काठमाडौं, १८ चैत ।
तीन दिनयता नेपालमा कोरोना संक्रमणका नयाँ बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज मंगलबार सवा ४ बजेसम्म थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छैन। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्।
गत शनिबार बाग्लु«की किशोरीमा संक्रमण भेटिैको थियो । पछिल्लो २४ घन्टामा ६७ जनाको कोरोना परीक्षण भएको थियो। उनका अनुसार मंगलबार सवा ४ बजेसम्म नेपालमा १ हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ। जसमध्ये केही दिनअघिसम्म देखिएको पाँच जना मात्र कोरोना संक्रमित छन्। पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ।
ब्रिफिङका क्रममा उनले काठमाडौं उपत्यका र प्रदेशहरुमा गरेर ८७ जना आइसोलेसनमा रहेको जानकारी दिए। आइसोलेसनमा उपत्यकामा टेकु अस्पतालमा १० जना र सबै प्रदेशमा ७७ जना रहेका छन्।
उनका अनुसार मन्त्रालयले उपचारका क्रममा रहेका चार सक्रमित मध्ये २ जनाको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सकिएको छ। बाँकी रहेका दुई जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको र उनीहरुको पनि ८० प्रतिशत ट्रेसिङको काम सकिएको छ।
उनले पाटन र वीर अस्पतालका मृत्यु भएका तीन जनामा नै कोरोना संक्रमण नभएको पनि जानकारी दिए।
साथै दैनिक एक हजारको परीक्षण गर्न सकिने गरी ल्याबको क्षमता विस्तार गरिएको मन्त्रालयले जनाएको छ ।