जेनेभा, १७ चैत (एजेन्सी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना संक्रमणबाट इटालीमा एकै दिन आइतबारमात्रै ७५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस संक्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।
यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै संक्रमित हुनेको संख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा संक्रमण हुनेहरु ९७ हजार ६८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।
यता अमेरिका यो संक्रमणको सबैभन्दा धेरै नागरिक संक्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १७८ नागरिक संक्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । स्पेनमा ज्यान जाने नागरिकको संख्या ६ हजार ८०३ जना पुगेको छ । त्यसैगरी संक्रमण हुनेहरु ८० हजार ११० पुगेका छन् । यहाँ १४ हजार ७०९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना संक्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ ।
संयुक्त राज्य अमेरिकामा २ हजार ४८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस संक्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक संक्रमितको सूचीमा थपिने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभर ७ लाख २३ हजार ३१९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसबाट ३३ हजार ९९३ नागरिकको ज्यान गएको छ । सोमबार बिहानसम्म प्राप्त समाचारमा संक्रमित व्यक्तिहरूमध्ये १ लाख ५१ हजार ७६६ जना उपचारपछि घर फर्किएका छन् ।
चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार ३०४ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ४७० जना संक्रमित रहेका छन् । यसैबीच ७५ हजार ७०० व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा यस संक्रमणका कारण २ हजार ६४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३०९ जना संक्रमित रहेका छन् । बाह्र हजार ३९१ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण ५४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार ४३५ जना संक्रमित रहेका छन् । यहाँका नौ हजार २११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको संक्रमण बढ्दै गएको अवस्था देखिएको छ ।
उता फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण दुई हजार ६०६ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४० हजार १७४ संक्रमित रहेका छन् । यहाँका ७ हजार २० नागरिक उपचारपछि घर फर्किएका छन् ।
संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार २२८ व्यक्तिको मृत्यु भएको छ । यहाँका १९ हजार ६५८ संक्रमित भएका छन् । यहाँका करिब ५०० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण ३०० व्यक्तिको मृत्यु भएको छ । चौध हजार ८२९ संक्रमित भएका छन् । यसैबीच १ हजार ५९५ जना भने उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा यस संक्रमणबाट ७७१ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८६६ संक्रमित भएका छन् । यसैबीच २५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा संक्रमणको कारण ४३१ व्यक्तिको मृत्यु भएको छ । दश हजार ८३६ संक्रमित भएका छन् । यसैबीच एक हजार ३५९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १५८ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ६६१ संक्रमित भएका छन् । पाँच हजार २२८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
यसैगरी यस कोरोना भाइरस संक्रमणबाट टर्कीमा १३१ मृत्यु भएको छ । नौ हजार २१७ संक्रमित भएका छन् । अष्ट्रियामा ८६ मृत्यु हुनुको साथै आठ हजार ७८८ संक्रमित भएका छन् ।
ब्राजिलमा यस संक्रमणबाट १३६ मृत्यु हुनुको साथै चार हजार २५६ संक्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस संक्रमणबाट ११० मृत्यु हुनुको साथै तीन हजार ७०० संक्रमित भएका छन । पोर्चुगलमा संक्रमणबाट ११९ मृत्यु भएको छ । पाँच हजार ९६२ संक्रमित भएका छन ।
क्यानाडामा संक्रमणबाट ६५ को मृत्यु हुनुको साथै छ हजार ३२० संक्रमित भएका छन । संक्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३९५ संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । एक हजार ८६६ संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणबाट भारतमा २९ को मृत्यु भएको छ । एक हजार २४ संक्रमित भएका छन । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा १४ मृत्यु भएको छ । एक हजार ५९७ संक्रमित भएका छन ।
त्यसैगरी यस महामारीबाट नर्वेमा २६, अष्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्याण्डमा ४६, चिलीमा ७, पोल्याण्डमा २२, रोमानियामा ४३, थाइल्याण्डमा ७, सिंगापुरमा ३, रुसमा ८, पेरुमा १८ लगायतको मृत्यु भएको छ । रासस