काठमाडौं, १७ चैत ।
रिक्त रहेको नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिको लागि सरकारले सिफारिस समिति गठन गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गनर्भर नियुक्तिको लागि सिफासिर गर्न समिति बनाएको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य छन् । नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्नुपर्छ। समितिले सिफारिस गरेको तीन जनामध्येबाट एक जनालाई मन्त्रीपरिषदले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने कानुनी व्यवस्था छ।
राष्ट्र बैंकमा गभर्नर रहेका डा. चिरञ्जिवी नेपालको पाँच वर्षे कार्यकाल गत ४ चैतमा सकिए यता नेपाल राष्ट्र बैंकमा गभर्नरको पद खाली छ। अहिलेका लागि सरकारले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई कामयमुकाय गभर्नरको जिम्मेवारी दिएको छ।
लकडाउनमै दौडधुप
सिफारिस समिति बनेपछि लकडाउनकै अवस्थामा आकांक्षीहरुको दौडधुप सुरु भएको छ । गर्भरनका लागि चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, राजन खनाल, लालशंकर घिमिरे, डा. मीनबहादुर श्रेष्ठ र किरणकुमार श्रेष्ठ लगायत प्रतिस्पर्धामा छन्।