Logo
Logo

‘लकडाउन’को मौकामा चोरी र आगजनी


- दृष्टि न्युज/संवाददाता

0
Shares

वीरगन्ज, २१ चैत । ‘लकडाउन’को मौका वीरगन्ज महानगरपालिका–२४ को वडा कार्यालयमा चोरीपछि आगजनी गरिएको छ । अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको ढोका तोडेर औषधि चोरेर लगेका छन् भने उक्त समूहले नै आगजनी गरेको हो ।
स्वास्थ्य चौकीमा बिहीबार राती अज्ञात समूहले आगजनी गर्नुका साथै सरसामान चोरेर लगेको वडा अध्यक्ष दशरथ राउत कुर्मीले बताए । उनका अनुसार ती अज्ञात समूहले वडा कार्यालयको ढोकाको ताल्चा फुटाएर कार्यालयभित्र आगजनी गर्दा टेबुल १ थान, कुर्सी २ थान र कार्यालयका विभिन्न अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् ।
कार्यालयमा रहेका एउटा दराजको ताल्चा तोडेर त्यहाँभित्र रहेका सबै कागपत्र र फाइल झिकेर आगजनी गरिएको छ । वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान, सिपियु १ थान, प्रिन्टर १ थान, युपिएस १ थान, पंखा १ थान, हिटर १ थान, राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको वडा कार्यालयले जनाएको छ ।
आगजनी गर्नेहरुले स्वास्थ्य चौकीको कोठाको ताल्चा फुटाएर केही औषधि लगेको बताइएको छ । आगजनी र चोरीबाट करिब चार लाख बराबरको क्षति भएको वडा कार्यालयले जनाएको छ । उक्त घटनाबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्