Logo
Logo

पोखरामा प्रहरीलाई महानगरपालिकाको खाजा खर्च


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १९ चैत ।
पोखरा महानगरपालिकाले कोरोना भाइरसको संक्रमण उपचारमा खटिने कर्मचारीलाई मासिक तलबको सतप्रतिशत भत्ता दिने भएको छ।

कोरोना भाइरसको उपचारका लागि खटिएका जुनसुकै कर्मचारीले एक महिनाको तलब बराबर भत्ता पाउने भएका हुन्। यस्तै, अन्य स्वास्थ्यकर्मी, व्यवस्थापन कार्यमा खटिने कर्मचारीलाई ७५ प्रतिशत र सरसफाइ एवं अन्य महामारी नियन्त्रण कार्यमा खटिने कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको हो।

 

महामारी रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक औषधी र उपकरण खरिद गर्ने निर्णय पनि भएको छ। महामारी रोकथाम र न्यूनिकरणमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी र प्रशासनिक समेतलाई संक्रमण अवधिभर कोरोनाको संक्रमणका कारणले वा सोही क्रममा दुर्घटनाबाट मृत्यु भएमा सम्बन्धित व्यक्तिको परिवार र सोही अवस्थाका जनप्रतिनिधिको परिवारलाई पनि क्षतिपूर्ति उपलब्ध गराइने छ।

पोखरा महानगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई नियमित रूपमा मिलाउने, पशुपन्छी आहार व्यवस्थापन तथा ओसारपसारका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ। महामारी नियन्त्रण सम्बन्धी सुरक्षा कार्यमा खटिने नेपाल प्रहरीलाई खाजा खर्चवापत जिल्ला प्रहरी कार्यालय कास्कीलाई २ लाख उपलब्ध गराउने निर्णय बैठकले गरेको नगरप्रमुख मानबहादुर जिसीले बताए।
स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिएपनि प्रहरीलाई भने खाजा खर्च मात्र दिइएकोमा प्रहरीमा असन्तुष्टि छ । अहिलेको अवस्स्थामा प्रहरीहरु दैनिक १५ घन्टासम्म खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्