- शम्भु श्रेष्ठ
काठमाडौं, २० चैत । सिंगो विश्व यतिखेर कोरोना भाइरसको त्रासले आतंकित छ । यो रोगको संक्रमणबाट धेरैले अकालमा ज्यान गुमाएका छन् । कतिपय भने उपचारपछि घर फर्किएका छन् । यतिबेला सबै देशले आफ्नो नागरिकको सुरक्षा प्राथमिकतामा राखेका छन् । देश भनेको ढुंगा र माटोको भूगोल मात्र होइन, देशको पहिचान भनेको ति देशका नागरिक हुन् ।
त्यसैले नेपाल घुम्न आएका तीन सय दुई जना अमेरिकी नागरिकलाई विमान चार्टर गरेर स्वदेश फर्काइएको कुरा काठमाडौंस्थित अमेरिकी राजदूत ¥याण्डी बेरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
त्यसैगरी जर्मनी राजदूत रोनी सेफरले फ्रान्स र जर्मनीका करिब ६ सय जना नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदा गरेका छन् । अष्ट्रिेलिया सरकारले पनि आफ्नो नागरिकलाई स्वदेश फर्काउन नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको खबर आएको छ ।
यता, नेपालमा भने विश्वका विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउने कुनै योजना छैन । केही महिना अगाडि चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई नेपाल सरकारले उद्वार गरेर काठमाडौं ल्याएपछि सरकारको चौतर्फी प्रशंसा गरिएको थियो । तर, यसलाई नेपाल सरकारले निरन्तरता दिन सकेन ।
विभिन्न देशमा नेपालको दूतावास छ । ति दूतावासको काम देखाउने बेला यस्तै संकटको अवस्थामा हो । नेपाल वायुसेवा निगमको दुई वटा वाइड बडी, दुई वटा न्यारो बडी जहाज त्यतिकै ग्राउण्डेड छन् । ति जहाजलाई यतिबेला विदेशमा अड्किएका नेपालीहरुको उद्वारमा प्रयोग गर्न सकियो भने विश्वले पनि नेपाल भन्ने देश रहेछ भन्ने कुरा बुझ्ने थियो । तर, दुर्भाग्य विदेशमा रहको नेपालीमा कोरोना संक्रमण भएपछि मात्र ति देशले नेपाल भनेर चिन्ने गरेका छन् ।
यस्तो घटनाले स्वदेशमा बस्ने नेपालीहरुलाई लज्जित बनाएको छ । त्यतिमात्र होइन, विदेशमा रहेका नेपालीहरुले पनि आफूलाई सरकारविहीन अनुभूति गर्न थालेका छन् । नेपालको हरेक घर, हरेक टोलमा कुनै न कुनै परिवार विदेशमा छन् । सरकारको यस्तो गैरजिम्मेवार कामले आज हरेक घर चिन्तामा डुबेको छ ।
अर्को कुरा, भारतमा काम गर्न गएका सयौँ नेपाली श्रमिक भारतीय सीमा क्षेत्रमा अलपत्र परेका छन् । भारतीय सञ्चारमाध्यमले नेपाल सरकारको ध्यान आर्कषण गर्न मिनेट मिनेटमा समाचार सम्प्रेषण गरेको छ । तर, नेपाल सरकारको कानमा बतास चलेको छैन । सरकार ‘कोमा’मा रहेको जस्तो अभिनय गरिरहेको छ ।
नेपाल–भारत सीमामा अलपत्र परेका सयौँ नेपालीहरुलाई प्रदेश सरकारले आफ्नो देशमा ल्याएर ‘क्वारेन्टाइन’मा राख्नु पथ्र्यो । त्यो काम पनि प्रदेश सरकारले गरेको छैन ।
जनतालाई घरदैलामा सेवा पु¥याउने नाममा संघीयता लागू गरियो । तर, सीमामा आएका नेपालीलाई नेपालको भूमिमा ल्याउन समेत प्रदेश सरकारले पहल गरेन । जनताको छाक काटेर तलब, भत्ता र अन्य सुविधा खाने कथित जनप्रतिनिधिहरुको मुकुण्डो यतिबेला उघ्रिएको छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वभिमानको नारा उनीहरुको ओठे भक्तिमात्र हो कुरा अहिले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको बेहालले देखाएको छ ।
जुनसुकै देशको सरकारको आवश्यकता जनतालाई यस्तै संकटका पर्ने हो । सरकारको परीक्षा पनि यस्तै संकटको घडीमा देखिने हो । विश्वका सरकार प्रमुखहरु आफ्नो नागरिकको सुरक्षालाई लिएर चिन्तित बनेका छन् । दिनरात नागरिकको सुरक्षामा जुटेका छन् । तर, नेपाल भने हरेक संकट सरकारका लागि कमाइ खाने भाँडो बनेको छ । कोरोना भाइरस नियन्त्रण गर्न चीनबाट खरिद गरेर ल्याइएका सामानमा व्यापक भ्रष्टाचार भएको छ । दुई तिहाइको कम्युनिष्ट सरकारका लागि यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ ?