Logo
Logo

मोदीले भने, ‘भारतमा लकडाउनको विकल्प थिएन’


- दृष्टि न्युज/संवाददाता

0
Shares

नयाँदिल्ली, १६ चैत (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएकाले देशव्यापी बन्द गरेको बताएका छन् । बन्दका कारण जनतामा पुगेको असुविधाप्रति उनले माफी समेत मागेका छन् ।
भारतमा मंगलबारदेखि लागु भएको एक साता नपुग्दै प्रधानमन्त्रीले यसबाट नागरिकलाई तत्काल कठिनाई परे पनि अन्ततः यसले नागरिकको हित नै गर्ने बताए । आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका छन् ।
उनले सरकारले सबै जनतालाई सुरक्षित राख्नका लागि चाहेको र यो निर्णयको कुनै विकल्प नरहेको बताए । प्रधानमन्त्री मोदीले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि उक्त कार्यक्रममार्फत् दिएका थिए । लकडाउन हुँदाहुँदै दिल्लीबाट हजारौँ मानिसहरु पैदल हिँडेरै अहिले गाउँगाउँ गइरहेका छन् । भारतमा आइतबारसम्म कोरोना भाइरसका कारण २५ जनाको ज्यान गइसकेको छ भने करिब हजार जना संक्रमित भइसकेका छन् ।

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह
यसैबीच दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन् । उनले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताए । हामीले देश निर्माणमा अहम् भूमिका खेल्ने सबै श्रमिकलाई विपत्मा विर्सने छैनौँ ।’ उनले दिल्लीबाट भारतका अन्य राज्य तथा नेपाल र अन्य एशियाली मुलुकका लागि गाडीको व्यवस्थापन गर्न बसपार्कमा भेला भएको मानिसहरूलाई संकेत गर्दै यसले झन् समस्या निम्त्याउने बताएका थिए ।
केजरीवालले भने, ‘लकडाउनको मन्त्र जो जहाँ छ त्यही रहने हो । यदि हामीले यसलाई पालना गरेनौँ भने हामीले कोरोनाभाइरस विरूद्धको लडाईलाई जित्न कठिन पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्