उहाँलाई कहिले यता, कहिले उता हुनुपर्ने बाध्यता के रहेछ ? यता हुँदा उताको लागि गाली गर्ने, उता गएपछि एताको लागि गाली गर्ने गरेर कति दिन राजनीति चल्छ ? काण्डमा नफसकेका सांसद पनि त छन् होला नि मन्त्री बनाउन । अझ स्वार्थ बाँझिने गरी मन्त्री बनाउनुपर्ने किन ? सत्ताको चास्नीमा फसेपछि सत्ता गुम्ला कि भन्ने डरले रनथनिएको जस्तो छ । गलत जगमा उभिएपछि लामो समय टिक्दैन भन्ने बुझ्नुपर्छ ।

तपाईँले जसलाई आरोप लगाउनुुहुन्छ, उनीहरूलाई नै जनताले जिताएर पठाउँछन् । तपाईँहरूलाई जनताले किन पत्याएनन् त ?
हाम्रो बाटो अप्ठेरो छ । ०५१ सालदेखि हामी संसदमा छौँ । कुनै सांसदले सुन चोरेको, सक्कली नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर बेचेको, पजेरो चढेको थाहा पाउनुभएको छ ? हामी पनि कुनै बेला सत्तामा गयौँ । त्यहाँ भ्रष्टाचार गरेको, अराष्ट्रिय काम गरेको, राष्ट्रघाती सन्धी सम्झौताको समर्थन गरेको तपाईँरूले देख्नुभएको छ ? त्यसकारण जनतालाई पनि घुस खाने, भ्रष्टाचार गर्ने अनि चुनावको बेला पैसा बाँड्न सक्ने खालका उम्मेदवार चाहिने रहेछ । नेपालमा मात्रै नभएर दक्षिण एसियाका अन्य कतिपय मुलुकमा पनि यस्तो खालको समस्या देखिन्छ । त्यसबाट टपरटुइयाहरूले फाइदा उठाउँछन् ।

तपाईँहरू आफुमा चाहिँ समस्या देख्नुहुन्न, खाली अरुलाई मात्रै दोष लगाएर उम्कन पाइन्छ ?
अर्कोतर्फ, हामीले आफ्नो नीति जनतामा लान नसकेर पनि हुनसक्छ । मूलरुपमा जनताको स्तर नउठिकन राष्ट्रघातीहरू, जनघातीहरूले रजाईँ गरिरहन्छन । तिनीहरूको अहिले विरोध भइरहेको छ । चुनाव आएपछि भ्रष्टाचार गरेर बदनाम भएकाहरू नै जितेर आउँछन । किनभने, उनीहरू पैसा बाड्छन् । पैसाकै भरमा चुनाव जितेर आउँछन । यसतर्फ देशभक्त राजनीतिक दलहरू चनाखो हुनुपर्छ । साथसाथै, जनताको चेतनास्तर पनि उठ्नुपर्छ । देश र राष्ट्रको बारेमा सोचेर लेख्ने मिडिया पनि सीमित मात्रै छन् । हामीले हिम्मत हार्नु हुँदैन ।

लोकतन्त्र छ र सबैको नाङ्गो स्वरुप देख्न पाइएको छ । यो लोकतन्त्र अन्त्य भयो र निरंकुश व्यवस्था आयो भने सत्तामा बस्ने जसले जे गरे पनि जनताले थाहा पाउँदैनन् । त्यसकारण देशी, विदेशी प्रतिक्रियावादीहरू यो लोकतन्त्र, गणतन्त्रलाई निमिट्यान्न पार्नका लागि रणनीतिक रुपमा लागेका छन् । एकातिर धर्मको नाममा दक्षिणले अभियान चलाइरहेको छ । भारतमै जसले उनीहरूको धर्मको राजनीति गर्दैन, त्यस्तालाई सिध्याउने खेल भइरहेको छ । त्यही क्रममा भारतमा विपक्ष नेताहरू पक्राउ परेका छन् । नेपालमा हिन्दु धर्म पुनस्र्थापित गर्नुपर्छ भनेर लागेका छन् । नेपालमा राजावादीहरू सक्रिय हुनुको कारण त्यही हो ।

प्रतिक्रिया दिनुहोस्