Logo
Logo

अमेरिकाले सुरक्षा खर्च दिन नसक्ने बताएपछि आफ्नै खर्चमा ह्यारी दम्पत्ति क्यालिफोर्नियामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

वासिंगटन, १८ चैत (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको संक्रमण फैलिएको अवस्था रहेकोले उनीहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिएका थिए ।
बेलायती राजकुमार ह्यारी दम्पत्ति अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लागेका बेला अमेरिकी राष्ट्रपतिले सो धारणा राखेको थियो । उनीहरु क्यानाडाबाट लस एन्जलस हुँदै त्यसतर्फ गएका हुन् ।
राजकुमार दम्पत्ति क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराएको अमेरिकी पत्रिका वासिंगटन पोष्टले जानकारी दिएको छ । यसअघि क्यानाडामा बस्दै आएको बेलायतका राजकुमार दम्पत्ति आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उडेका हुन् । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिन अघि उनीहरु उडेका थिए ।
कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीच सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो । ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आएका थिए । उनीहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसकेका छन् ।
ट्रम्पले ट्वीटमा आफू बेलायतकी महारानी र संयुक्त अधिराज्यको महान साथी तथा प्रसंशकसमेत रहेको पनि बताएका छन् । ‘उनीहरु अमेरिका आउनका लागि क्यानाडा छोडेको भन्ने मैले थाहा पाएको छु, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि हामीले उनको सुरक्षा खर्चको व्यवस्थापन गर्न सक्नेछैनौँ’ राष्ट्रपति ट्रम्पको ट्वीटमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्