काठमाडौं, १९ चैत ।
२०७७ सालमा शनिबारसहित राष्ट्रिय रुपमा ६७ दिन राष्ट्रिय बिदा हुने भएको छ । आगमी वर्ष ५२ दिन शनिबारबाहेक अन्य १५ दिन मात्र देशव्यापी रुपमा बिदा हुने छ ।
सोमबार राजपत्रमा सूचना निकाली सरकारले २०७७ सालका विदाहरु सार्वजनिक गरेको हो । २०७६ साल र आगामी वर्षको बिदामा कुनै हेरफेर गरिएको छैन । विभिन्न धर्मावलम्बीहरुले मनाउने चाडमा सम्बन्धित धर्मावलसिमुदायलाई मात्र बिदा दिने निर्णय कायमै राखिएको छ ।
राष्ट्रिय पर्वमा दशैं र तिहार बाहेक चार दिन मात्र बिदा हुने छ । नव वर्ष(बैशाख १), महाशिवरात्री(फागुन २७) र फागुपूर्णिमा(पहाडमा १५ चैत , तराईमा १६ चैत)मा मात्र बिदा हुने भएको छ । २५ बैशाखमा पर्ने बुद्ध जयन्तीमा पनि देशव्यापी बिदा हुने निर्णय गरिएको छ ।
१९ बैशाखमा पर्ने विश्व मजदुर दिवस, ३ असोजको संविधान दिवस र २४ फागुनको अन्तर्राष्ट्रिय महिला दिवसमा पनि देशव्यापी सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।
विगतमा जस्तै दशैंमा पाँच दिने र तिहारमा तीन दिन बिदा हुने छ । जसअनुसार यो वर्षमा दशैंमा ७ देखि ११ कात्तिक र तिहार २९ कात्तिकदेखि १ मंसिरसम्म बिदा हुनेछ ।
उपत्यकाका चार दिन जात्राको बिदा हुनेछ । २० साउनमा गाईजात्रा, १६ भदौमा इन्द्रजात्रा, २९ चैतमा घोडेजात्रा र भोटो देखाउने जात्रामा उपत्यकामा बिदा हुने छ ।
२५ कात्तिकको फाल्गुनन्द जयन्ती र १५ मंसिरको गुरु नानक जयन्तीमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्र बिदा हुने छ ।
१५ जेठको गणतन्त्र दिवस, २२ भदौको निजामती सेवा दिवस, २७ पुसको राष्ट्रिय एकता दिवस, १६ माघको शहिद दिवस र ७ फागुनको प्रजातन्त्र दिवसलाई राष्ट्रिय रुपमा खुल्ने तर कार्यालयहरु खुल्नेछन् ।
त्यस्तै तिज( ५ भदौ)मा महिलाहरुलाई, तथा २५ भदौमा जितिया पर्व मनाउने महिलाहरुलाई बिदा हुने छ । वसन्त पञ्चमीमा शैक्षिक संस्थाहरु बन्द हुने छ । १८ मंसिरमा पर्ने अन्तर्राष्ट्रिय अपांगता दिवसमा अपांगता भएका कर्मचारीले बिदा पाउने छन् ।
१२ दिन विभिन्न समुदायलाई बिदा
विभिन्न धर्म र समुदायका व्यक्तिहरुले आफुहरुको चाडमा सार्वजनिक बिदा दिन माग गरेपनि सरकारले सम्बन्धित समुदायलाई मात्र दिने भएको छ । यस्ता बिदा १२ दिन हुने छन् ।
२५ बैशाखमा उभौली, १० भदौमा गौरा पर्व, ५ मंसिरमा छठ पर्व, १० पुसमा क्रिसमस, १५ पुसमा तमु ल्होसार, १ माघमा माक्रेसंक्रान्ति तथा माघी, ३० माघमा सोनाम ल्होसार, १ चैतमा पर्ने ग्याल्पो ल्होसारमा सम्बन्धित समुदायलाई बिदा हुने छ । त्यस्तै पछि मिति तय हुने पर्वहरु ईद, बकर ईद, सिरुवा पावनी र धवथाम्बु छेउचिक पर्वमा केही जिल्लामा मात्र बिदा हुने गृह मन्त्रालयले जनाएको छ । धेरै सार्वजनिक बिदाका कारण देशको अर्थतन्त्रमै असर परेको भन्दै दुई वर्षयता सरकारले विभिन्न समुदायले मात्र मनाउने पर्व र विभिन्न जन्मजयन्तीको बिदा कटौती गरेको हो ।